2019 May 23/ 07:35: 33am

राजेन्द्र कोँजु
    समयको अन्तरालसँगै नेपाली नागरिकको स्वास्थ्य स्थितिमा सकारात्मक परिवर्तन आईसकेको छ । बि. सं. २००७ मा प्रति नेपाली औसत आयु ३२ वर्ष रहेकोमा वि.सं. २०४८ मा ५३ हुँदै २०७३ सम्म आईपुग्दा ७१ पुगेको छ । त्यस्तै शिशु मृत्युदर प्रति एक हजारमा २०० बाट १०७ हुँदै ३२ मा झरेको छ भने मातृमृत्युदर प्रति एक लाख जीवित जन्ममा १ हजार ८ सयबाट ८ सय ५० हुँदै २ सय ३९ मा झरेको छ, जुन विश्वकै स्वास्थ्य सूचांकमा उल्लेखनीय प्रगति मानिन्छ । केहि अति दुर्गम भेग बाहेक प्रायजसो नेपालीले प्राथमिक उपचार केन्द्र सम्म पहुँच पाएको छ भने जिल्ला जिल्लामा बिशेषज्ञ सेवा उपलब्ध हुँदैछ । प्रमुख शहरहरुमा त जटिल प्रकारका रोगको उपचार केन्द्र पनि बिस्तार हुँदैछ । यस्तो उल्लेखनीय बिकासमा धेरै परिवर्तनले भूमिका खेलेका छन् । राज्य व्यवस्था परिवर्तन, शिक्षामा पहुँच एवं गुणस्तरीयता, रोजगारी एवं आर्थिक उन्नति, सडक, खानेपानी, ढल निकास, संचार जस्ता अति आबश्यक पूर्वाधार विकास सँगसँगै अस्पताल बिस्तार, स्वास्थ्यकर्मीको उपलब्धता, चिकित्सा शिक्षाको प्रगति, औषधि उत्पादन, आधुनिक मेसिन तथा औजारहरुको उपलब्धता आदि उल्लेखनीय हुन् ।
यसै परिबेशमा धुलिखेल नगरपालिकामा पनि धेरै परिवर्तन आएको छ । तत्कालिन धुलिखेल गाँउ पंचायत राजधानी काठमाण्डौंबाट ३० कि.मि.मात्र टाढा भईकन पनि स्वास्थ्यको हिसाब किताबले निक्कै पिछडिएको मान्नुपर्छ । जनस्वास्थ्यको लागि अपरिहार्य पूर्वाधार खानेपानी, चर्पी, ढलनिकास तथा अति आबस्यक उपचारात्मक व्यवस्था – अस्पताल वा एम्बुलेन्सको कुनै व्यवस्था थिएन । सिमित उपचार उपलब्ध स्वास्थ्य केन्द्र थियो, सार्बजनिक धारामा निश्चित समयको लागि पानी आउँथ्यो, दिशा पिसाब बाहिरै थियो भने खुला ढल घर बाहिरै बग्थ्यो । यिनै कारण बर्षे जसो झाडा पखालाले सताउँथ्यो । जुका, आउँ, टाइफाइड, क्षयरोग, छालाका रोग जस्ता अनेकन सरुवा रोग प्रसस्तै हुन्थ्यो र कतिपयको ज्यानै जान्थ्यो ।
नगरपालिकाको स्थापना सँगसँगै दुरदर्शी प्रतिभावान् जननिर्वाचित नगर प्रमुख, उप–प्रमुख एवं प्रतिनिधिहरुले खानेपानी, ढलनिकास, चर्पी निर्माण, सडक सुधारमा विकास गरेपछि फोहरपानी र दिशाजन्य रोगहरू घट्न थाल्यो । नगरपालिकाले स्वास्थ्यमा सुधारको लागि धुलिखेल अस्पतालको स्थापनामै स्थानीयहरुको सहयोगमा महत्वपूर्ण योगदान गर्नाले आज राष्ट्रिय स्तरकै गुणस्तरीय अस्पतालको विकास तथा बिस्तार भयो । यहि धुलिखेल अस्पतालको कारणले गर्दा सबैजसो उपचार तथा जटिल प्रकारका रोगहरुको उपचार पनि यही सम्भव भएको छ । साथसाथै काठमाण्डौ विश्वविद्यालयको सहकार्यमा चिकित्सा शिक्षाका विभिन्न विधा जस्तै नर्सिंङ्ग, फिजियोथेरापी, डेन्टल, मेडिकलको पनि पढाई हुने हुनाले धेरै चिकित्सा बिधाका स्वास्थ्यकर्मीहरु उत्पादन भएका छन् । स्थानीयबासीहरु पनि आफ्नै ठाउँमा अध्ययन गर्न पाउने मौका तथा केहि आरक्षण व्यवस्थाका कारण पनि धेरैजसो नगरपालिका बासिन्दाहरुले पनि यहि अध्ययन गर्ने मौका पाएका छन् । धुलिखेल अस्पताल, आफ्नै ठाउँको अस्पतालको हिसाबले पनि अधिकांशको सामुदायिक निकटता रहेकाले प्रत्यक्ष रूपमा बिरामी हुँदाका सेवामा सहयोग प्राप्त भएको छ भने, अप्रत्यक्ष रूपमा पनि धेरै स्वास्थ्य सम्बन्धी जानकारी मिलेर स्वस्थ जीवनयापनमा सहयोग पुगेको तथ्य पनि सत्य हो । आज नगरपालिकाको स्वास्थ्य स्थिति, स्वास्थ्य शिक्षा, स्वास्थ्य कार्यक्रम, स्वास्थ्य तालिम, स्वास्थ्य समस्या, स्वास्थ्य क्याम्प आदि जे जस्तोमा पनि धुलिखेल अस्पताल सँगै जोडिने भएको छ ।
कुनै व्यक्ति स्वस्थ रहन र स्वस्थ बनाउन उनको शारीरिक स्वास्थ्य ठिक हुनुपर्छ । हाम्रो स्वास्थ्य बिगतमा मुलभूत रूपमा सरुवा रोगसँग सम्बन्धित थिए भने आज सरुवा रोग कम भएपनि निर्मुल नभएको अवस्थामा नसर्ने खालका रोगको मात्रा पनि अधिक देखिन थालेको छ । यस अर्थमा भन्न सकिन्छ कि सरुवा रोग (क्षयरोग, झाडाबान्ता, टाइफाइड, हैजा, आउँ, जन्डिस (हेपाटाइटिस), रुघाखोकी, न्यूमोनिया आदि) सँगसँगै नसर्ने रोग (चिनीरोग, उच्च रक्तचाप, क्यान्सर, दम, हृदयघात, मस्तिष्क घात, थाइराड, मृगौला रोग आदि) पनि दिनानुदिन बढ्दै गरेको हुनाले हामी दोहोरो मारमा परिराखेका छौ । यी सबै प्रकारको रोगको उपचार धेरै हदसम्म हाम्रै अस्पतालमा सम्भव भएपनि यी रोगहरुलाई भरसक नलाग्न नै दिने वातावरण तयार गर्नु अत्यन्तै आवस्यक छ ।
स्वस्थ्य नागरिक, स्वस्थ समाज भनेको शारीरिक रोग सँग मात्र सम्बन्धित छैन । शारीरिक तन्दुरुस्तीको साथै खुशी र अनुशासित एवं शालीन समाज स्वस्थ नगरको प्रतिबिम्ब हो ।
स्वस्थ नगरको निर्माण गर्न जनस्तरका प्रयासहरु के के हुन् सक्लान् ?
हरेक व्यक्ति, परिवार बाट समाज बन्छ ्र व्यक्ति, परिवार, समुहकै आवश्यकता, चाहे स्वास्थ्य मा होस् वा अरु कुनैलाई नै लक्षित गरेर बन्ने नियम, कानून, पूर्वाधार निर्माण, विकास आदिबाटै स्वस्थ नगर निर्माण हुनसक्छ । यस कार्यमा हरेक व्यक्ति, परिवार देखि सम्बन्धित निकाय सबै जिम्मेवार हुनुपर्छ ।
मनुष्य भएर जन्म लिएपछि मृत्यु साश्वत सत्य भएझैँ शारीरिक कठिनाई पनि प्राकृतिक नियम झैँ हुन् आउँछ । तथापी मानवजातीले आफ्नो जीवनयापनलाई सहज बनाउन विभिन्न आविष्कार एवं विकास गर्ने क्रममा स्वस्थ रहन गरेका विकास निक्कै उल्लेखनीय छ । मानव निर्मित विभिन्न औषधोपचार र उपकरणका आधुनिक पद्दतिले रोगको उपचार गर्न महत्वपूर्ण भूमिका खेलेतापनि व्यक्तिगत एवं बातावरणीय स्वस्थ प्रणालीले रोगका कारक तत्वहरुबाट बच्न एवं स्वस्थ रहन महत्वपूर्ण भूमिका खेल्ने सर्वविदितै छ । तसर्थ समग्र रूपमा हरेकको स्वास्थ्यलाई असर पार्ने वातावारणीय र सामाजिक स्वास्थ्यका केहि महत्वपूर्ण बिषयबस्तु उल्लेख गर्दछु ।
वातावरणीय स्वास्थ्य व्यवस्था
हरेक नागरिकको सफा बातावरणमा बाँच्न पाउने अधिकार पनि हो । यद्यपी नागरिक आफै र राज्य व्यवस्थाका कारण सफा वातावरणको प्रत्याभूति पाउन, दिन सकिएको लाग्दैन । जे भएता पनि निम्न लिखित अति आबश्यक पूर्वाधारहरु चाहिँ सबै जनताको पहुँचमा पु¥याउन हामी सबैले हरदम कोसिस गरिराख्नु पर्छ ।
क) हरेक घरमा पर्याप्त सफा खानेपानी को उपलब्धता – पानीको पर्याप्त उपलब्धताले सरसफाई राम्रो हुन्छ र धेरै जसो सरुवा रोगहरुबाट बच्न सकिन्छ । पर्याप्त पानीको उपलब्धता विकास एवं स्वास्थ्य समाजको न्युनतम पूर्वाधार पनि हो ।
ख) हरेक घरमा चर्पीको व्यवस्था – चर्पीमा दिशापिसाब गर्नाले दिशाजन्य रोगहरु सर्नबाट बच्ने तथ्य उल्लेख गर्नु परेन । उक्त चर्पीबाट निस्कने फोहरको कुनै पनि वातावरण दूषित नगर्ने किसिमले सकेसम्म घर वरिपरी नै सेप्टि ट्यांक बनाएर प्राकृतिक रूपमै दुषित निराकरण गर्ने उपचार गर्नु अति जरुरी छ । यसरी सेप्टिक ट्यांक बनाउदा त्यसबाट निस्केको पानी बाहिर खुल्ला छोड्न मिल्दैन । त्यस पानीलाई पनि जमिनमै सोसिने बनाउनु पर्छ र खानेपानी को ट्यांकीबाट पर हुनुपर्छ । धेरै जनघनत्व भएर थोरै ठाउँमा घर बनाएका वा शहरी वातावरणमा घर भएकाहरुको हकमा उचित खालको ढलनिकासको ब्यबस्था गर्नुपर्छ ।
ग) ढलनिकास तथा प्रशोधन – स्वस्थ नगरको न्यूनतम पूर्वाधार मध्ये हरेक घरहरुको दिशा पिसाबको ढल समुचित व्यवस्थाका साथ् पाइपलाइनबाट एक ठाउँमा जम्मापारी प्राकृतिक वा आधुनिक तरिकाबाट प्रशोधन गरि हानिकारक जैविक, रासायनिक तत्वहरु निर्मुल गर्नुपर्छ ।
घ) बाटो – हरेक घरमा जाने बाटो उचित मात्रामा फराकिलो चाहिन्छ । एम्बुलेन्स, दमकल जानसक्ने वा विपत्तिहरुमा एकैपल्ट नागरिकहरुलाई सुरक्षित तवरबाट विस्थापन गर्नसक्ने खालको बाटोहरु हुन् जरुरी छ । ब्यबस्थित समाज र शहरीकरणका मापदण्डहरुलाई उचित ढंगबाट नियमन गरि नयाँ बन्ने घरहरुमा लागू गर्नुपर्ने अति आबस्यक छ । पुरानो सरंचनाहरुमा पनि शहरी बिकासका विज्ञहरुको सहयोगमा आबस्यक पहलकदमी लिनुपर्ने हुन्छ ।
ङ) बिजुलीको तार, फोनको तार, ट्रान्सफर्मरको उचित व्यवस्था – हालै यसको धेरै खतरा नदेखिए पनि यदाकदा दुर्घटना अति भयाबह हुनसक्ने र बढदो शहरीकरण मा यसको खतरा झन् बढ्ने हुनाले अहिले देखिनै उचित ब्यबस्थापन तिर ध्यान पु¥याउनु पर्छ । बिजुली र टेलिफोनको तारलाई जमिनमुनि राखिनु जरुरी छ भने, ट्रान्सफर्मर लाई भिडभाड भन्दा पर सुरक्षित ठाउँमा स्थानान्तर गर्नु जरुरी छ  ।
च) शहरीकरण – नयाँ नक्सांकन भैसकेको नगरपालिकालाई समयमै विज्ञहरुको परामर्शमा मानब बस्ती, बजार क्षेत्र, कार्यालय क्षेत्र, सार्बजनिक क्षेत्र, प्राकृतिक मनोरंजन पार्क, जंगल क्षेत्र, खेती क्षेत्र, अस्पताल, बिश्वबिद्यालय, होटेल आदि ठाउँहरु पहिचान गरेर निश्चित मापदण्ड तयार गर्न अति जरुरी छ । यस्तो विकासले जनस्वास्थ्यमा दूरगामी सकारात्मक असर पार्छ । जस्तै आबश्यक पूर्वाधार भएको शान्त मानव बस्तीमा बस्ने व्यक्ति र भिडभाड बजारक्षेत्रमा आबस्यक भन्दा न्यून पानी, अफ्ठ्यारो खालको कोठा, फोहोर वातावरणमा बस्ने व्यक्तिको स्वास्थ्य अवस्थामा पक्कै फरक पर्छ ।
छ) हावा – भनिराख्नु नपर्ला रूख, बिरुवा, हरियो परियो धेरै हुनु राम्रो हो । घर निर्माण, शहरी बिस्तार सँगै प्राकृतिक बातावरणमा ह्रास आउँछ । शहरी बिकासको नियम अक्षरसः पालना हुनुपर्छ । रूख बिरुवा रोप्न र नकाट्न हरदम नगरबासीलाई उत्साहित गर्नुपर्छ । हावा दुषित हुने खालका उद्योग यस नगरपालिका सँगसँगै वरिपरीका नगरपालिकामा पनि नियमन गर्नुपर्छ ।
ज) संचार – जनस्वास्थ्यमा संचारको भूमिका पनि प्रमुख भएकोले समुचित संचार व्यवस्थामा सबैको पहुच हुनुपर्छ ।
झ) शारीरिक अभ्यास गर्ने उद्यानहरुको निर्माण – धेरैजसो नसर्ने रोगहरुको प्रमुख कारण शारीरिक अभ्यासमा कमि पनि भएकोले, शारीरिक अभ्यासलाई ब्यबहारमा उतार्न र उत्प्रेरणा दिन समुचित उद्यानहरु निर्माण गर्नुपर्छ । साइकल चलाउने पेटी निर्माणले शारीरिक अभ्यास गर्ने ठाउँ मिल्नुका साथै पर्यावरण पनि जोगिन्छ ।
ञ)चुरोट, खैनी, रक्सी जस्ता हानिकारक बस्तुहरुको बजारमा अनुगमन एवं कडा नियमनः धेरैजसो नसर्ने रोगको प्रमुख कारण नै चुरोट, खैनी हुनाले यसको बजार व्यवस्थालाई जनस्वास्थ्य ऐन अनुसार कडा नियमन गर्नुपर्छ । चुरोट, खैनी, रक्सी बेच्ने पसल दर्ता भएकै र छुट्टै हुनुपर्छ । यस्तो सामान बेच्न लाइसेन्सका साथै रेकर्ड राख्ने ब्यबस्था गर्नुपर्छ । सार्बजनिक स्थानमा धुम्रपान, मध्यपान निषेध गर्नुपर्छ । जनचेतनाका लागि आबस्यक सूचना तथा तथ्यहरु सार्बजनिक स्थलहरुमा राखिनुपर्छ र संचार माध्यममा दिइनु पर्छ ।
ट) व्हिलचेयरमा हिड्नुपर्ने, लट्ठीको सहायतामा हिड्नुपर्ने व्यक्तिहरु जस्तोको लागि पनि सार्बजनिक स्थल तथा आबस्यक ठाउँहरुमा उचित व्यवस्थाका पूर्वाधारमा ध्यान पु¥याउनुपर्छ ।
ठ) खुशी नै जीवनको लक्ष्य हुन सक्छ । नागरिक खुशी के बाट हुन्छ ? खुशी हुन आबस्यक स्वस्थ औसत आयु, आर्थिक श्रोत, सामाजिक सुरक्षा, स्वतन्त्रता, विश्वास र भद्रता – सायद जुनसुकै नगर, प्रदेस वा राष्ट्र मा सुनिश्चित गरिनु पर्छ । यो कुरामा समय समयमा अन्तरक्रिया, कार्यशाला गोष्ठी आदि गरेर धेरै जनसहभागिता जनाई केहि हदसम्म भएपनि सुनिश्चितता गर्न सकियो भने राम्रो हुन्छ ।
ड) स्वास्थ्य सम्बन्धि जनचेतना– स्वस्थ रहन जनचेतना एउटा प्रमुख अंग भएको हुनाले हरेक सम्भाव्य संचार माध्यम बाट उपलब्ध तथ्य तथा आबश्यक जानकारी नागरिक समक्ष पु¥याउनु पर्छ ।
सामाजिक स्वास्थ्य सुरक्षा व्यवस्था
क) हरेक व्यक्ति, परिवारको स्वास्थ्य सम्बन्धि रेकर्ड राख्ने ब्यबस्था गर्नुपर्छ ्र
ख) हरेक शिशु एवं बालबालिकाको खोप सुनिश्चित गरिनु पर्छ ।
ग) हरेक नागरिक स्वास्थ्य बिमामा संलग्न गराउनु पर्छ ।
घ) सरकारको स्वास्थ्य वीमा कार्यक्रम, जटिल रोगहरुको उपचारमा सहयोग, आमा सुरक्षा कार्यक्रम जस्ता थुप्रै जन स्वास्थ्यका कार्यक्रममा सबै नागरिकको पहुँच पुर्याउनु पर्छ ।
ङ) स्वस्थ नागरिक नगरको सम्पत्ति हो भने स्वस्थ नगर हरेक नागरिकको जिम्मेवारी र गर्व पनि हो । तसर्थ हरेक नागरिकलाई दायित्वबोधका साथै जनस्वास्थ्यका कार्यक्रमहरुमा सहभागिता, संलग्न सहयोग गर्न उत्प्रेरणा गर्नुपर्छ ।
च) बैकल्पिक उपचार पद्दति जस्तै पारम्परिक आयुर्बेद, प्राकृतिक चिकित्सा आदिको पनि यथोचित ढंगले विकास गर्नुपर्छ ।
उपचार को व्यवस्था
धुलिखेल अस्पतालले बिशेषज्ञ सेवा नविनतम उपकरण र बिद्दताबाट सम्पूर्ण नागरिकको पहुँच हुने गरेर सामुदायिक अस्पतालको रूपमा प्रदान गर्दै आएको हुनाले यस नगरका नागरिकहरुलाई उपचार सेवामा पहुँच सरल र सहज हुन् पुगेको छ । अझ यसलाई समय सापेक्षिक बिस्तार एवं विकास गर्दै लानु पर्छ ।
    धुलिखेल नगरपालिकामा २०५३ मा स्थापित धुलिखेल अस्पतालले आधुनिक पद्दतिका सक्दो नविनतम्  उपकरण र बिद्दताबाट उपचारात्मक सेवा पु¥याउनुका साथै चिकित्सा शिक्षा, स्वास्थ्य सामाजिक विकास र अनुसन्धान मा पनि विकास एवं बिस्तार गरिराखेको परिप्रेक्ष्यमा धुलिखेल नगरपालिका, प्रदेश सरकारको स्वास्थ्य बिभाग र धुलिखेल अस्पतालको संयुक्त तत्वाधनमा स्वस्थ नगरको विकास गर्न सम्भब देखिन्छ ।