उषाकिरण
शुक्रराज हेर्दै थिए–स्वर्गको झ्यालबाट दुरबिन लगाएर । ऊ सोचमग्न भयो– “मानिसहरू यताउती दगुरिरहेको थिए । शहिदगेटको वरिपरी जम्मा भएर फूलको माला समाउँदै सहिदको सालिकमा माल्यार्पण गर्दै थिए हतारिएर । आइरन लगाएको सर्टपाइन्ट अनि मयलपोस कपडाले भनिरहेको थियो, ऊ प्रमुख अथिती हो । सायद कतै अर्को कार्यक्रमको उद्घाटन गर्नु थियो। आज भ्याई नभ्याई छ, फागुन ७ अर्थात प्रजातन्त्र दिवस । कहिल्यै जम्मा नहुने ठाउँमा शीर झुकाएर मौन धारण कार्यक्रम चलिरहेको थियो । सम्झिरहेका थिए गंगालाल, धर्मभक्त, दशरथ अनि मलाई । जोडिएको थियो ज्ञात अज्ञात सहीदहरूको नाम । भाषण निजोड तोडले उफ्रीउफ्री लयबद्ध नवरसले भरिपूर्ण मिठास र स्वादिला थिए। स्वादिला भाषणको बिच बिचमा अनुहार बिगारेर ताली ठोक्थे दर्शकहरू । सर्टका बहुलाभरी मयलले लिपिएको, उचिरा गएका हातका औँलाका कापहरूबाट रोदनको तालीको करुणध्वनीको पर्पराहट वेदनाका चित्कार सुनिन्थ्यो, लाग्थ्यो ऊ कार्यक्रमको दर्शक हो ।”
“एकतन्त्रीय जहाँनीया शासनको अन्त्यको खातिर आन्दोलन थियो त्यो । संघर्ष थियो, सुनौलो बिहानीको परिकल्पना थियो । युग परिवर्तनको शंखध्वनी थियो । नेपाली जनजीवनको सुनौलो बिहानी थियो । हक–अधिकारको मुक्तिको किरणसँगै कुण्ठित मौलिक हकहरू फक्रने दिन थियो । राणाहरूको एकतन्त्रीय जहानियाँ शासनको अन्त्यको खुसियाली दिन थियो । जनताको शक्तिसामु राणाहरू झुकेको दिनथियो । सुखी नभएपनि जनता खुशी थिए ।”–विगत सम्झ्यो ।
न्यूरोड तातेको छ महँगीले । सडकभरी पीर र व्यथा छरपस्ट छ । आ–आफ्नै कथा छ, व्यथा छ । कतिले ओकलेका छन् पीरका विष । कतिपय भित्रभित्रै जलिरहेछ धेरै कमजोर हृदयहरू । दरबारका सिंहहरू गर्जन छोडेका छैनन् । किसानले भाउ नपाएर सडकमै दूध फ्याकेका छन् । कालीमाटीमा काला मन र धन भएकाहरू व्यापारबाट पछाडि फर्केका छैनन् । सडकजाम छ भीआईपीको सवारील । बिचल्लीमा छ्ट्पटाईरहेको छ बिरामीहरू मृत्युलाई आमन्त्रण गर्दै । बहुलाएका छन् आफन्त बचाउन खर्च जोहो गर्न नसकेर । दिएका छन् सलामी सेनाले खेलेर परेड । भूकम्पले बिच्छेद धरहरा पूर्णताको पर्खाइमा छ । वीर अस्पताल व्यवस्थापकीय सुधारको निम्ति छ्टपटाइरहेको छ । विधेयकहरू कानुन बन्नपाउँ भनी प्रतिनिधिसभामा उकुस्मुसिएर बसेको छ ।
बालुवाटारमा मन्त्रीबन्ने पालो कुरेर बसेकाहरू पत्रकारको बूममा मुख जोतेर बिरोधको शैलीमा आफैले आफैलाई का ेतर्दै ध्यानाकर्षण गरिरहेका छन् । सिंहदरबारमा मन्त्रीको लाइन हाजिर गर्न तछाड–मछाड गर्दै छन् । न्यायालय जिउँदो होस् भनेर प्रार्थना गरिरहेकाहरू वकिललाई फी बुझाउन नसकेर फैसला कुरिरहेका छन् । कोही अनसन, कोही ध्यानाकर्षण गराउँदै छन् । पासपोर्ट बोकेर सुटकेश गुडाउँदै हवाईजहाको पर्खाईमा उदासिएर परिवारलाई विदाका हात हल्लाईरहेका छन् । ढिलासुस्तीले विदा पाएको छैन । सानालाई ऐन ठूलालाई चैन छँदैछ भने अपराधको जालोको जरा नभेटेर विभागीय मन्त्री अलमल छन् । जुम्रा नछिर्ने एअरपोर्टमा सुन छिरेकै छ । विनासिफारिस नागरिकता बनेकै हो । तैपनि त्यस्ताहरू ज्यूँदै छन्, अभिनन्दन नपाएर मख्ख छन्, शीर झुण्ड्याउनु पर्नेमा मेडल गलामा झुन्डिएकै छन् । तक्माले तखता सजिएकै छ । हरेक क्षेत्रमा नक्कली लाइसेन्सधारी सलबलाएकै छन् । कति फन्दामा परेकाछन् कति खुलेआम हिडेकै छन् । तैपनि मैले होइन भन्दै सफाई पाएकै छन् । प्रजातन्त्रको मुखुण्डो लगाएर अप्रजातान्त्रिक गतिविधि हुन कहाँ छाडेको छ र ! तैपनि हामी प्रजातन्त्र दिवस मनाउन र सञ्जालमा पोष्ट्याउन पछाडि परेका छैनौ ।
भर्खर बिजुली पिलिक्क बलेका बस्तीहरूमा मुस्कीलले फोनको नेटवर्क दिँदा खुशी हुनु परिरहेकै छ । ईन्टरनेट सुविधापुग्न सकेको छैन । चिसो तातो पानीको व्यवस्था हुने मन्त्रालयमा हो जनताको घरमा धाराका पाईप पुग्न सकेको छैन भने शुद्धपिउने पानीको परिकल्पना परको कुरा हो, गाग्री किन्ने पैसा छैन । सिरक डस्ना किन्न नसक्ने जनताको नेता एसी आरामदायी कोठामा सचिवालय र आसेपासे थन्काएकै छन् ।
दुरदराजमा धकेल्नु पर्ने प्रजातन्त्र सिंहदरबारमा थन्किएर बसेको छ । हुनेखानेको गोजीभित्र । जतिखेर झिक्न मिल्ने अनि राख्न मिल्ने। चाप्लुसी गर्ने चम्चेको नजिक टुसुक्क बसेको छ प्रजातन्त्र । गोप्य कोठाभित्र सिलबन्दी गरेर राखिएको । तस्कर र कालाबजारी अनि अपराधीको गोजीभित्र कच्याककुचुक्क पारेर राखिएको । विचरा प्रजातन्त्र! निस्सासिएको छ । घाँटी थिचिएको छ । कलियुगमा कालो राम्रो भएको छ । गोहीको आँशु झै नौटंकी गर्नेको कमी छैन। चपाउने र देखाउने हात्तीका दाँतझैँ क्षणक्षणमा छेपारे प्रवृति मौलाएकै छ । तैपनि प्रजातन्त्र दिवस मनाउन छाडेका छैनन् । शहिदको मन रोएको छ। भूमिपुत्रहरूको बलिदानलाई अपमान गरिएको छ । सिद्धान्त र व्यवहारमा विचलन आएको छ । त्यसैले प्रजातन्त्रलाई पर हुत्याइको छ –पर जातन्त्र !





