2026 April 16/ 01:47: 04pm

यादव थापा
चिनियाँ कम्युनिष्ट पार्टीका संस्थापक नेता विश्व सर्वहारा वर्गका महान् क्रान्तिकारी जनप्रिय नेता माओत्सेतुङको नामलाई आफ्नो पार्टीको नाममा जोडेर गठन भएको नेपाल कम्युनिष्ट पार्टी माओवादीले वि.सं. २०५२ साल फागुन १ गते सुरु गरेको दशवर्षे सशस्त्र जनयुद्धमा विद्रोही र सरकार पक्षको कारवाहीमा परी सत्र हजार निर्दाेष नेपाली जनताहरुले ज्यान गुमाउनु परेको र राज्यको अर्बौं रुपैयाँको भौतिक संरचना ध्वस्त भएको थियो । देशका दुर्गमस्थान रुकुम, रोल्पाका सोझासिधा जनताहरुलाई काल्पनिक राज्य व्यवस्थाको सपना बाँडेर सुरु गरिएको कथिन जनयुद्धका प्रारम्भिक दिनहरुका केहि सामाजिक विकृति र विसंगति विरुद्धका अभियानहरु मादक पदार्थको उत्पादन विक्रीवितरण र सेवनमा प्रतिबन्ध, समाजमा जुवातास, महिला हिंसा लगायत सामाजिक विधि व्यवहारमा गरिने तडकभडक कार्यमा लगाइएको प्रतिबन्धलाई नेपाली जनताले स्वीकारेका पनि थिए । तर पछि जब जनयुद्ध व्यक्ति हत्या, आगजनी, राज्यको भौतिक सम्पत्ति तोडफोड चन्दा आतंक हुँदै जनयुद्धमा रुपान्तरण भएपछि माओवादी पार्टी त्यसका कार्यकर्ता आम नेपाली जनताबीच तर्साउने भूतको रुपमा चित्रण हुन थाले । यति मात्रै होइन नेकपा माओवादीले चलाएको दश वर्षे जनयुद्ध र विध्वंशको कारण विश्व सर्वहारा वर्गका आदरणीय नेता माओत्सेतुङको समेत बदनाम हुन गएको छ । चिनियाँ क्रान्तिको समयमा “जनतासँग सित्तैमा एउटा सियो र धागो पनि नलेउ, जनताबाट कब्जा गरेका सबै फिर्ता गर, जनतालाई कुटपिट र हप्कीदप्की नगर, हामी कम्युनिष्ट भनेका बीउ हौं र जनता भनेका उर्बर भूमि हुन्, हामी जहाँ पुग्छौं त्यहिँका जनताहरुसँग एकाकार भई त्यहि अघि बढ्नुपर्छ” भन्ने माओको आदर्श भनाईलाई लत्याएर नेपालका माओवादीले त्यसको ठीक विपरीत कार्य गरेपछि माओवादी पार्टी जनतासँग स्थापित हुनुको सट्टा क्रमशः विस्थापित हुँदै गइरहेको छ ।
नेकपा माओवादीले संचालन गरेको दशवर्षे जनयुद्धले नेपालको विकास गतिलाई दशवर्ष नै पछि धकेलिदियो । जनयुद्धले सयौं बालबालिका टुहुरा भए सयौं नारीहरुको सिन्दुर पुछियो, देशको विशाल भौतिक संरचना ध्वस्त पारिँदा त्यसको क्षतिपूर्ति र पुनिर्निर्माण गर्नुपर्दा राज्यको अर्बाैं खर्बौं सम्पत्ति खर्च हुन गयो । दशवर्षसम्म देश विकासको गतिमा ब्रेक लाग्यो । सर्वत्र भय, डर, त्रास र आतंकको अवस्था सिर्जना भयो । जनयुद्धको समयमा विद्रोही पक्ष र सरकारका सेना र प्रहरीबीच भिडन्त हुनु एक हदसम्म स्वभाविक नै हो । तर भौतिक कारवाहीको नाममा निहत्था जनताको हत्या गर्नु, चन्दा नदिएको र सँस्कृत भाषा पढाएको भनेर लमजुङका शिक्षक मोतिलाल अधिकारीको पाशविक हत्या, काभ्रेका बलराम र कृष्णप्रसाद सापकोटाको हत्या, पण्डित नारायण प्रसाद पोखरेलको हत्या र चितवनको बाँदरमुढेमा बसभित्रै आगो लगाएर चौंतिस जना यात्रुलाई जिउँदै लगाएर गरेको हत्या र दानवीय व्यवहार र चरित्रलाई इतिहासले क्षमा दिन सक्दैन ।
माओवादीको जनयुद्धले देशको अपार धनजनको क्षति हुनुको साथै राजनैतिक वातावरणलार्य पनि दिशाहीन अवस्थामा पु¥याईदियो, धमिलो पानीमा माछा मार्ने अवसरको रुपमा २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भई राजा वीरेन्द्रको वंश नाश गरियो । वि.सं. २०६१ माघ १९ गते नै तत्कालीन राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षमको बिल्ला भिराई सरकार र संसद विघटन गरी संकलकालको घोषणा गरी २०६०।०६१ मा पंचायती गाउँफर्क शैलीमा स्थानीय तहको निर्वाचन पनि गराएका थिए । 
    नेपाली जनताहरु अति भावुक र सोझा पनि छन् । २०६२।०६३ को संयुक्त जनआन्दोलनबाट पुनस्र्थापित संसद र विस्थापित राजतन्त्रपछि वि.सं. २०६४ चैत्र २८ गते भएको पहिलो संविधान सभाको निर्वाचनमा नेपालका प्रमुख राजनैतिक दलहरु नेकपा एमाले र नेपाली काँग्रेसलाई पछि पार्दै माओवादी केन्द्र झण्डै दुई तिहाई बहुमतको नजिक पुगेको थियो । केहि आश र केहि त्रासका कारण नेपाली जनताले दिएको उक्त अभिमतलाई माओवादीले जोगाउन सकेन ।
२०६४ को संविधानसभाको चुनावपछि माओवादी जनयुद्धका कमाण्डरहरु प्रचण्ड र बाबुरामहरु पालैपालो देशको प्रधानमन्त्रीको कुर्सीमा बसे तर आफ्नै असक्षमताको कारण लामो समय टिक्न सकेनन् । माओवादीका प्रचण्ड दाहाल भन्दा पनि डा. बाबुराम भट्टराईसँग नेपाली जनताले ठूलो आशा राखेका थिए । २०२६ सालको एसएलसी बोर्ड प्रथम र अर्किटेक्ट इन्जिनियरिङमा स्वर्णपदक प्राप्त गरी डक्टरेटको उपाधि प्राप्त गर्न सफल बौद्धिक व्यक्तित्वले सरकार प्रमुखको जिम्मेवारी प्राप्त गर्दा पक्कै पनि नयाँ नेपालको नक्सा निर्माण हुने आशा गरेका थिए । तर उनी अहिले नेपालका असफल र निकम्मा राजनैतिक पात्र बनेको दृष्य सबै नेपालीमा जगजाहेर नै छ । 
    राजनीतिमा छलछाम, तिकडम, बेइमानी र झुटको खेती गर्न माहिर खेलाडी प्रचण्ड अहिले पनि आफूभन्दा ठूला पार्टीका नेतालाई पछि पार्दै तेस्रो पटक देशको प्रधानमन्त्री बन्न सफल भएका छन् । पहिलोपटक प्रधानमन्त्री हुँदा आफ्नो सम्पत्ति विवरणमा चितवनमा तीनकठ्ठा जमिन र एउटा मोबाइल मात्र देखाएका प्रचण्डको अहिले करोडौंको अलिसान महल, विदेशी बैंकमा अर्बाैं रुपैयाँ, चन्द्रागिरी हिल्स लगायत धेरै कम्पनीमा शेयर लगानी गर्ने हैसियत कसरी भयो ? अनि जनयुद्ध गर्ने पार्टीको नेताले आफ्नो नातिको विवाहमा अर्बौं रुपैयाँ खर्च गर्न हुने अवस्था कसरी सिर्जना र मान्य भयो ? यहि हो हिजो प्रचण्डले भनेको जनवादी विवाहको परिभाषा र मापदण्ड ?
    प्रचण्डको आर्थिक हैसियतमा एकाएक आएका परिवर्तन र छलाङ त्यो कुनै जादुको छडी नभई हिजो शान्ति प्रक्रियामा प्रवेश गरेपछि जनयुद्धका जनसेवा राष्ट्रिय सेनामा समायोजन गर्ने क्रममा दोब्बर तेब्बर भन्दा बढी संख्या पैतिस हजार लडाकु सेना देखाएर राज्य सँग २१ अर्ब रुपैयाँ प्रचण्डले लिएका थिए । उक्त रकमको प्रयोजन कहाँ किन र कसरी र कति भयो भनेर सोध्ने हिम्मत माओवादी कार्यकर्ता र नेतामा छैन, त्यो विशाल रकम प्रचण्डको निजी सम्पत्तिमा रुपान्तरण भएको छ । अनि हिजो द्वन्द्वकालमा लडाकुले बैंक लुटेर, जबर्जस्ती चन्दा असुलेर बुझाएको रकम पनि प्रचण्डकै सम्पत्ति बनेको छ ।
    अब प्रसङ्ग कोट्याउँ प्रचण्ड सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवस घोषणा गरी सार्वजनिक विदा दिएको र सर्वाेच्चले खारेज गरिदिएको घटना तर्फ–राज्यले कुनैपनि क्षेत्रमा उपलब्धि हासिल गरेको दिनलाई विशेष पर्व र दिवसको रुपमा मनाउनु पर्दछ । फागुन १ गतेलाई के को खुशीयालीमा जनयुद्ध दिवस मनाउने ? नेपालबाट २४० वर्षे राजतन्त्र आफ्नै कारणले ढल्यो, संघीयता २०६२।०६३ को संयुक्त जनआन्दोलनबाट प्राप्त प्रतिफल हो । त्यहि पनि नेपालको परिवेशमा यो तीन तहको महंगो संघीयता देशको अर्थतन्त्रले धान्नै नसक्ने घाँडो सावित भइसकेको छ । जनयुद्धमा मारिएका शहिद प रिवारका सन्तान अपाङ्ग भएका घाईते भएका बेपत्ता पारिएका परिवारका सदस्यहरु अझै आँशुको घुट्को पिएर बाँच्न बाध्य भएका छन् । माओवादीको दशवर्षे जनयुद्धले नेपालको राजनैतिक आथिृक सामाजिक र जनजीविकाको कुन चाहिँ क्षेत्रमा आमूल परिवर्तन ग¥यो र त्यस दिनलाई जनयुद्ध दिवस भनेर खुशी मनाउनु ? 
    के नेपाली जनताले प्रचण्डलाई प्रधानमन्त्री बनाउन उनको छोरीलाई मेयर बनाउन, ज्वाइँलाई राजदूत, बुहारीलाई मन्त्री बनाउनको लागि मात्रै जनयुद्धमा सहभागी भएका हुन् त ? त्यसैले यो औचित्यहीन र नेपाली जनताको आलो घाउमा नूनचुक लगाउने रुपमा घोषणा गरिएको कथित “जनयुद्ध दिवस” को सार्वजनिक विदालाई संक्रमणकालको अवस्था टुङ्गोमा पुगि नसकेको कारण देखाई सर्वाेच्च अदालतको खारेज गरिदिएको छ । प्रचण्ड नेतृत्वको गठनबन्धन सरकारले घोषणा गरेको जनयुद्ध दिवसमा साक्षी बसेर सत्ताको ठूलो दल नेपाली काँग्रेस पनि निरीह र कमजोर सावित हुन पुगेको छ । गठबन्धनमा सामेल भएका अझ साना दलहरु त “जता काफल पाक्यो त्यतै चरी नाच्यो” को अवस्थामा रहेका छन् ।
    अन्तमा, २०७९ मा भएको संघीय प्रदेश र स्थानीय तहको निर्वाचनले नेपालका सबै राजनैतिक पार्टीहरुको हैसियत प्रष्ट रुपमा देखाएको छ । नेकपा एमालेलाई कमजोर बनाउन आठवटा राजनैतिक दलहरुबीच गठबन्धन गरी चुनावमा जाँदा पनि संख्यात्मक सीटमा एमालेलाई पछि पोहोर पनि जनताको लोकप्रिय मतमा एमाले नै अगाडि रहेको छ । यदि गठबन्धन नगरी अलग अलग चुनाव लडेको भए अहिले सत्तामा रहेका पार्टीहरु अस्तित्व रक्षाको संकटमा पर्ने प्रष्ट देखिन्छ । यसको मतलब नेकपा एमाले मात्र गाईको दुधले नुहाएजस्तो शुद्ध छ भन्न खोजिएको होइन, यसभित्र पनि धेरै विकृति र विसंगतले घर गरेको छ । धेरै राम्रा अवसरहरुलाई उपयोग गर्न नसक्दा अहिले “किन रोइस् मंगले आफ्नै ढंगले” को अवस्थामा पुगेको तितो यथार्थ भोग्नुपरेको छ । तुलनात्मक रुपमा अहिले पनि नेकपा एमाले नेपाली जनताको पहिलो रोजाईमा पर्दछ ।