
मुकेश पोखरेल
१. पृष्ठभूमी
जलवायु परिवर्तन भनेको के हो भन्ने जान्नका लागि सबै भन्दा पहिले मौसम र जलवायु बीच के फरक छ भनेर बुझ्नु आवश्यक छ । दैनिक रुपमा पृथ्वीको वायुमण्डलमा आउने परिवर्तनलाई मौसम भनिन्छ । उदाहरणका लागि घाम लाग्दा लाग्दै बदली भई शितल हुने, एकैछिनमा पानी पर्ने, हावा चल्ने इत्यादि मौसम परिवर्तन हो। ३० वर्ष वा सो भन्दालामो अवधिको मौसमको सरदर अवस्थालाई जलवायु भनिन्छ ।
“जलवायु भनेको कुनै निश्चित भौगोलिक स्थानमा मौसमको लामो समयको औसत अवस्था हो । खासगरी तापक्रम र वर्षाका दशकौँ वा सयौँ वर्षहरूको अभिलेख विश्लेषण गरी निकालिएको सरदर प्राकृतिक अवस्थालाई जलवायु भनिन्छ । विश्व जलवायु संगठनका अनुसार, सामान्यतया कम्तीमा ३० वर्ष अवधिको औसत मौसमी आँकडाको अवस्थालाई जलवायु भनिन्छ । त्यसैले त्यस्ता जलवायु सूचकाङ्कहरू सामान्यतया स्थिर नै रहन्छन् । जलवायु परिवर्तन भन्नाले स्थिर रहनुपर्ने जलवायुका सूचकाङ्कहरू बदलिन थालेको अर्थ लाग्छ । विश्वका विभिन्न स्थानमा स्थापित मौसम अवलोकन केन्द्रहरूबाट प्राप्त झन्डै १५० वर्ष अवधिको तापक्रमको अभिलेखले पृथ्वीको सतहको तापक्रम स्पष्ट रूपमा बढिरहेको देखाएको छ । तर त्यो वृद्धिदर सबै स्थानमा समान भने छैन ।”
पछिल्लो ३० वर्षमा बर्षा, तापक्रममाआएको परिवर्तनलाई जलवायुमाआएको परिवर्तनका रुपमा लिन सकिन्छ । उदाहरणका लागि ३० वर्षमा जुम्लाजिल्लाको सरदर तापक्रम १ डिग्रि सेन्टिग्रेटले वृद्धि भएको छ र त्यहाँबर्षाको दरमा परिवर्तन आएको छ भने त्यससलाई जलवायु परिवर्तनको कारण मान्न सकिन्छ । पृथ्वीको वायुमण्डलमा तापक्रम घट्ने वा बढ्ने प्रक्रियाकै कारण जलवायु परिवर्तन हुन्छ। हरितगृह ग्यासको बढ्दो प्रयोग नै जलवायु परिवर्तनको मुख्य कारण हो। यसबाहेक वनविनास, क्षयीकरण औद्योगिकरण, वन डढेलो, भू–उपयोग परिवर्तन, जिवास्माइन्धनको बढ्दो प्रयोग तथा शहरीकरण जलवायु परिवर्तनका अरु कारणहरु हुन् ।
केहो हरित गृह ग्याँस ?
कार्बनडाईअक्साईड, मिथेन, नाइट्रस अक्साइड, पानीको बाफ लगायत अन्य केही ग्याँसहरूलाई हरितगृह ग्याँस भनिन्छ । यी ग्याँसहरूले पृथ्वीको सतहमा ठोकिएर फर्केका सूर्यका किरणलाई केही मात्रामा बाहिरजानलाई अवरोध पु¥याई पृथ्वीलाई न्यानो राख्ने काम गर्दछन् । यसरी पृथ्वीको वायुमण्डलले हरितगृहको भूमिका खेलेको हुन्छ र यही कारणले गर्दा नै पृथ्वीको औसत तापक्रम लगभग १५ डिग्री सेल्सियसको हाराहारीमा रहिआएको छ । यो प्रक्रियालाई हरितगृह प्रभाव भनिन्छ, जसले पृथ्वीमा जीवन सम्भव बनाएको छ । हरितगृह प्रभाव नहुदो हो त पृथ्वीको तापक्रम –१८ डिग्री सेल्सियस हुने थियो । यसबाट वायुमण्डलमा हरितगृह ग्यासहरू ठिक मात्रामा हुनु पर्दछ भन्ने बुझिन्छ र यी ग्याँसहरूको मात्रामा बृद्धि हुँदा पृथ्वीको तापक्रम पनि वृद्धि हुन्छ ।
वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढ्दै जाँदा पृथ्वीको तापक्रम बढिरहेको छ र यसले दिन प्रतिदिन गर्मी बढ्दै गइरहेको छ । यसै प्रक्रियालाई विश्व उष्णीकरण भनिन्छ । सामान्य भाषामा भन्दा एउटा सिरक ओढ्दा हामीलाई ठिक्क न्यानो हुन्छ तर हामीले एकै पटक तीन वा चारवटा सिरक ओढ्यौं भने हामीलाई गर्मी र उकुसमुकुस हुन थाल्दछ । अहिले भइरहेको ठ्याक्कै त्यही हो । अहिले हामीले वायुमण्डलमा हरितगृह ग्याँसको सिरक थपिरहेका छौं ।
जलवायु परिवर्तनका सूचक
जलवायु परिवर्तनका सूचक जलवायु परिवर्तन भईरहेको बारेमा हामीले विभिन्न सूचकहरूबाट ठम्याउन सक्दछौं ः पानी पर्ने समय, मात्रा र अन्तरालमा भैरहेको परिवर्तन । मौसमी केन्द्रहरूबाट थाहा हुन आएको तापक्रममा भईरहेको वृद्धि । अतिवृष्टि र अनावृष्टि । हिमालबाट छिटो–छिटो हिउँ पग्लिदै जानु। समुद्रको सतहमा वृद्धि । पहिले–पहिले लगाइने गरेका बाली आजकल लगाउँदा उत्पादन नहुने या कम हुने । पहाड र हिमाली क्षेत्रमा समेत लामखुट्टेको प्रकोप देखिने । उच्च पहाडी र हिमाली क्षेत्रमा रहेका घाँसे मैदान मरुभूमीकरण हँुदै जानु ।
कति बढ्यो तापक्रम?
पछिल्ला दशकमातातो दिनहरुले रेकर्ड कायमगर्दै गइरहेको छ । सन १८५० को तुलनामा सन २०२० सम्ममा पृथ्वीको तापक्रम १ दशमलव १ डिग्री सेन्टिग्रेडले वृद्धि भएको छ । नेपालको तापक्रम वृद्धि त्यो भन्दा धेरैले बढेको छ । जलतथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ५० वर्षमा मात्र नेपालको सरदर तापक्रम वृद्धि २.४६ डिग्रि सेन्टिग्रेडले बढेको छ। नेपालको बार्षिक तापक्रम बृद्धिदर ०.०५६ डिगी्रले वृद्धि भइरहेको छ । तापक्रम वृद्धिको प्रवृत्ति हिमालमा बढी छ । हिमालमा प्रतिवर्ष ०.०८६ डिग्री सेल्सियसले तापक्रम वृद्धि भएको छ । त्यसैगरी पहाड ०.०६८, मध्यपहाडमा ०.०५२ डिग्रि सेल्सियस, सिवालिक क्षेत्रमा ०.०३० डिग्रि सेल्सियस र तराईमा ०.२१ डिग्रि सेल्सियसका दरले तापक्रम वृद्धि भएको छ ।
विश्वव्यापी तापक्रमको भविश्यवाणी र यसले गर्ने असर
वैज्ञानिकहरुले अहिलेको अवस्थामा हरितगृह ग्याँस उत्सर्जन निरन्तर भइरहने र जलवायु परिवर्तन सम्वन्धी बनाइएका कुनै पनि नीतिहरु लागु नगर्ने हो भने यो शताब्दीको अन्त्य अर्थात सन् २१०० सम्म पृथ्वीको तापक्रम ४.१ देखि ४.८ डिग्रि सेल्सियसले बृद्ध हुने प्रक्षेपण गरेका छन् । अहिलेका जलवायु परिवर्तन सम्बन्धी नीतिहरु जस्तो विभिन्न देशहरुले हरितगृह ग्याँस उत्सर्जन कटौती गर्न बनाएका योजना (दस्तावेज) हरु जुन संयुक्त राष्ट्रसंघमा बुझाएका छन् । तिनीहरु कार्यान्वयन गर्दापनि ३.१ देखि ३ दशमलव ७ डिग्रि सेल्सियसले वृद्धि हुने अनुमान छ । सन २०१६ मा भएको पेरिस सम्झौता कार्वावन्यनका लागि देशहरुले गरेको वाचाकार्वान्यन गर्दा पनि पृथ्वीको तापक्रम २.६ देखि ३.२ डिग्रि सेल्सियसले बढ्ने अनुमान छ । वैज्ञानिकहरुका अनुसार सन २१०० सम्म पृथ्वीको तापक्रम बृद्धिलाई १.५ डिग्रिभन्दा तल रोक्न सम्भव छ । तर, त्यसका लागि सन २०२० देखि २०३० सम्ममा अहिले भइरहेको हरितगृह ग्याँस उत्सर्जनलाई ५५ प्रतिशतले घटाउनुपर्छ । तर, अहिलेसम्म त्यसका कुनै संकतहरु देखिएका छैनन् ।
जलवायु परिवर्तनले पार्ने असर
अहिलेको अवस्थामा हरितगृह ग्याँसको उत्सर्जन भए सन २०२१ सम्म पानी अभावका कारण विश्वव्यापी तरकारी उत्पादन ३५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । २ डिग्री तापक्रम बढ्दा मात्र अमेरिकामा मकैको उत्पादनमा १८ प्रतिशतले गिरावट आउने विभिन्न अध्ययनहरुले देखाएको छ । सन २१०० मा विश्वको जनसंख्या ११ अरव हुने अनुमान छ । ३ अरब मानिस खाने कुराको अभावमा संघर्ष गर्ने छन् । यसबाट खासगरी गाउँका बस्तीहरुमा पर्ने छ ।
जलवायु परिवर्तनको कारक हरितगृह ग्याँसको उत्सर्जनमा नेपालको भूमिका ज्यादै न्यून भए पनि यसको असर हाम्रो देशमा देखा परिसकेको छ । नेपालमा कृषि, जलस्रोत, जैविक विविधता तथा मानव स्वाथ्य लगायतका क्षेत्रमा जलवायु परिवर्तनले प्रभाव पारेको छ ।
बन डढेलो
वन तथा भूसंरक्षण विभागका अनुसार नेपालमा बर्सेनि दुई लाख हेक्टर वन क्षेत्रमा डढेलो लाग्ने गरेको छ । जसबाट वार्षिक दुई अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी हुने अनुमान छ । नेपालमा हुने डढेलोका घटनामध्ये ८० प्रतिशतभन्दा बढी मध्यफागुनदेखि मध्यवैशाखसम्म भएको विभागले जनाएको छ। लामो खडेरी, उच्च वेगको हावाहुरी र अत्यधिक गर्मीका कारण उक्त अवधिमा डढेलोको उच्च जोखिम हुन्छ ।
गृह मन्त्रालय अन्र्तगतको राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन प्राधिकरणका अनुसार विगत १० वर्षमा आगलागी डढेलोका घटना तेब्बरले बढेका छन् । अघिल्लो पाँचवर्षभन्दा पाँच गुणा बढी आगलागीका घटना भए । २०७० वैशाख १ गतेदेखि २०७९ चैत ७ गतेसम्म भएका १८ हजार ७९१ वटा आगलागी तथा डढेलोका घटनामा ७६९ को ज्यान गएको छ भने दुई हजार ५६८ घाइते भएका त्यसबाट २२ अर्ब २३ करोड रुपैयाँभन्दा बढी छ ।
पर्यटन
जलवायुजन्य प्रकोपका कारण नेपालको पर्यटन क्षेत्रले वार्षिक सरदर २४१ मिलियन अमेरिकी डलर (करीब रु.२५ अर्ब) बराबरको क्षति व्यहोरिरहेको छ ।
नेपालको पर्यटन क्षेत्रमा जलवायु परिवर्तनले पारेको आर्थिक नोक्सानबारे प्राक्टिकल एक्सन र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गरेको अध्ययनले सन् १९८४ देखि २०१३ सम्म वार्षिक सरदर २४१ मिलियन डलर क्षति भएको उल्लेख गरेको छ। उक्त अवधिमा जलवायुजन्य प्रकोपको कारण पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पुगेको नोक्सानलाई आधार बनाएर अध्ययन गरिएको थियो ।
कृषि
पानी पर्ने समयमा फेरबदल र मौसममा गडबडी हुँदा खेती लगाउन समस्या । भूक्षय र बाढी पहिरोका घटना बढ्नाले माटोको उर्वरा शक्ति घट्नाले कृषि उत्पादनमा ह्रास । नयाँ खालका किटाणु तथा रोगव्याधि निस्किएर बालीनालीलाई क्षति ।
प्राकृतिक प्रकोप
पहाडमा भेल पहिरो, नदी तटमा बाढी आउने, भूक्षय र असामान्य खडेरी जस्ता प्रकोपहरूमा वृद्धि । तराईमा खेत बस्ती डुबान, नदीको धार बदलिएर हुने बाढी, नदी तटीय क्षेत्रमा कटान र खडेरी जस्ता प्रकोपमा वृद्धि । हिमालमा हिउँ पग्लिने क्रममा वृद्धि, यसले गर्दा हिमताल विष्फोट हुने र तल्लो भेगमा व्यापक जनधनको क्षति हुने खतरा
जलस्रोत
हिमाली भेगमा तीव्र गतिमा हिउँ पग्लिदा हिमालबाट शुरु हुने नदीहरू पनि अन्य नदी जस्तै वर्षे नदी बन्ने सम्भावना छ । खानेपानीको आपूर्ति तथा सिंचाईका लागि पानीको अभाव । जलविद्युत उत्पादनमा कमी र यसले देशको ऊर्जामा सङ्कट अझ बढाउने छ ।
जैविक विविधता परिवर्तीत जलवायु अनुसार आफूलाई ढाल्न नसक्दा रुख विरुवा तथा जीवजन्तु लोप हुने सम्भावना । वनको विनाश बढ्दा वन्यजन्तु तथा वनस्पतिको प्राकृतिक बासस्थानमा असर ।
सिमान्तकृत समुदायमा असर
नेपालको संविधानले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका समुदायको रूपमा गरीब, महिला, दलित, आदिवासी जनजाति, मधेसी अन्य सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक, भौगोलिक विकटतामा रहेका बासिन्दाहरू, यौनिक अल्पसंख्यक, नागरिकताविहिन व्यक्तिहरूलाई परिभाषित गरेको छ ।
नेपालमा जलवायु परिवर्तनको असर र प्रभाव विशेष गरी महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्यक र सीमान्तकृत समुदाय तथा भौगोलिक विकटताका क्षेत्रमा बढी परेको छ । महिला तथा सीमान्तकृत समुदायहरूको जीविकोपार्जन तुलनात्मक रूपमा प्राकृतिक स्रोतमा बढी निर्भर रहेको र यी स्रोतहरू जलवायु परिवर्तनका असरप्रति अति संवेदनशील रहेका कारण स्रोतहरूको उपलब्धता र गुणस्तरमा आएको क्रमिक हृास एवं क्षतिका कारणले ती समुदायको जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको छ । साथै जीविकोपार्जनका वैकल्पिक अवसरहरूको अभावका कारण उनीहरू परिवर्तित प्रतिकूल परिस्थितिको सामना गर्न असमर्थ हुने गरेका छन्।
जलवायू सम्बन्धिनीति
- राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६
- दोस्रो राष्ट्रिय निर्धारित योगदान, सन २०२० (एनडीसी)
- राष्ट्रिय अनुकुलन कार्ययोजना २०७८
- स्थानीय अनुकुलन कार्ययोजना
- जलवायु परिवर्तन सम्बन्धी लैङ्गििक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना
- शून्यकार्बन उत्सर्जन दीर्घकालीन रणनीति २०२२
नीतिगत विश्लेषण
- व्यवहारिक र कार्यान्यन पक्षकमजोर
- जलवायु नीति२०७६ ले ८० प्रतिशत बजेट स्थानीय समुदायमासिधै जाने व्यवस्था गरेको छ । तर, त्यसको व्यवहारमा कार्वान्यन छैन ।
- लक्ष्य महत्वकांक्षी छन् ।
- नेपालको आवश्यकताका आधारमा बनाइएका छैनन् ।
- कार्वान्यनको बजेट छैन ।
- राज्यका नीतिहरुबीच तालमेल छैन ।