2019 April 22/ 12:50: 49am

तुयुकाजी ताम्राकार

असल विचार धारण गर्नु नै धर्म हो भनिन्छ । त्यसैकारण मानिसहरुले कुनै पुण्य काम गर्दा मठमन्दिरमा पुग्दा वा कुनै तीर्थस्थलमा पुग्दा राम्रो विचार र असल भावनाले गर्छन् र पुग्छन् । आफ्नो मनको राम्रो उद्देश्य पूरा गर्न ईश्वरले साथ दिउन् भन्ने मनमनै कामना गर्छन् । सन्तोष र खुशी भई फर्कन्छन् । हुनत निरन्तर प्रयास, लगनशील र मेहनतले नै मानिसले सफल पाएको किन नहोस् । उसले भगवानलाई जस दिन चुक्तैन ।
    विशेषगरी हिन्दु धर्माबलम्बीहरुको वर्षभरीमा अनेकौं चाडपर्वहरु हुन्छन् । को गरिब को धनी सबैले उत्साहपूर्वक हृदयदेखि देवीदेवताको पूजापाठ, दर्शन परिक्रमा आदि गर्न मन्दिर तीर्थस्थल आदि स्थानहरुमा पुग्छन् । कतिपय यस्तो मेला पर्वहरु हुन्छन् जहाँ पुगेर मानिसहरु स्नान, दान मात्रा गरी रमाउँछन् । विशेषगरी माघ महिनाभर आ–आफ्नो घरमा श्री स्वस्थानीको कथा वाचन गरि परिवारलाई सुनाउँछन् र प्रसाद बाँड्छन् । उता साँखु र भक्तपुरमा महिला एवं पुरुषहरु श्री स्वस्थानीको कठोर ब्रत बस्छन् । महिनाभरी दिनहुँ हजारौंको संख्यामा साँखुको काली नदीमा स्नान एवं स्वस्थानी माताको दर्शन गर्न पुग्छन् । स्वस्थानी कथामा वर्णित लावण्यदेश सायद साँखु होला भन्ने मान्यता पाइन्छ । साँखुको छेउबाट बग्ने त्यहि शालीनदी स्वस्थानी कथामा वर्णित गोमाको छोरा नवराजको श्रीमती चन्द्रावती खसेको होला भन्ने मान्यता स्थापित छ । उनै चन्द्रावतीले स्वस्थानीको ब्रत बस्दा स्थापित देवी नै स्वस्थानी देवी होला भन्ने पनि विश्वास गरिन्छ । त्यसैकारण साँखुमा महिनाभर स्वस्थानीको ब्रत बस्ने चलन चलाएको होला भन्ने विश्वासले नै ठाउँ ठाउँबाट मानिसहरु त्यहाँ बस्न पुग्छन् । 
    ब्रत साँखुमा बसेपनि सम्पूर्ण ब्रतालु एवं्र स्वयं श्री स्वस्थानी देवी समेत पनौतीको त्रिवेणीघाटमा गइ स्नान एवं त्यहि ब्रतको कार्य सम्पन्न नगरेसम्म महिमा पूर्ण हुँदैन भन्ने मान्यता रहेको छ । त्यसैले माघ शुल्क द्धाद्धशीको दिन यो साल २०७५ माघ २३ गते साँखुबाट र सप्तमीको दिन भक्तपुरबाट ल्याई भोलिपल्ट स्नान एवं ब्रत बसिन्छ । त्यस्तैगरी ति ब्रतालु श्री पशुपतिनाथ र फर्पिङमा पनि जाने चलन यद्यपि छँदैछ । ति स्थानहरुमा जाँदा कुनैपनि ब्रतालुहरुले खाली खुट्टामै हिँडेर पुग्ने चलन पनि रहेकै पाइन्छ । पनौतीको त्रिवेणी संगम धार्मिक एवं भौगोकि दृष्टिकोणले धेरै ठूलो महत्व बोकेको तीर्थस्थल मानिन्छ । प्रत्येक १२ वर्षमा माघ महिनाभरी त्यहाँ मकरमेलाको नामले प्रत्यात मेला लाग्दछ । उक्त दिनहरुमा दैनिक लाखौं संख्यामा तीर्थयात्रीहरु टाढाटाढाबाट समेत नुहाउन पुग्छन् । उक्त त्रिवेणी संगमलाई उत्तरप्रयाग पनि भनिन्छ । भारतको इलाहावाद स्थित प्रयास, गंगा, यमुना, र सरस्वती ३ नदिहरुको संगम हो भने त्रिवेणीको उत्तरप्रयाग लिलावती, रुद्रावती र पद्मावतीको संगम हो । पनौतीको उक्त त्रिवेणीघाट यसकारण अझ धेरै महत्वको मानिन्छ कि प्राचीनकालमा त्यहाँबाट गौरीशंकर (महादेव पार्वती) हिमालय देखिन्थ्यो । त्रिवेणीको दहमा पसेर नुहाउँदा नुहाउँदै पूर्वमा सूर्य र उत्तरमा साक्षात महादेव पार्वतीरुपी गौरी शंकरको दर्शन पाइने दुर्लभ तीर्थस्थान भएकोले धेरै महत्वपूर्ण र पवित्र मानिएको हो । उक्त घाटको पानीमा नुहाउँदा रोगहरु समेत निको हुन्थे । 
    स्वर्गको राजा महाराजा इन्द्रमाथि उनको व्यभिचारी कामले गर्दा ऋषि गौतमको श्रापले शरीरभरी लागेको योनी चिन्ह सायद आजको भिरङ्गी वा एड्स रोग निको पार्न पनौतीको त्यहि त्रिवेणीको पानीमा हरेक विहानीको प्रहारमा नुहाई महादेवको तपस्या गर्दा रोग निको भई अनुहारमा अझ सुन्दर एवं निखारता बढेको कथा पाइन्छ । उनले तपस्या गरेको स्थानमै महादव उत्पन्न भई बरदान दिएको र त्यहि स्थानमा उत्पत्ति भएको शिवलिङ्ग माथि निर्मित मन्दिरको नाम नै इन्द्रेश्वर मन्दिर नामले रहेको छ । सँस्कृति, धर्म, काष्ठकला र वास्तुकलाको नमुना रहेको उक्त मन्दिर नेपालकै सँस्कृति, धर्म, काष्ठकला र वास्तुकलाको नमूना रहेको उक्त मन्दिर नेपालकै सबैभन्दा पुरानो मन्दिरको रुपमा मौजुद रहेको छ । त्यसैकारण विश्वसम्पदामा प्रस्तावित मन्दिर एवं सिङ्गो पनौतीको महत्व विश्वस्तरमा बढेर गएको छ । त्रिवेणीघाट, इन्द्रेवरको मन्दिर, विभिन्न अन्य मठमन्दिरहरु, पाटीपौवा, ढुङ्गेधारा, इनार, योजनाबद्ध वस्ती एवं प्राचीन राजदरबार (हाल उत्खनन् पश्चात सुरक्षित) आदि कारणहरुले ऐतिहासिक धार्मिक, सास्ँकृतिक, पुरातात्विक, दृष्टिकोणले समेत महत्वपूर्ण रहेका छन् ।
    प्रत्येक माघ महिनाभर त्रिवेणीघाटमा स्नान गर्न दिनहुँ बनेपा, धुलिखेल, नाला, खड्पु, साँगा आदि स्थानहरुबाट तीर्थयात्रीहरु आउँथे तर खोलाहरुमा नाली मिसाएपछि फोहोरले गर्दा यात्रीको चाप कमी आएको छ । तरपनि स्थानीय जनताहरु र नगरपालिकाको पहलमा फोहोर पानीलाई अन्तैबाट निकास गरी लिलावतीको सफा पानीको व्यवस्था कम्तिमा पनि यो माघ महिनाभरलाई व्यवस्थापन गरिएको छ । चारधामको दर्शन गर्न भारतमा जानै नपर्ने गरी बद्रीनाथ, केदारनाथ, द्धारका र रामेश्वरको मूर्ति एवं मन्दिरहरुको स्थापना त्यहि त्रिवेणीघाटमा छन् । 
    स्वस्थानीय कथामै वर्णित दक्ष प्रजापतिले गरेको यज्ञकुण्डमा फाल हाली प्राण त्याग गरेकी पत्नी सतीदेवीको लास प्रेम र शोकले विक्षिप्त महादेवले बोकेर हिँडेका थिए । लाश कुहेर झर्ने क्रममा धनेश्वरमा दाहिने कान र भालेश्व्रमा ताल (निधार) झरेको र त्यहाँ शक्तिपिठ उत्पन्न भएको भन्ने पनि कथामा उल्लेख पाइन्छ । माघ महिनामा स्वस्थानीदेवीको महिना र महादेवको दर्शन गर्दा पुण्य फल मिल्ने धार्मिक विश्वास भएकोले धनेश्वर त्रिवेणी स्थान इन्द्रेश्वर एवं भालेश्वरको दर्शन एक दिनमै गर्दा पुण्यको ठूलै भारी मिल्ने पनि विश्वास गरिन्छ । 
    बनेपाबाट पनौती नगर पस्ने वित्तिकै धनेश्वर महादेव, धनेश्वरबाट पनौती ३० मिनेट र पनौतीबाट भालेश्वर करिब एक घण्टामै पुग्न सक्ने भएकाले तीर्थयात्रीहरुले एकैपटक ति धार्मिक स्थानहरुमा पुग्दा पप्त हुने असीम आनन्द र पुण्य किन नलिने ?