2019 February 23/ 01:21: 57pm

सहदेव थापा
    जीवन आफ्ना लागि त सबैले बाँचेको हुन्छ । तर परहितमा रमाएको जीवन परसेवामा बाँचेको जीवनको स्वाद सगरमाथाजस्तो अग्लो, सागरजस्तो गहिरो हुन्छ । परसेवा एक्लैले गर्दा थोरै गर्न सकिन्छ तर यदि परसेवालाई संस्थामा बसेर गर्दा सहज झन् राजनीतिक पार्टीमा आबद्ध भएर गर्दा राजनीतिक एउटा निर्णयलेसारा जनता सुखी हुन्छन् । चलचित्र क्याराभान विश्वमा एकचोटी तहल्का मच्चाउन सफल भएको विश्व चलचित्र हो । यसको एक प्रमुख पात्र हुन् डोल्पाका थिन्ले लोन्डुप हुन् । यसका निर्देशक फ्रान्सका एरिक भ्याली हुन् । यस चलचित्रले ४सय करोड डलरभन्दा माथि आम्दानी गरिसकेपछि एरिक भ्यालीलाई सघाउने र यसको फलस्वरुप पेरिसमा थिन्लेलाई सुविधा सम्पन्न घर किनिदिने प्रस्ताव एरिकले थिन्लेलाई राखे तर थिन्लेले कुरालाई भुइँमा खस्न नपाई ठाडै अस्विकार गरिदिए । यसको कारण थियो २०५६ सालको होला उनीको जीवन नेकपा (एमाले) को राजनीतिमा गाँसिएको थियो । उनी नेकपा (एमाले) को डोल्पा जिल्ला विकास समितिको सदस्य थिए । उनी कम्युनिष्ट पार्टीको स्कुलिङमा हुर्किसकेका थिए । त्यसैले एरिकको घर किनिदिने प्रस्तावको जवाफलाई इन्कार गर्दै नाजवाफ उत्तर दिएका थिए । “म अहिले जनताले विश्वास गरेको पार्टीमा काम गर्छु । मलाई पार्टीले ठूलो जिम्मेवारी दिएको छ यसलाई छोडेर कतै जान्न ।” डोल्पाको विकट गाउँ साल्दाङका थिन्ले लोन्डुपको कति महान् विचार पार्टी र जनताप्रतिको जिम्मेवारी को थियो ? आज थिन्ले हामीबीच हुनुहुन्न उहाँको इमानदारी र स्वच्छ विचारको कदर गर्नुपर्छ ।
    यो विचार नेकपा (एमाले) बाट निर्वाचित जि.वि.स. सदस्यको हो । आज नेकपाबाट निर्वाचित वडा, गाउँपालिका, नगरपालिका, उपनगरपालिका, महानगर, प्रदेश, संघीयता, जनप्रतिनिधिहरुलेपनि क. थिन्लेबाट सिक्नको लागि भुँइ कमरेड हालका हाम्रा जनप्रतिनिधिहरुलाई सुझाव दिन्छ तर भुइँकमरेडको कुरा कसले सुन्ने जनप्रतिनिधिहरुले सुन्छन् की, पालना गर्छन् कि भनेर चिया पसल, पार्टी चौतारीमा आफ्ना कुरा गर्छ। आज भुइँकमरेडले सबैबाट आशा गरेको छ । सरकार र पार्टीको पक्षमा तलसम्म अभियान चलाउने पार्टी संगठन सरकारका नीति र निर्णयको रक्षा गर्दै विचार बनाउने पार्टी च्यानलको तर के गर्ने भुइँ कमरेडका कु्रा न हुन् कसले सुन्ने । पार्टी पंक्तिमा देखिएको यो रोगले भुइँकमरेडलाई पिरोलेको छ । यो रोगको औषधिको लागि गाउँ वस्तीमा भुइँमा पाइने जडिबुटीको खोजीमा भुइँकमरेड लागि परेको छ । नेपाल दलहरु कुवा जस्ता छन् । यसैले दलहरु कुवा जस्तो होइन नदीजस्तो हुनुपर्छ । कुवामा भ्यागुताको राज हुन्छ नदिमा चलायमान माछाको राज हुन्छ । कुवाको पानी बासी हुन्छ नदिको पानी ताजा हुन्छ । कुवामा सानो क्षितिज हुन्छ । नदिमा गति हुन्छ, चलायमान हुन्छ र अगाडि बढिरहन्छ । नदिजस्तो विशालता, निरन्तर अगाडि बढ्ने, स्वभाव भएको पार्टीले मात्र परसेवाको उद्देश्यलाई साथ दिन्छ । हामीले समाजवादी विचारधाराबाट निर्देशित राजनीति र राजनैतिक कार्यदिशा निर्धारण गर्नुपर्छ । राजनीतिक मुद्दामाथि हाम्रो बहस र धारणाले नै हाम्रो पार्टीको जीवन प्रवाह हुन्छ ।
    राजनैतिक दृढ शक्ति नभएसम्म, आर्थिक, सामाजिक, शैक्षिक, साँस्कृतिक दिशामा अगाडि बढ्न सकिँदैन, यसैले हामीले सहि राजनैतिक कार्यदिशा पहिल्याउन सक्नुपर्छ । सोहि अनुकुलको संगठनको विधि, प्रकृया सिद्धान्त स्थापित गर्नुपर्छ भनेर भुइँकमरेड भुनभुनीरहन्छ । पार्टीका आकाशे कमरेडहरुलाई सुनाइरहन लागि पर्ने काम गर्छु भनेर प्रण गर्छ । विवेक हराएपछि संवेदनशीलता हराएर जान्छ । विश्वसनीयतामा नै ओरालो लाग्न थाल्छ । त्यसपछि विपत्तिका बेलाहरु लम्किएर नजिक आउन थाल्छन् । यसैले पार्टी नेतृत्वमा विवेक हराउन हुँदैन । हामीले कुनै वर्गलाई लिएर सँगै हिँड्यौ भने समाजवादमा पुग्छौं कुनवर्गबाट लिएरसँगै हिँड्यौ भने समाजवादमा पुग्छौं, कुन वर्गबाट हमीलाई अप्ठेरो पार्छ, हाम्रो मित्र को हो ? शत्रु को हो भन्ने कुराको पहिचान आवश्यक हुनुपर्छ । यी प्रश्नहरुको निक्र्याेल नगरेसम्म समाजवादमा हामी पुग्न सक्दैनौ । भन्नैपर्छ बाघ र मृगलाई एउटै खोरमा राख्ने विचारले समाजवादमा हामी पुग्न सक्दैनौ ।पार्टीलाई हाँक्ने प्रमुख राजनैतिक कार्यदिशा हो । झन् कम्युनिष्टको सन्दर्भमा राजनैतिक कार्यदिशाले उसको सम्पूर्ण चरित्रलाई ऐनाजस्तो छर्लङ्ग बनाउँछ । आजको अवस्थामा कस्तो शिक्षा नीति लागू गर्ने, कस्तो औद्योगिक नीति लागू गर्ने, कस्तो साँस्कृतिक नीति लागु गर्ने, राज्यको स्वरुप कस्तो हुन्छ, पार्टीले स्पष्ट विचार जनप्रतिनिधि र पार्टी कार्यकर्ताबीच छलफल गरेर विचार बनाउनु पर्छ । अर्थात यो विचार बनाउँदा केन्द्रमा मात्र नभई भुइँकमरेडलाई पनि बहसमा सामेल गरेर बनाउनुपर्छ । भुइँकमरेडको पनि अपनत्व हुन्छ र पार्टीको भुइँ बलियो हुन्छ ।
भुइँ कमरेडलाई नसमेटेसम्म पार्टीको भुइँ बलियो हुँदैन । र पार्टीले गति लिदैन । हामीले आफ्नो विचारमा मनपराउनेले ल मिठु मनपराउन छोडेपछि पिठु भन्ने प्रवृत्तिलाई त्याग्न सक्नुपर्छ ।हाम्रा नेताहरुले आलोचना सुन्न सक्नुपर्छ । आलोचना भनेको आफ्नै आँगनमा बसेर आफ्नै आलोचना सुन्न सक्नुपर्छ । यसैले आज हामीले खासगरी नेतृत्वमा पुगेकाले विचार पु¥याएका काम गर्न सक्नुपर्छ । किन सबै कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङ हुँदैनन्, किन सबै निर्वाचित प्रधानमन्त्री मनमोहन हुँदैनन् किन सबै कम्युनिष्ट पार्टीका महासचिव मदन भण्डारी हुँदैनन् । कलमले आफैलाई लेख्दैन लेख्ने त विचारले हो । पदमा पुग्दैमा सबै नेता हुँदैनन् दिशा निर्देशन गर्न सक्नु र पदमा पुग्नु दुई नितान्त फरक कुरा हो । सुधारको पहिलो खुट्किलो आफ्नो राजनैतिक इच्छा शक्ति हो र यसको रुपान्तरण हो । सुधारमा लोकतान्त्रिक चरित्र हुनु दोस्रो पाइलो हो मानिसको बेइमानी चितामा जल्छ इमानी चितामा जल्दैन । त्यसैले अपनत्व र स्वामित्व नै प्रगति र भाइचाराका आधारभूत स्तम्भ हुन् । यसैले भुइँकमरेडलाई काममा अपनत्व लिई स्वामित्व अपनाउने अवस्थाको सृजना गर्नुपर्छ । राजनीतिमा वादविवाद सम्वाद भइरहनुपर्छ । भुइँकमरेडको विचारमा छलफल र विचार विमर्शपछि विचार निर्माण गर्ने पद्दतिको विकास गर्नुपर्छ । जो हिजो थियो । स्थानीय सरकार होस् वा केन्द्रिय सरकारहोस् जुनसुकै सरकारको काम कारवाहीको स्वामित्व पार्टीले ग्रहण गर्न सकिरहेको छैन ।
    कम्युनिष्ट पार्टीको कार्यशैली हिजोको नेकपा (एमाले) को कार्यशैली जस्तो हुन आवश्यक छ । सरकारको कार्यशैली हिजोको क. मनमोहनको सरकारको पालाको जस्तो आशा भुइँकमरेडहरुले गरेका छन् । भुइँकमरेडहरुले लोकतन्त्रमा लामो विचार विमर्शपछि निर्णय लिने नेतृत्व सहितको पार्टी आजको आवश्यकता हो भन्ने ठम्याई उसको छ । त्यसैले भुइँकमरेडको विचार भुइँमा नबिलायोस् भन्ने आशा गर्छ ।