2026 April 21/ 04:15: 43pm

पुष्पराज राउत
    मानिस एक राजनीतिक प्रणाली भित्र जीवित हुँदै हरेक क्रियाप्रतिक्रिया र प्रक्रियामा समाहित हुने प्राणी हो । संसारभरिका सबै देशमा राजनीति हुन्छ । राजनीतिमा द्वन्द्व हुन्छ । राजनीतिमा विवाद र प्रतिस्पर्धा हुन्छ चाहे त्यो अन्तरपाटी होस् वा बाह्य पार्टी होस् । भनिन्छ राजनीतिमा विवाद र प्रतिस्पर्धालाई जूम्ल्याहा भनिन्छ । राजनीतिक (संगठन) पार्टी थुप्रै हुन्छन् । सबै पार्टी संगठनका एउटै सिद्धान्त हुँदैनन् । त्यसैले द्वन्द्व हुन्छ विवाद र प्रतिस्पर्धा हुन्छ । राजनीतिक द्वन्द्वलाई नकरात्मक ढंगले मात्र हेर्नुपनि हुँदैन । राजनीतिमा नेतृत्व गर्ने नेतृत्वहरुको मौलिक स्वभाव र आचरण हुन्छन् । समाज, संगठन र वातावरणीय पक्षले समेत उनीहरुको राजनीतिक पार्टी पिच्छे, राजनीतिकर्मी पिच्छे रहेको गुण तथा व्यवहारमा समेत भिन्नता पाइन्छ । 
    बेलाबखत, समयसापेक्ष राजनीतिक द्वन्द्व सत्ता प्राप्तिका लागि हुन्छ । पूर्ण बहुदलीय व्यवस्था (२०४६) पश्चात नेपालमा अनेकन पार्टीका अनेकन व्यक्तिहरु सरकारमा सामेल भए सरकार बनाए तर समग्र सार र स्वरुपमा सरकारको प्रतिनिधिहरु म्यादी सरकारका रुपमा भएपनि स्वस्थ प्रतिस्पर्धा हुन सकेन । पटक पटक बहुमतीय सरकार, ठूलो पार्टीको सरकार, मिलीजुली वा गठबन्धनको सरकारहरुले एक अर्काको कार्यक्रमहरु स्वीकार गर्न सकेनन् । यसको बदलामा एक सरकारले, अर्काे सरकारको सार्वजनिक हित, विकास निर्माण, मानवीय संसाधन विकास, आर्थिक विकास लगायत अन्य कार्यक्रमहरु कटौती गर्ने अस्वस्थ प्रतिस्पर्धा भएको थियो । यस प्रकारको परिपाटी २०५१ को अल्पमतको मनमोहन अधिकारी सरकारले ल्याएको सम्मानित कार्यक्रमहरु देखि लिएर २०७४ पश्चात नेकपाको केपी वली सरकारले लिएका ‘सुखी नेपाली समृद्ध नेपाल’ को परिकल्पना का साथ राष्ट्रिय पूँजी निर्माण र चरणका प्रायजसो कार्यक्रमहरुलाई नेकपाको विभाजन पछि बनेको पाँच दलीय गठबन्धनबाट बनेको सरकारले सयौं फलदायी योजनाहरु कार्यान्वयन त के एक दिन पनि हेर्न, बुझ्न चाहेन बरु सरकार बनेको भोलिपल्ट देखि नै लोकप्रिय कार्यक्रमहरु कटौती गरेको अस्वस्थ प्रतिस्पर्धा हामीलाई सहजै थाहा छ । तसर्थ नेपालमा नेपाली राजनीतिकर्मी र नेतृत्वदायी पार्टीका सत्ताधारीहरुले राम्रोमा अझ बढी राम्रो गर्ने प्रतिस्पर्धा नेपाली राजनीतिमा भएन । प्रसङ्गवश पार्टी फरक भएपश्चात, तत् पार्टीका नीति, सिद्धान्त, विचार र कार्यक्रम फरक हुनु विवाद हुनु स्वभाविक हो । 
    राजनीतिमा वाद, प्रतिवाद, संवाद हुन्छ । यसले विगतका अनुभवहरु समेतलाई अभिव्यक्त गरि ठिक, बेठिकलाई शुद्धिकरण गरि मतभेद र वादविवादलाई सकारात्मक तर्क र फरक दृष्टिकोणको प्रस्तुति मार्फत राष्ट्रिय एकता, स्वाभिमान, स्वतन्त्रता, भौगोलिक अखण्डता, शान्ति समृद्धलाई एकाकार गर्नुपर्ने साथै अभ्यास गर्ने क्रममा भएका कमीकमजोरी र त्रुटिीहरुलाई आत्मबोध गर्दै अग्रगमनको प्रगतिको बाटोमा लाग्नुको सट्टामा आरोप प्रत्यारोपमा लाग्नु आफू इतरलाई निषेध  गर्न खोज्नु वा आफू हुँदा ठिक अन्य हुँदा बेठीक भन्नु सैद्धान्तिक, वैचारिक विवाद हो भनेर वर्तमन संसदमा प्रमाणहरु पेश गर्न सकिन्छ । तसर्थ बाँदरले घाउ कोट्याउनु, जिर्ण हुँदै जानु हो । 
    वादविवाद, प्रतिवाद र संवादको दृष्टिकोणको हेक्का नराखी संसदीय संरचनालाई बिर्सनु एकोहोरो पक्षधरताको वकालत गर्नु चरम अवसरवाद हो । तसर्थ पनि २०७९ को आम निर्वाचन पछि बनेको निरंकुश संसद र गठबन्धनको सरकारलाई सफलताको शुभकामना, जनहितको पक्षमा कार्यान्वयन गर्नका लागि सुझाव दिन नसक्नु । वर्तमान संसदीय संरचनालाई नबुझ्नु मात्र व्यतित भएका अतितलाई उत्खनन् गर्नु र आत्मकेन्द्रित अभिव्यक्ति व्यक्त गर्नु पक्कै पनि वैचारिक र सैद्धान्तिक विवाद होइन हुन सकेन ।     संसदमा १२ दलको उपस्थिति छ । सात दलको गठबन्धन सरकार बनेको छ । सशक्त प्रतिपक्षमा एउटा पनि दल छैन । २६ गते प्रचण्ड नेतृत्वको सरकारलाई नेपाली काँग्रेस लगायतका ९९.२८ प्रतिशत मत सरकारको पक्षमा दिएपछि संसद् प्रतिपक्ष विहिन भएको हो । यसले पनि के पुष्टि गर्छ भने यसअघिको गठबन्धनमा रहेका दलहरु सत्ताविना बस्न सक्दैनन् । 
    अग्रगमनकारी हो, प्रजातन्त्रको सेनानी हौ भन्नेहरुले किन एक्लाएक्लै निर्वाचन लड्न नसकेको । खासगरी सत्ताविना बाँच्न नसक्ने प्रवृत्तिका कारण किन सरकारको दिनगन्तीको सुरुवात गरेको । हतास मनस्थिति लिएर किन भित्र बाहिर गरेको ? किन निराश भएर विषयगत भन्दा पनि वस्तुगत प्रतिप्रश्न गरेको ? यसरी यी सारा राजनीतिक वातावरणलाई बुझ्ने हो भने, नेतृत्वहरुको अभिव्यक्ति बुझ्ने प्रयास गर्ने हो पुरानो पाँच दलिय गठबन्धन जो नीतिविहिनता, सिद्धान्तविहिनता, अनुशासनविहिनता भएर जबरजस्त मात्र निर्वाचन जित्नका लागि एकअर्काको वैशाखी टेकेर साम, दाम, दण्ड, भेद प्रयोग गरी बल्ल तल्ल निर्वाचितहरुको किन कोकोहोलो, किन ठूलो बज्रपातको परिभाषा । सहज बुझ्न सकिन्छ यो सात दलिय समीकरणले विशेष गरी पाँच दलीय गठबन्धन भित्र आकाश खसेको तरङ्ग दिएको छ ।
    छाङ्गाबाट खसेका छन् निरीह भएको जस्तो अनुभव गरेका हुन् । अकल्पनीय हलचल मच्चाएको छ । सरकार गठनको केहि दिनभित्रमा चलखेल सुरु हुनु राजनीतिक द्वन्द्वलाई निम्त्याउनु हो । यो एक प्रकारको मनोमालिन्य र असमाञ्जस्यताको स्थिति हो । यस्तो अवस्थामा समीकरणमा सम्मिलित कुनै एक दलमा भड्काव आउने संकेत भयो भने प्रतिपक्ष जस्तोसुकै हर्कत गर्न तयार हुन्छ र वास्तवमा राजनीतिक कलह, विद्रोह, विनाश र अशान्ति हुन्छ । राजनीतिक द्वन्द्वको सुरुवात हुन्छ ।