2026 April 21/ 04:17: 05pm

– केशव थापा
अहिले हामी नेपालको संविधान, २०७२ ले गरेको व्यवस्था अनुसार प्रतिनिधिसभा तथा प्रदेश सभाको दोस्रो निर्वाचनको संघारमा छौं । सिङ्गो नेपाल निर्वाचनमय भएको छ । हाम्रो प्यारो काभ्रेपलाञ्चोक जिल्लामा पनि निर्वाचनको माहोल धेरै नै सघन भैसकेको छ । केही “स्वतन्त्र”, केही आफ्ना कार्यकर्ता एवं आम काभ्रेली जनताको चाहना विपरीतको, अस्वभाविक, अप्राकृतिक र सिद्धान्तहीन “गठबन्धन” को नाममा भ्रम, झुट र आश्वासनको पोको बाँडेर जनमत आकर्षित गर्न उद्दत छन् ।
कम्युनिष्ट पार्टीका संस्थापक क. पुष्पलाल, पहिलो जननिर्वाचित प्रधानमन्त्री एवम् बृद्धभत्ता लगायतका देश तथा जनताको हित गर्ने लोकप्रिय कल्याणकारी कार्यक्रमका परिकल्पनाकार साद्गी नेता क.मनमोहन अधिकारी र स्वस्थ, रचनात्मक प्रतिष्पर्धाका साथ लोकप्रिय जनमतको बलमा सरकार चलाउने मान्यता बोकेको जनताको बहुदलीय जनवादको आलोकमा समाजवाद स्थापनाको परिकल्पनाकार जननेता क. मदन भण्डारीको विरासत बोकेको सूर्यध्वजावाहक ने.क.पा. एमाले भने काभ्रे जिल्लामा एक्लै, नितान्तरुपमा एक्लै चुनावी समरमा होमिएको छ ।
काभ्रेली जनतालाई आवश्यक परेको बखत केही अत्तोपत्तो नहुने व्यक्ति तथा दलहरु कसैको प्रायोजन वा आफ्नै लहडमा चुनावी रङ्गमञ्चमा देखापरेका छन् । काभ्रेली जनतालाई भ्रममा पारेर कसैलाई रिझाउने वा उम्मेदवार भएको आत्मरतिमा रमाउने बाहेक ऊनीहरुको अर्को उद्देश्य देखिदैन । काभ्रे  र काभ्रेलीहरुको भाग्य र भविष्यका सम्बन्धमा खासै चिन्ता नभएका प्रायोजित वा लहडले अभिप्रेरित यस्ता तत्वहरु निर्वाचन सकिदा नसकिदै राजनीतिक रङ्गमञ्चबाट अलप हुने निश्चित छ । स्थिरता उन्मुख राजनीतिलाई अस्थिरता र अन्यौलतातर्फ मोड्नेबाहेक यिनीहरुबाट अन्य कुनै सकारात्मक योगदान नपुग्ने निश्चित छ ।
परमादेशको माखेसाङ्लो र “गठबन्धन” को पासोमा परेर लोकतन्त्रको पहरेदार बन्दै प्रजातान्त्रिक समाजवादको पक्षपोषण गर्नुपर्ने नेपालको पुरानो राजनीतिक दल नेपाली काँग्रेस आम कार्यकर्ता र समर्थकहरुको चाहना विपरीत अझै पनि अप्राकृतिक, अस्वभाविक र अपवित्र गठबन्धनमा लिप्त छ । पुस्तौंदेखि कार्यकर्ता, समर्थक, शुभेच्छुकले चिनेजानेको प्राणसरह प्यारो चिन्ह छाडेर स्वाभिमानी, सिद्धान्तनिष्ठ काभ्रेली प्रजातन्त्रवादीहरुलाई दवाबको भरमा अन्यत्रै मतदान गर्न वाध्य पार्दैछ । सैद्धान्तिक निष्ठा र वैचारिक आडका साथ काभ्रे र काभ्रेलीहरुको समृद्धि, सम्पन्नता र स्वाभिमान उसको प्राथमिकतामा रहेको देखिदैन । चिन्ता र पीर अरुको आडमा राजकीय सत्ता हत्याउने मात्र रहेको प्रतीत हुन्छ ।  पार्टीभित्रै बसेर अन्र्तपार्टी सङ्घर्ष सञ्चालन गर्नुपर्ने आमप्रचलित कम्युनिष्टपद्दति विपरीत “अपमान” भएको, आफूले भने जस्तो हालिमुहाली गर्न नपाएको जस्ता बेतुकका फतुर झिकी छँदाखाँदाको विशाल पार्टी टुक्रयाएर जाने “निख्खुर कम्युनिष्ट” भन्ने दलहरुप्रति जनतामा चरम वितृष्णा र घृणा मात्र  छ । 
“गठबन्धन” मा सामेल बाहेकका अन्य स–साना दलहरुको निर्वाचनमा सहभागिताका लागि सहभागिता बाहेक अन्य कुनै उपादेयता देखिदैन । यी तथ्य काभ्रे सम्बद्ध युवा, महिला, पेशाकर्मी, बुद्धिजीवी लगायत सर्वसाधारण सबैले मनन गर्नुपर्छ । राजनीतिक दलहरुको लोकप्रियता र तिनीहरुको जनाधारको  विश्व प्रचलित मापक आवधिक निर्वाचन नै हो । लोकतन्त्रको आधारभूत विशेषता र सुन्दरता नै यही हो । एक्काइसौं शताब्दीमा आइपुग्दा पनि नेपालका कतिपय राजनीति दलहरु अझै पनि हार–जीतलाई खेलको स्वाभाविक परिणामको रुपमा ग्रहण नगरी कसैगरि जित्नै पर्ने दवाबको रुपमा ग्रहण गरिरहेका छन् । यही “जसरी पनि जित्नु पर्ने” मनोग्रन्थीले गैरलोकतान्त्रिक व्यवहारलाई पुट दिदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बदनाम र असफल तुल्याउने दूष्प्रयास हुँदै गइरहेको छ । यस्ता हर्कतले हजारौं नेपाली सपुतहरुको त्याग र बलिदानले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्ने, लोकतन्त्र पक्षधर सर्वसाधरणलाई निरास तुल्याउने, निरंकुुशताको अन्तको लागि ज्यान दिने शहिदहरुप्रति अपमान हुने र अग्रमनका विरोधीहरुले मुन्टो उठाउन सक्ने संभावना प्रबल बन्दै गइरहेको छ । बाटो बिराउँदै गएका दलहरुको अकर्मण्यतालाई खबरदारी र नियन्त्रण गर्ने जिम्मेवारी सचेत र जागरुक मतदाताहरुको हो । राजनीतिले धमिलो पारेको पानीलाई सामान्य अवस्थामा निष्पक्षताकासाथ शान्तिपूर्णरुपमा सम्पन्न हुने निर्वाचनमार्फत अभिव्यक्त हुने जनादेशबाहेक अन्य उपायले सङ्लो तुल्याउन सकिन्न । यस किसिमको विशेष अवस्थामा आम नेपालीहरुले झै काभ्रेली मतदाताहरुले पनि होसियारपूर्वक अन्र्तआत्माको आवाज सुनेर विगतदेखि आगतसम्म जनताको पक्षमा लड्ने पार्टी पहिचान गरि उसैको निर्वाचन चिन्हमा मतदान गर्नुपर्छ । लिग छाड्दै गएको राजनीतिलाई पुनः सही मार्गमा ल्याउने र दलहरुलाई जनउत्तरदायी बन्न दवाव दिने सशक्त अस्त्र भनेकै आवधिक निर्वाचनमा सार्वभौमसत्ता सम्पन्न जनताले खसाल्ने अमूल्य मत हो । यसैले एक मत त हो नि भनेर किञ्चित पनि हेलचक्रयाई गर्नु हुँदैन । उखान नै छ नि–एकले थुकी सुकी, हजारले थुके नदी । यो उखान सम्झने र व्यवहारमा कार्यान्वयन गर्ने उपयुक्त समय निर्वाचन अवधि नै हो । केही राजनीतिक दल र नेताहरुको अकर्मण्यतालाई आधार बनाएर सबै दल उस्तै त हुन् भनी निरंकुशताको पक्षपोषण गर्नु हुँदैन । जनताप्रति बढी नै उत्तरदायी, समृद्धिको बाहक र स्वस्थ र रचनात्मक प्रतिष्पर्धाको पक्षपाती दल चिनेर उसैको पक्षमा मतदान गरि चुनिएर सर्वसाधारण नेपालीको छोरा वा छोरी राष्ट्रप्रमुख÷उपप्रमुख तथा  सरकारको प्रमुख हुन पाउने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको जगेर्ना गर्ने काममा जुट्नु पर्छ ।
समृद्ध नेपाल र सुखी नेपालीको ध्येय बोकेर कठिन परिस्थितिमा पनि नेपाली जनता र राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिदै आएको  ने.क.पा.एमाले स्वदेश तथा विदेशमा रहेका आम नेपाली जनताको आशाको केन्द्र बन्दै गइरहेको छ । कसैले चाहेर पनि अन्यथा गर्न नसक्ने गरि ने.क.पा. एमाले नेपालको राजनीतिक क्षेत्रमा सबैभन्दा लोकप्रिय र ठूलो राजनीतिक दलकोरुपमा स्थापित भैसकेको छ । के युवा, के जेष्ठ नागरिक, के महिला सबैसबैको मनमष्तिस्कमा ने.क.पा. एमाले छाएको छ ।  प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको घोषणासँगै ने.क.पा. एमालेको पक्षमा आएको व्यापक जनलहर र नेपाली राष्ट्रियता, सार्वभौमिकताको पहरेदार मानेर धेरै दलका नेता, कार्यकर्ताहरुको निशर्तरुपमा भटाभट ने.क.पा. एमालेमा  प्रवेशले नेपालको मूलधारको राजनीतिको एकमात्र दल ने.क.पा. एमाले नै भएको तथ्य पुष्टि भएको छ । उन्नत कृषिमार्फत किसानको समृद्धि,  सहज आवागमन र बजार पहुँचका लागि दिगो पूर्वाधारको रुपमा यातायातक, तीव्र औद्योगीकरण र आर्थिक बृद्धि, स्वदेश मै रोजगारी, उद्यमशीलता, समृद्धिका वाहक सहकारी, सबल राष्ट्रको परिचायक स्वस्थ र सिर्जनात्मक युवा, समानतातर्फ महिला सहभागिताको सुनिश्चितता, खुसी, जेष्ठ नागरिक, सुखी बालबालिकासहित समाजवादोन्मुख प्रगतिशीलतामा आधारित अर्थव्यवस्था, अपाङ्गमैत्री सरसुविधा, जलवायु अनुकूलन र विपद् व्यवस्थापन, विकास र वातावरणबीच सन्तुलन, मेलमिलाप, न्याय र मानव अधिकार समुन्नत लोकतन्त्रको आधार, निर्वाचित  जनप्रतिनिधि सदैव जनताका सेवक भन्ने मान्यतामा  अडिग ने.क.पा. एमाले सचेत र स्वाभिमानी काभ्रेलीजनको विश्वास र भरमा कसैसँग अनुचित गठबन्धन नगरी काभ्रे जिल्लामा एक्लै निर्वाचनमा होमिएको छ । कसैको टेकोमा भर नगरी देश र जनताको शक्तिमा  ने.क.पा. एमालेले विश्वास गर्छ भन्ने   गतिलो प्रमाण नै यही हो । जनताको बहुदलीय जनवादको आलोकमा लोकप्रिय जनमतबाहेक अनुचित तवरले सत्ता हत्याउने खेलमा उसको रुचि र  चासो  देखिदैन ।
सिङ्गो देशको सन्दर्भमा नेपालको संविधान, २०७२ को परिकल्पनालाई साकार पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै थप समुन्नत तुल्याउन, दिगो शान्ति र उच्च आर्थिक विकासको प्रत्याभूति गर्न, चुच्चे नक्शाले चर्चेको भूभाग ससम्मान फिर्ता ल्याउन, प्रबुद्धवर्गले उहिले नै  तयार गरेको इपीजी–प्रतिवेदन ग्रहण गर्न र गराउन लगाउन, प्रतिवेदनमा  उल्लिखित तथ्यहरुलाई प्राथमिकताका आधारमा व्यवहारमा कार्यान्वयन गर्न, प्रतिवर्ष श्रम बजारमा आउने युवाहरुलाई यथासक्य स्वदेशभित्रै उपयुक्त रोजगारीको अवसर सिर्जना गर्न, महिलाहरुको सम्पत्तिमा हक स्थापित गर्न, छिमेकी राष्ट्रसँगको सम्बन्धलाई पञ्चशीलको सिद्धान्तको मर्म र भावना अनुरुप समानताको आधारमा सुदृढ तुल्याउन, सुशासनको प्रत्याभूति गराउन, आर्थिक कुटनीतिलाई साँचो अर्थमा प्रभावकारी बनाई समृद्धिको खाका कोर्न, विश्व राजनीतिक मञ्चमा नेपाल र नेपालीको सानदार उपस्थिति गराउन, आर्थिक अनियमितता समूल नष्ट गराउँदै न्याय, समानतामा आधारित समृद्ध, सभ्य, सुशिक्षित, सक्षम र सम्पन्न देश÷प्रदेश÷समाज निर्माण गर्न, नेपालको वास्तविक आवश्यकताको प्रतिबिम्बन गर्ने घोषणापत्रमा उल्लिखित कार्यक्रमको इमान्दारितापूर्वक कार्यान्वयनको लागि तत्काललाई ने.क.पा. एमालेको विकल्प देखिदैन । महिला सहभागिता, युवा सक्रियता, र समावेशिता, मेची–काली, तराई–हिमाल सबैसबै स्थानमा व्यापक फैलावटमा पनि ने.क.पा. एमालेलाई अन्यले उछिन्न सकेको देखिदैन । यस सत्यतर्फ आम सचेत मतदाताहरुको ध्यान जानु जरुरी छ ।
वि.सं. २०७४ को पहिलो प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा यहाँहरुको अमूल्य मतले ने.क.पा. एमालेको ताकतमा निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभामा जनप्रतिनिधिले काभ्रेको समग्र विकासको पक्षमा गरेका अनगिन्ति कार्यहरु सबै काभ्रेलीहरुको मानसपटलमा ताजै छन् । यही अवधिमा नै सबैतिर समानरुपले फैलिएर काभ्रेमा विकासको ठूलो बाढी आएको हो । जन्मभूमि र मतदाताप्रति जवाफदेही हुने असल जनप्रतिनिधिमा इच्छाशक्ति भएमा धेरैथोक गर्न सक्दो रहेछ भन्ने दृष्टान्त पनि हो यो ।  यही कारणले गर्दा गोकुल प्रसाद बाँस्कोटा ने.क.पा. एमाले समर्थककाबीच मात्र नभएर एमाले इतर तर काभ्रेको शीघ्र समृद्धिको पक्षधर सबैको  प्रिय  छन् ।  यो पटक पनि ऊनी अन्य सहयोद्धाहरु (रेशम लामा–प्रतिनिधि सभा क्षेत्र १, प्रदेश सभा क्षेत्र १ क– दिलिप लामा, क्षेत्र १–ख चन्द्र लामा, प्रदेश सभा क्षेत्र २– क कुमार  खकुरेल,  क्षेत्र २–ख कुमार थापा) सँगै काभ्रेलाई समृद्ध, सम्पन्न, सुशिक्षित, संस्कारित र विकसित बनाउने अर्जुन दृष्टिकासाथ निर्वाचन मैदानमा उत्रिएका छन् । दलीय प्रणालीमा व्यक्ति उम्मेदवारहरु केवल प्रतिनिधिपात्र मात्र हुन । वास्तविक उम्मेदार त दल नै हो । यसर्थ, प्रारम्भ भैसकेका र शुरु हुन बाँकी दीर्घकालीन महत्वका विकासात्मक कार्यहरुलाई अविच्छिन्नतवरले सुचारु राख्न, समग्र जिल्लाको सन्तुलित विकासको अभियानलाई तीव्रता दिन, कम्तिमा पनि एक पालिका, एक विशेषता पहिचान गरि त्यसमा विशिष्ठता हासिल गर्न, केन्द्रीय राजनीतिमा काभ्रेको अझ प्रभावकारी र सशक्त उपस्थिति जनाउन, जनप्रतिनिधि चयन गर्न काभ्रेका जनता पनि सचेत छन् भनी देशदेशावरमा सुसन्देश प्रवाह गर्न, सर्वसुविधासहित संघीय राजधानी काठमाडौ उपत्यकाको वैकल्पिक स्थानको रुपमा काभ्रेलाई उभ्याएर यसको गरिमा बढाउन, काभ्रेलाई औद्योगिक, व्यावसायिक, शैक्षिक, धार्मिक, पर्यटकीय, स्वास्थोपचारको ख्यातिप्राप्त केन्द्रको रुपमा विकसित गर्न, स्थानीय तह, प्रदेश र संघको समुचित समन्वय, अन्र्तक्रिर्या र सहकार्यमार्फत अधिकाधिक समृद्धि सम्बद्ध परियोजनाहरुको सुसञ्चालनका लागि यो पटक पनि आम काभ्रेलीहरुले प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ ने.क.पा. एमालेका उम्मेदवारहरुको पक्षमा सूर्य चिन्हमा मतदान गरेर काभ्रेको समृद्धिको पक्षमा उभिनु पर्छ । ने. क.पा. एमाले र यसका काभ्रेली उम्मेदवारप्रति कुनै गुनासा र भन्नुपर्ने विषय छन् भने त्यसतर्फ पनि खबरदारी गर्दै, जनताको विश्वासमा किञ्चित तलमाथि नगर्न र कस्तै अवस्थामा पनि काभ्रेप्रति अन्याय नगर्ने प्रण गराउँदै र गरेमा नसहने कडा खबरदारीसहित यो पटक काभ्रेलीको मत सूर्य चिन्हकै पक्षमा खसाल्नेतर्फ सबैले अधिकतम पहल गर्नुपरेको छ ।
आफू र आफ्नो परिवारको मात्र नभएर सिङ्गो समाज र देशको भविष्यमा नै ठूलो असर पार्ने दानहरुमध्येको महादान  मतदान  हो । अतः वर्तमान अवस्थामा नेपाल र अझ काभ्रेको सम्बन्धमा ने.क.पा. एमालेको अर्को कुनै उपयुक्त विकल्प नभएको सत्यलाई आत्मासात् गर्दै जन्मभूमि काभ्रेको भविष्य चम्काउन, काभ्रेलीहरु पनि झुट र सत्य, जायज र नाजयजको सहीसही पर्ख गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न होसियारपूर्वक जिम्मेवार मतदाता भएर आफ्नो अमूल्य मत निर्धक्क भएर सूर्यचिन्हमा मतदान गर्नुको अर्को विकल्प देखिँदैन । सूर्य चिन्हमा मतदान नै काभ्रेको समग्र समृद्धि, सम्पन्नता र सानको पक्षधरता हो । उपर्युक्त सत्यलाई मनन गरेर आम काभ्रेली मतदाताले आफ्नो अमूल्य मत सूर्य चिन्हमा प्रदान गरि काभ्रेको भविष्य सुन्दर तुल्याउने अभियानमा सामेल भएर आफू स्वयम् र समग्र काभ्रेप्रति न्याय गर्न सक्नुपर्छ । (थापा नेपाल बुद्धिजीवी परिषद्, बागमती प्रदेशका सदस्य हुन्।)