– केशव थापा
नेपाली कम्युनिष्ट आन्दोलनको मात्र नभएर नेपालको राजनीतिको मूलधार र नेतृत्वदायी शक्तिको रुपमा उदाउँदो पार्टी नेकपा एमालेले २०७९ साउन एकदेखि भदौ २० सम्मको अवधिलाई ‘सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण’ अभियानको रुपमा अघि बढाएको छ । पार्टीले यस अवधिमा सबै तहका कमिटीहरुले कार्ययोजनासहित सार्थक बैठकको आयोजना गर्ने, गठन गर्न बाँकी कमिटीहरु गठन गर्न र गठन भएर पनि पार्टी काममा ध्यान नदिने र विवादास्पद कमिटीहरु पुनर्गठन गर्ने कामलाई प्राथमिकतामा राख्न भनेको छ ।
कम्युनिष्ट पार्टीको ताकत र शक्ति भनेकै पार्टीप्रति बफादार सदस्य भएकोले पार्टी सदस्यता वितरण झै सदस्यता नवीकरणको कामलाई पनि उच्च महत्व दिन भनिएको छ । कम्युनिष्ट पार्टीको सदस्यता प्राप्ति र सोको बिनाकैफियत नवीकरण प्रत्येक पार्टी सदस्ययको लागि गौरवको विषय भएकोले सदस्यता नवीकरणका लागि सदस्य स्वयम्लाई बढी जिम्मेवार तुल्याउन खोजिएको छ । पार्टी लगायत सबै जनसङ्गठनका सबै तहका कमिटीमा तोकिए बमोजिमका सहभागी हुने गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न भनिएको छ । बदलिदो राष्ट्रिय÷अन्तर्राष्ट्रिय घटनाक्रम, फेरिदो राजनीतिक घटनाक्रम र त्यसको प्रभावबारे सही जानकारी हासिल गर्न, सोसम्बन्धमा पार्टीको स्पष्ट र आधिकारिक दृष्टिकोण थाहा पाउँन, कार्यकर्ताहरुलाई पुनर्ताजगी र जोशजाँगरसहित पार्टी काममा खट्ने उर्जावान तुल्याउन प्रशिक्षण, अन्तक्र्रिया र कार्यशालाजस्ता कार्यक्रमको अहं महत्व हुने भएकोले नै पार्टीले यस किसिमको कार्यक्रम आयोजनाको प्रस्ताव गरेको हो । दोहोरो संवाद तथा घनिभूत अन्तक्र्रियाबाट यस अवसरलाई अधिक उपयोगी बनाउने विषयमा आयोजक कमिटीहरु नै विशेष सजग हुनुपर्छ । सहभागीको सक्रिय सहभागिताबिनाको प्रशिक्षण केवल आमसभा जस्तो मात्र हुने संभावना रहन्छ । सुदृढीकरण अभियानको क्रममा जननिर्वाचित प्रतिनिधिहरुका लागि प्रभावकारी भूमिका निभाउन सक्ने गरी पालिकास्तरमा प्रशिक्षण कार्यक्रमको आयोजना गर्न पनि भनिएको छ । जनताको बहुदलीय जनवादको आलोकमा नेपाली जनताबीच लोकप्रिय बन्दै सर्वाेत्कृष्ट पार्टी बन्न पार्टीलाई जनापेक्षा अनुरुपको शीघ्र, गुणस्तरीय र निष्पक्ष सेवा प्रवाह गर्न सक्षम तुल्याउनको लागि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, २०७२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, संघ तथा प्रदेशबाट तर्जुमा भएको संबन्धित ऐन, कानून, स्थानीय पालिकाहरुले तर्जुमा गरेका ऐन, नियम, विनियम, कार्यविधि एवं मापदण्ड, पार्टीले जारी गरेको घोषणा–पत्र, राष्ट्रिय÷अन्तर्राष्ट्रिय प्रचलन र स्थानीय विशेषता तथा आवश्यकताको आधारमा संबन्धित विषयका विज्ञहरुबाट प्रभावकारी प्रशिक्षण कार्यक्रम आयोजनाको चाँजोपाँजो मिलाइनु पर्छ । निर्वाचित जनप्रतिनिधिको काम, कार्वाही तथा आचरण, व्यवहारले जनसमुदायको पार्टीप्रतिको आकर्षण बढ्ने वा घट्ने भएको हुँदा निर्वाचित जनप्रतिनिधिहरुलाई नियमित प्रशिक्षणको आवश्यकता बोध गराइरहनु पर्छ । पार्टीले निर्देशन ग¥यो भनेर केवल एकपटक गर्नको लागि गर्नलाई मात्र नभएर यसलाई गर्नैपर्ने अनिवार्य कामको रुपमा ग्रहण गरेर नियमितरुपमा प्रशिक्षण कार्यक्रमलाई सुचारु राख्न सकियो भने एकातर्फ संसदीय फाँट र पार्टीबीच उत्पन्न हुने अन्तद्र्वन्द्व स्वतः घटेर जान्छ भने अर्कातर्फ स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्यक्षमतामा अभिवृद्धि भै जनमानसमा पार्टीको साख अझै बढेर भावी दिनमा पनि विजयको सुनिश्चितताको प्रत्याभूति हुन्छ । नियमित प्रशिक्षित जनप्रतिनिधीहरुमा पनि आफू शासक नभएर पार्टीको प्रतिनिधिको रुपमा जनसेवाको निमित्त खटेको सिपाही भन्ने भावनाको बोध हुन्छ । नियमित प्रशिक्षणबिना जनप्रतिनिधिहरुलाई पार्टीले अपेक्षा गरे अनुसार आर्थिक विकास र सामाजिक रुपान्तरणको वाहककोरुपमा स्थापित गर्न निकै कठिन हुन्छ ।
शुद्धिकरण र सुदृढीकरण कार्यक्रमले पालिकास्तरमा ‘अग्रजहरुबाट सिकौं र अग्रजहरुलाई सम्मान गरौं’ भन्ने कार्यक्रम आयोजना गर्न भनेको छ । वि.सं. २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको निरन्तरता मानिएको नेकपा एमाले बिना आरोहावरोह चमात्कारिकढङ्गले एकैरातमा यस्तो अवस्थामा आइपुगेको होइन । यसलाई फलाउन फूलाउन केन्द्रदेखि स्थानीयस्तरसम्म हजारौं, लाखौं अग्रजहरुले त्याग, तपस्या र वलिदान गर्नुभएको छ । अहिलेको गौरवयोग्य सुखद् वर्तमान अग्रजहरुको विगतको जोखिमयुक्त कठिन कर्मको परिणाम हो । विभिन्न कालखण्डमा निरङ्कुशता विरोधी आन्दोलनमा वामपन्थी लगायतको कित्तामा दृढरुपले उभिएर योगदान गर्ने अग्रजहरुको सम्मान गर्ने कृतज्ञसंस्कृतिको थालनीले स्थानीयस्तरमा पार्टीकामलाई अझ चुस्तदुरुस्त र लोकप्रिय बनाउन ठूलो मद्दत गर्छ । यसर्थ, निमित्त पार्टीले अगाडि सारेको दीर्घकालीन महत्वको यस कामलाई हरेक पालिका कमिटीहरुले उत्साहपूर्ण तवरले भव्यताकासाथ सम्पन्न गरेर माथिल्लो कमिटीलाई रिपोर्टिङ्ग गर्नुपर्छ । यो एकपटक मात्र गरेर पुग्ने काम नभएकोले संबन्धित पार्टी कमिटीले विगतमा योगदान गर्ने अग्रजहरुको खोजबिन गरी यस कामलाई पार्टीले नियमितरुपले आयोजना गर्ने महत्वपूर्ण कामको रुपमा प्राथमिकतामा राख्नुपर्छ । यसो गर्न सकियो भने निरन्तरताको कडी अटुट रही जनविश्वास र साथले पार्टी अझ सुदृढ बन्न सक्छ ।
नेकपा एमालेले पालिका तहमा बुद्धिजीवी र विषयविज्ञहरुको एमालेप्रतिको आलोचना, सुझाव र टिप्पणी (आसुटी) थाहा पाउन औपचारिक कार्यक्रम आयोजना गर्न पनि निर्देशन गरेको छ । नेकपा एमालेको शक्तिको मूलस्रोत नेपाली जनता नै हुन । जनतासँगको घनिष्ट सम्बन्धबिना जनताको वहुदलीय जनवादले परिकल्पना गरे अनुसारको शान्तिपूर्णतवरले वहुदलीय प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्न सकिदैन । श्रेष्ठताको निमित्त न्यूनताको बेलैमा पहिचान गरेर चुनौतीलाई अवसरमा बदल्न सक्नुपर्छ । पार्टीका शुभचिन्तक, बुद्धिजीवी र विषयविज्ञहरुबाट आवश्यक पृष्ठपोषण प्राप्त गरेर मात्र यो काम ठीकढङ्गले गर्न सकिन्छ । सर्वसाधारणको पार्टीप्रतिको दृष्टिकोण, जनसाधरणले पार्टीप्रति बनाएको धारणाको बेलैमा जानकारी प्राप्त गरी आवश्यकता अनुसार आफूलाई सुधार गर्न वा सर्वसाधरणलाई सार्वजनिक अपिलमार्फत समयमै सत्यतथ्य जानकारी दिन आलोचना, सुझाव र टिप्पणीसम्बन्धमा अवगत हुनु अत्यावश्यक हुन्छ । हरदम जनताबाट सिक्दै जनताका लागि खट्ने कम्युनिष्ट पार्टीका कमिटीहरुले प्रतिनिधि पात्रहरुबाट नियमितरुपले आसुटी प्राप्त गर्ने कामलाई उच्च महत्व दिनैपर्छ । सुदृढीकरण अभियानको मर्म र भावना अनुरुप सबै तहका कमिटीहरुले अनुचित तवरले नभई पार्टीले औंल्याए बमोजिमका स्रोतहरुबाट आय प्राप्त गरी कमिटीको आर्थिक अवस्थालाई सुदृढ र खर्चलाई सकेसम्म फारो गर्दै आम्दानी–खर्चलाई दोहोरो लेखामान अनुसार लेखाङ्कन गरी आवधिकरुपले लेखापरीक्षण गरी सोको जानकारी माथिल्लो कमिटीलाई दिने प्रणाली बसाल्नुपर्छ । अव्यवस्थित लेखा अहिले अधिकांश कमिटीहरुको टड्कारो समस्या हो । यसलाई माथिल्लो कमिटी तथा संबन्धित कमिटीका लागि तोकिएका इञ्चार्जहरुले गम्भीरतापूर्वक लिई अद्यावधिकताको लागि सक्रिय पहल गर्नुपर्ने देखिन्छ ।
विधानतः स्वायत्त प्रतीत भएपनि पार्टी सम्बद्ध जनवर्गीय सङ्गठनहरुले त्यसलाई सापेक्षतामा मात्र ग्रहण गरेर तोकिएको विशिष्ट जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै पार्टीलाई न्युक्लियसको रुपमा ग्रहण गर्दै संवैधानिक, शान्तिपूर्ण र लोकतान्त्रिक प्रतिष्पर्धाको माध्यमबाट जबजको कार्यक्रम लागू गर्दै राष्ट्रिय पूँजीको विकास गर्ने र समाजवादको आधार निर्माणको कार्यदिशामा उत्प्रेरक शक्तिको भूमिका निर्वाह गरेर पार्टीको महाअभियानमा सहयोग गर्नुपर्छ । नेकपा एमालेले हमेशा आफूलाई नेपाली जनताको सेवककोरुपमा प्रस्तुत गरेको छ । नेपाली जनताको अपेक्षा र आकाङ्क्षामा पार्टीलाई खरो उतार्ने प्रयास गर्दै आइरहेको छ । यसैको महत्वपूर्ण कडीको रुपमा सङ्गठन सुदृढीकरण र शुद्धीकरणको महाअभियान अघि सारिएको हो । यस्ता कार्यक्रमले समाजका विभिन्न तप्कालाई पार्टीप्रति आकर्षित गर्दै सर्वहारा श्रमजीवी वर्गको पक्षधरतालाई अक्षुण्ण राख्दै वहुदलीय प्रतिष्पर्धामा श्रेष्ठता हासिल गर्ने काममा कुशलता प्रदान गर्दछ । यहीनेर क.माओत्सेतुङ्गले औंल्याएझै शुद्धीकरण र सुदृढीकरण कार्यक्रमलाई सार्थक र उपलब्धीमूलक बनाउन पार्टीभित्र ध्वंस र विग्रह ननिम्तने गरी कमी÷कमजोरीलाई सच्याएर उत्साहले एकमन एकएकताकासाथ देश र जनताको पक्षमा कार्यकर्ताको पङ्क्ति तयार गर्न सबै तहका पार्टीहरुले आलोचना र आत्मालोचनाका ढोका सदा खुला राख्न सक्नुपर्छ । कार्यकर्ताको पङ्क्ति विशाल भैसकेको नेता÷कार्यकर्ताहरुको चेतनास्तर पनि बढेको सन्दर्भमा वहाँहरुले स्वयम् महशुस गरेर आफ्ना कमीकमजोरी वा न्यूनतालाई स्व–मूल्याङ्कनको माध्यमबाट सुधार गरेर पार्टीको अभियानलाई सहयोग गर्नुपर्छ । निरन्तर शुद्धीकरणबिना जनापेक्षा अनुरुपको कम्युनिष्ट नेता÷कार्यकर्ता बन्न सकिन्न । शुद्धीकरण र सुदृढीकरण कार्यक्रमलाई सार्थक तुल्याउन र टुसाउन खोजेको विकृति, विसङ्गतीलाई नियन्त्रण गर्न व्यवस्थित र वैज्ञानिक मूल्याङ्कन प्रणालीको अविलम्ब कार्यान्वयनको खाँचो देखिन्छ । आशा गरौं, पार्टीको यो राम्रो अभियानलाई अर्काे अझ उत्कृष्ट अभियानले पछ्याउँनेछ र यस्तो अभियान एकपछि अर्काे निरन्तर चलिरहनेछ । (श्री थापा नेकपा एमाले जिल्ला सल्लाहकार परिषद्, काभ्रेका सदस्य हुनुहुन्छ ।)





