भुपेन्द्र थापा (माधव)
कम्युनिष्ट पार्टी २००६ सालमा गठन भए यता नेकपा देखि नेकपा सम्मको विभाजन चरम अवसरवाद र ढुलमुले परस्तवाद नै मुख्य कारण हो । यसले नेपाली कम्युनिष्ट आन्दोलन विभिन्न समुहमा विभाजित हुन पुगेको छ । ठक्कर खान्छ, पहाडमा रिस फेछर्, घरको सिलौटोसँग झै भएको सिंगो कम्युनिष्ट आन्दोलनको इतिहास । ‘चकचके गोरुको चार ठाउँमा डाम ठूलो माछो लड्यो मिलेर खाम’ भनेझै केहि फरक हुन सकेन । सामान्यतया कम्युनिष्ट पार्टी भनेको विपरीतहरुको एकत्वमा नै हुने गर्दछ । यो विज्ञान सम्मत पनि छ ।
पार्टीलाई जीवन्त राखिराख्नको लागि अन्र्तसंघर्ष अनिवार्य हुन्छ । यसले सहि कार्यदिशा मार्फत समाज अनि सिँगो युगको सापेक्षित गुणात्मकसँगै परिणाममुखी संघर्षको लाइनलाई निर्देशित गर्ने गर्दछ । नेपालका कम्युनिष्ट पार्टीहरुमा रणनैतिक कार्यदिशामा एकरुपता भएता पनि कार्यनीतिक उद्देश्यमा भने ठूलै मत भिन्नताको खाडल देख्न सकिन्छ । खुस्चेभी संसोधनवादी कार्यदिशाका कारण सिंगो सोभियत संघ कम्युनिष्ट कार्यादिशाको कारण महा–विवादमा फस्न पुग्यो । चीनमा माओको मृत्युपछि देङ्स्यावपिङको सुधारवादी नीतिका कारण लेनिनले स्थापना गरेको पूर्वी युरोपका समाजवादी सत्ताहरु गल्र्याम–गुर्लुम ढल्न पुग्यो । त्यसको प्रतिफलस्वरुप विश्वभरी नै कम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितीमा पुग्न बाध्य भयो । विश्वभरी नै कम्युनिष्ट आन्दोलनमा नसोचेको धक्का लाग्दा नेपालमा पनि कम्युनिष्ट आन्दोलन भित्र सैद्धान्तिक र व्यवहारिक कुरामा भन्दा पनि फगत कार्यदिशाको सवालले रुमलिन पुग्यो । नेपाल जस्तो पछौटे अर्थनीति वर्ग विभेद, जातिविभेद, क्षेत्रिय विभेद र लंैगिक विभेद भएको समाजमा नेतृत्वले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्दा त्यसले विभेदपूर्ण समाजभित्र कम्युनिष्ट आन्दोलनको वस्तुगत अवस्था अनुकूल हुन सकेन । अतःसर्वहारा वर्गको अघिनायकत्व सहितको राज्य व्यवस्था कम्युनिष्टहरुको आधारभूत सिद्धान्त मान्ने गरिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न कालखण्डमा त्यसका लागि आम शोषित पीडित जनताको तहबाट पहल र संघर्ष भने नभएका होइनन् । २००३ सालको विराटनगरको मजदुर आन्दोलनले २००७ सालको प्रजातन्त्र स्थापना भयो । पाल्पा, रौतहट, वारा, सर्लाही, प्यूठान, काठमाडांै र कन्चनपुर लगायतका जिल्लाहरुमा भएका किसान आन्दोलनले गरेका संघर्ष जाली तमसुक च्यात्ने, चक्रबृद्धि व्याज विरुद्धको संघर्ष जसको जोत उसको पोत, मोहियानी हक, जमिनको हदबन्दी लगायतका संघर्ष भएभने अर्को सुदरपश्चिममा भिमदत्त पन्थको नेतृत्वमा जमिनदारसँगै भारतीय हस्तक्षेपका विरुद्ध समेत आन्दोलन केन्द्रित भयो । २०१७ सालमा राजा महेन्द्रको प्रजातन्त्र अपहण विरुद्धको सघर्ष २०२८ सालमा सामन्त विरुद्ध किसान माथिको दमन विरुद्ध आन्दोलन सृजना भएको थियो । यसको सुरुवात पञ्चायती तानाशाही व्यवस्थाप्रतिको वैचारिक असहमतिका विरुद्ध यसले सशस्त्र संघर्षको पक्षपोषण गरेको थियो । २००७ सालदेखिको राजनीतिक इतिहासमा नेपालका मजदुर, किसान र आम शोषित, पीडित, सर्वहारावर्गले नेपालको कम्युनिष्ट पार्टीहरुको आव्हानलाई सहयोग, समर्थन गर्दै आएका छन् । हरेक परिवर्तनका आन्दोलनहरुमा त्यो वर्गको अंहम् भूमिका रहँदै आएको छ । २०३६ सालको बहुदल र निर्दल विचको जनमत संग्रह २०४६ सालको निरंकुश राजतन्त्रात्मक निर्दलीय पञ्चायति व्यवस्थाको विरुद्ध २०१७ सालमा खोसिएको प्रजातन्त्र पुर्नवहाल गर्ने सवालमा नेपाली जनताले संघर्षको आँधिवेरी मार्फत प्रजातन्त्र ल्याउन सफल भएका थिए । ०५२ साल फागुण १ गतेबाट सुरु भएको तत्कालिन नेकपा माओवादीको नेतृत्वमा जनयुद्ध सुरुवात देखि २०६३ मंसीर ५ गतेसम्म भएको १० वर्षे कठिन सशस्त्र संघर्षमा मुक्ति या मुत्युको कसम खाएर व्यवस्था परिर्वतन संघर्षमा होमिएका थिए । त्यसले माओवादी जनयुद्ध र ०६२÷०६३ को जनक्रान्तिको बलबाट नेपालमा २४० वर्षे राजतन्त्रको विधिवत् रुपमा अवसान हुन पुग्यो । जसको कारण लोकतान्त्रिक गणतन्त्र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशी सहित नयाँ संविधान जारी भयो । जनताको रगत र पसिनाको बलमा पटक पटक व्यवस्था त परिवर्तन भयो । तर अवस्था भने जहाँको तँहिबाट अगाडि वढ्न नसकेको अनुभुति हुन्छ । असमानता कतै घटे जस्तो लाग्दैन । बेरोजगार युवालाई नेपाली माटोमा रमाउन सकिने व्यवस्था अझैआए जस्तो लाग्दैन । हाम्रो बारीमा फलेको फल परदेशी गिद्धले टपाटप टिप्दा पनि एउटा झटारो समेत हान्न सकिए जस्तो लाग्दैन । हाम्रो सिमानाको सिमा स्तम्भ छिमेकीको छाडा साँढेले उखेलेर फ्याँकी दिदा खोजेर ल्याउन पनि सकिए जस्तो लाग्दैन । परिवर्तन कहाँ भयो ? कस्का लागि भयो ? अनुभूतिमा र व्यवहारमा कहि कतै देख्न पाइएको छैन । स्वाधीनता र सर्वभौमसत्ताको थरीथरी मसानघाटको खरानी घसेर नयाँ पुराना अधोरीहरु हातमा कमण्डलु बोकेर सत्ताको भिख माग्न छिमेकीका दैलो–दैलोमा मात्र धाउने गरेको मात्र देखिन्छ । लोकतान्त्रिक प्रणालीमा पार्टीहरु पद र पैसामा विक्रि हुन सक्दैनन् । अझ भन्ने हो भने लेनिनवादी संगठनमा त यस्तो कल्पना पनि गर्न सकिदैन । किन कि यो अन्य दक्षिणपन्थी पार्टीहरु भन्दा नितान्त फरक हुन्छन् । र, कम्युनिष्ट पार्टी पैसाको बलमा र पदको लोभ भन्दा पनि विचार, सिद्धान्त र आदर्शको बलमा निर्माण हुने गर्दछन् । के नेपालका कम्युनिष्ट पार्टी यो मुल्य मान्यता र आर्दशको जगमा उभिन सकेको छ ? राष्ट्रको नेतृत्व गर्ने नेतृत्वमा पाँच गुणहरु अनिवार्य जरुरी हुन्छ । जस्तै इमान्दारीता, निडरता, आदर्शता, वास्तविकता र बौद्धिकता तर हामीले हुर्काएको नेतृत्व त्यसको ठिक उल्टो छ । जस्तै बेइमानी, ढुलमुले, सत्तालिप्त, शंखास्पद, अज्ञानीसँगै भ्रष्टतामा लिप्त छ । यसले नेपाली कम्युनिष्ट आन्दोलनको गरिमा गिर्दै गएको छ । इतिहासलाई सीमिततामा कुज्याएर हिजोका उपलब्धीलाई भजाएर मिटरव्याज मात्र खाने राजनीतिक गिरोहले कम्युनिष्ट आन्दोलनको नै बदनाम गरिरहेको छ । कम्युनिष्ट पार्टी भित्र वैचारिक कार्यनीति र संगठनात्मक, अकर्मन्यता तथा तत्कालिन भु–राजनीति प्रति मतभिन्नता, व्यापक व्यवस्थापनमा समस्या, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न सुशासन र डेलिभेरीका मुद्दाप्रति वेवास्ता लगायत समस्याहरुबाट समग्र कम्युनिष्ट आन्दोलन गुज्रिन परेको यथार्थ हाम्रो सामु छलङ्ग छ । यो सबै नेतृत्वको क्रियाकलापप्रति नयाँ पुस्ता असन्तुष्ट छ । नयाँ पुस्ताले नेतृत्वलाई मोनोपोलीका रुपमा बुझेको छ । अब यसलाई नयाँ पुस्ताले जरैबाट उखेलेर फ्याँक्न सक्नुपर्दछ । नकचरोको ओखती नै छैन हजारौं मानिसहरुको रगत र पसिनाबाट उपलब्ध भएको यो व्यवस्था अवैधानिक शिशुझै भएको छ । न त मार्न र फ्याँक्न सकिन्छ न त हुर्काउनै सकिने देखिन्छ । यो व्यवस्था यहि नेतृत्वबाट टिकाउन खोज्नु भनेको ढुंगा टुसाउनु र उन्यू फुल्नु एकैझै हुनेछ । नेपालका कम्युनिष्ट पार्टीहरु भित्र मतभिन्नता दार्शनिक वा विचारधारात्मकमा भन्दा पनि राजनीतिक कार्यदिशा कार्यनीतिक र खास खास एजेण्डाको मतभिन्नता मात्र हो । भन्ने एउटा गर्ने अर्को जस्ता पाखण्डी चरित्र प्रदर्शनमा लगभग यी विभाजित समुहहरु उस्तैउस्तै छन् । टपरी माझेर चोख्याउनु र यिनीहरु सुध्रिनु एउटै हो । अर्थात व्यवहारवादी र जडसुत्रीय अवसरवाद कम्युनिष्ट पार्टीको नेतृत्वहरुको साझा चरित्र नै भैसक्यो । दक्षिणपन्थी संसोधनवादसँंग कुम जोडेर उदारवादको हात समाएर वैज्ञानिक समाजवाद वा २१ औं शताव्दीको समाजवादको शिखरमा पुग्ने खुराफाती आश्वासनको पर्दाफास हुन जरुरी छ । झुकेको शिर र भत्केको भिर प्रति कसैको आश हुँदैन । ऐतिहासिक झापा विद्रोहबाट अगाडी बढेको माले हुँदै एमाले बन्ने क्रमसँगै वर्ग उत्थानका श्रृंखला वढ्दै जाँदा विश्वव्यापी दृष्टीकोण र नेपाली समाजमा रुपान्तरण हुन नसक्दा कम्युनिष्ट पार्टीहरु दक्षिणपन्थी संसोधनवादको कुवाटोमा अल्मलिन पुग्यो । यो ढुलमुले प्रतिक्रियावादमा पतन मात्र भएन की प्रतिक्रियावादी संचालनको महामहिम मालिक समेत हुनपुग्यो । १० वर्षे जनयुद्धको नेतृत्व गरेर आएको तत्कालीन नेकपा (माओवादी) को मुख्य नेतृत्वमा पनि विश्वव्यापी दृष्टिकोण उहि माले एमालेको निरन्तरताको भन्दा खासै फरक देख्न सकिएन । मालेमावादको आधारभूत सिद्धान्त र नेपाली सर्वहारा वर्गको मुक्तिको मूल्य मान्यतालाई दरोसँग पक्रिने भन्दा पनि नवसंशोधनवादको उहि मुलबाटो हुँदै विजातीय दक्षिणपन्थी संशोधनवादको तत्वमा विलय हुन पुग्दा घोर प्रतिक्रियावादीको खेल्ने खेलौनाझै हुन पुगेको जस्तो देखा पर्न गयो । यसले नेपाली क्रान्ति र आम सर्वहाराप्रति पुनः गद्दारी हुनपुग्यो । विश्वदृष्टिकोण र नेपाली समाजमा मुख्य अन्र्तविरोधलाई सहि तरिकाले बुभ्mन र आफु रुपान्तरण हुन नसक्दा माओवादी आन्दोलनको रक्तरञ्जित इतिहासको बलबाट नेपालमा समान्तवादको पर्खाल त भत्कीयो तर दक्षिणपन्थी संशोधनवादको नयाँ रुपमा उदय भयो । यो एतिहासिक उपलब्धीलाई मास्न अनेकौ नामधारी दक्षिणपन्थी र यथास्थितिवादी शक्तिहरु कम्मर कसेर लागेका छन् । यसको रक्षा गर्न मुख्य कम्युनिष्ट पार्टी र समाजवादी शक्तिहरु एकै ठाउँमा उभिन जरुरी हुन्छ । विभाजित तत्कालिन नेकपाका वहुमत सचिवालय सदस्यहरुले समाजवादी केन्द्र निर्माणको कसरत गरिरहेका छन् । यो स्वागत योग्य छ । जनताले लडेर ल्याएको यो व्यवस्था जोगाउन नसके नेपाली कम्युनिष्ट आन्दोलनको झाल झै काटिने निश्चित छ । झाल रहे मात्र चिचिला लाग्छ । अन्यथा आउने परिणामको सामना गर्ने हैसियत मासिएर जानेछ । समाजवादी केन्द्रको छाँयामा सिंगो कम्युनिष्ट आन्दोलनको मर्म र भावना जीवित रहने गरी समाजवादी केन्द्र निर्माणको शुभकामना छ । आजको नेपाली समाज चेतनाले सुसजित भएको छ । ढाँट, छल, कपट धँुवाको पर्दा झै हुनेछ । चेतना होस् ।





