2026 April 21/ 05:43: 13pm

–    जयदेश श्रेष्ठ
राजनीतिक तरङ्ग अहिले राम कुमारी झाँक्री मन्त्री पद गुमाउनु पर्दाको रोदन सामाजिक सञ्जालभरी व्याप्त छ । क्षणिक परिस्थितिलाई नजर अन्दाज गरी झाँक्रीले आफुलाई सम्हाल्न नसक्दा, मन्त्री फिर्ता भएकोमा भन्दा उनको रोदनको बिषयमा ब्यापक टिका टिप्पणी भएको छ । राम कुमारी झाँक्री मन्त्री भएको कार्यकाल, सफल र असफल भनेर उनको कामको मूल्याङ्कन र व्यक्तिगत योग्यताको लेखाजोखा र शहरी विकास मन्त्रालयको कार्य प्रगतिको समीक्षा गर्ने अवस्था पनि बनेको छैन । पार्टीको निर्देशनमा ६ महिने मन्त्रीहरूको फेर बदल पार्टी भित्रको आन्तरिक कलहलाई लिएर पत्रकार सम्मेलनमा झाँक्रीको रोदनले नेपालको मन्त्री पद माथी नै प्रश्न उठेको छ । मन्त्री पद कसको लागी र किन ? देश र जनताले सरोकार नराखेको मन्त्री हेरफेरमा राम कुमारी झाँक्री मन्त्री पद गुमाउँदा सामाजिक सञ्जाल तताउने गरी किन रोइन् ?
पत्रकार सम्मेलन गरी मन्त्री पदको जवाफ देही हुन तत्पर राम कुमारी झाँक्रीले पत्रकारहरू मार्फत उनी माथी पेचिलो प्रश्न बर्सियोस् र उनले आक्रमक शैलीमा आफ्नो रोष प्रकट गरौंला भनेर तम्सिएको झाँक्री पत्रकार माझ मन्त्री पद गुमाउनु परेको अवस्थामा निरिह भावुक बनेर आँखाबाट आँसु झारी रहिन् ! यही समाचारको प्रतिक्रिया जनस्तरबाट फेसबुक भरी व्यापक आलोचनाका पोष्टहरू छाएको देखिन्छ । एक जुझारु युवा नेतृ जसले पदलाई भन्दा आफ्नो राजनीतिक जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने थियो । आफ्नो लागी पद होईन । काम कामको लागि पद हो । काम गर्न सक्नेलाई पद दिनु पर्दछ भन्ने आवाज उनले उठाउन सकिनन् । वास्तवमा राम कुमारी झाँक्रीको रोदन पद लिप्सा हो की ! देशको लागी आफ्नो जिम्मेवारबाट वञ्चित गरेकोमा आत्मपीडा हो ?
माधव कुमार नेपालको समाजवादी पार्टी कोटाबाट मन्त्री बनेकी झाँक्री पार्टी विभाजन हुँदा मलाई अपमान भयो भन्दै हिड्ने नेपाललाई हात समाई साथ दिने झाँक्रीले त्यो बेलामा ठूलै प्रशंसा पाएकी थिइन् । झाँक्रीले पाएको जिम्मेवारी मन्त्री पद माधव नेपालको उपहार थियो ! देशको दुर्गम जिल्ला गुल्मीमा जन्मिएर विद्यार्थी जीवनमा अखिल नेपालसँग आबद्ध रहेर विद्यार्थी नेताको रूपमा जनआन्दोलनमा होमिएको ईतिहास छ । एमालेबाट चुनाव विजयी भएका राम कुमारी झाँक्री के.पी.ओली कट्टर आलोचकको रुपमा उभिएकी थिईन् । मुखमा पट्टी बाँधेर मन्चमा उभिएकी झाँक्रीले एमाले भित्रको बिद्रोहमा माधव नेपाललाई समाजवादी पार्टी दर्ता गर्न अग्रपंक्तितिमा साथ दिएकी थिईन् ।
सहरी विकास मन्त्रीको जिम्मेवारी दिँदा झाँक्रीले उक्त पद कसरी सम्हाल्ने हुन् ? सबैको चासो बनेको थियो । सुरुमा निकै चर्चा परिचर्चामा रहिन् । सडक अधिक्रमण र सरसफाईमा फिल्डमा उत्रिएकी झाँक्रीले अब सडकमा ढलका ढुकन खुला हुने छैन भनेर उदघोष गरेकी थिईन् । ठेकेदारहरु सँग रिसोर्टमा आरामदायी बिलासी खर्च देखी उनको आकर्षक महलको चर्चा पनि चलेको थियो । भने अहिले काठमाण्डौको मेयरमा बालेन शाह जितेर आए पछि फोहर मेला व्यवस्थापनमा झाँक्रीको सक्रियता बढेको देखिन्छ । काठमाण्डौको फोहर ब्यवस्थाको जिम्मेवारी जस कसले पाउने ? त्यसैले पनि झाँक्रीले मन्त्री पद छोडन चाहेको थिएन । उनले पद मोह छोडन सकिनन् । राजनीतिमा लागेको मान्छेले पद र मर्यादालाई ख्याल राख्न सकिनन् । ६ महिने मन्त्री हुने योजनाले कुनै पनि मन्त्रीहरूको कामको मूल्याङ्कन र ब्यक्तिको योग्यता कार्य शैलीको मूल्याङ्कन हुन सक्दैन । आफ्नो कुर्सी जोगाउको चपेटामा मन्त्रीहरूले स्वतन्त्रपूर्वक काम गर्ने वातावरण बनेको थिएन । माधव नेपालको आफ्नै महत्वकाक्षी योजनाले पार्टीको निर्देशन भनेर आफ्नो मान्छेहरूलाई फेरी फेरी मन्त्री बनाउने देश र जनताको लागि न्यायोचित हो ?
राम कुमारी झाँक्रीको बिदाईमा अरू कोहीले पनि सहानुभूती देखाएन ! तर पनि झाँक्रीको रोदन ! यदि उनले पार्टी भन्दा माथी उठेर देश र जनताको लागी राम्रो काम गरेको भए जनआवाज घन्किने थियो । उनी सँग आँसु झार्ने अरू नागरिक पनि हुने थियो । माकुनेको एकल निर्णयले मन्त्री फिर्ता गर्न सक्दैनथ्यो । वा उनलाई सोही मन्त्रालयमा रहने पार्टीले निर्णय गर्नुपर्ने हुन्थ्यो । यो राम कुमारी झाँक्रीको मात्र समस्या होइन अन्य मन्त्रीहरूले पनि यो निर्णयको परिणाम भोगेको छ । यो निर्णयले समाजवादी पार्टीको अवस्था के हुने हो भोलिको दिनहरूमा देखिने छन् ।
विश्व बजारमा भएको आर्थिक मन्दिको चपेटामा गरिब मुलुकहरुको अर्थतन्त्र धरासयी हुने अवस्था आएको छ । छिमेकी मुलुक श्रीलङ्काले ब्यहोरिरहेको असफल राष्ट्र भयावह स्थितिमा नेपालको आर्थिक स्थिति श्रीलङ्का भन्दा पर छैन । यस्तो अवस्थामा देशले के कसरी हुन्छ आर्थिक मितव्ययीता अपनाउनु पर्ने अवस्थामा मन्त्री हेर फेर राजनीतिक उतार चढावले देशको वर्तमान अवस्थामा देशको राजनीतिक आर्थिक कार्य योजनामा सुधार हुन सक्दैन ।  काम कुरो एकातिर कुम्लो बोक्यो ठिमी तिर राज्य प्रणाली देश विकास भन्दा पनि सरकार जोगाउ कुर्सी बचाउ तिर लागेको हुनाले अहिलेको परिस्थितिले जिम्मेवार राजनीतिक दल नेताहरूको अस्तित्व माथी प्रश्न खडा हुने अवस्था आएको छ ।