वार्षिक रुपमा निरन्तर मनाईने पर्व जात्राहरु प्रायः नेपालको धेरै स्थानहरुमा मनाइने गरिन्छ । जात्रा मनाउने सन्दर्भमा हुदै आएको तथा नयाँ जात्रा चलाई परम्पराको रुपमा स्थापित भएको उदाहरण पनि छन् । हिन्दु समाजमा अन्तको देखासिखी गर्ने, अन्य स्थान तथा टोल शहरमा भएको पर्वहरुको अनुकरण गरी आफ्नो स्थानमा पनि जात्रा चलाएको थुप्रै उदाहरणहरु देख्न पाईन्छ । कुनै ठाउँमा जात्रा नभएको तर हाल नजिकको जात्रा जस्तै मनाई खुशीयालीका साथ आफन्त बोलाउने चलन छ । भक्तपुरको कटुञ्जेमा पहिले जात्रा थिएन तर लगभग ५०–६० वर्षदेखि त्यहाँ सानो रथ बनाई विस्केटको समयमा जात्रा गर्ने गरेको कुरा उल्लेख छ । भक्तपुरकै ताथलीमा पनि पहिले जात्रा थिएन तर आजको समयमा सानो रथ बनाई जात्रा चलाइएको छ । त्यस्तै काभ्रे जिल्लाको नाला टुसालमा पनौतीको सुब्बागाउँमा पनि पहिले जात्रा मनाउने चलन थिएन तर वर्तमान समयमा त्यस स्थानमा जात्रा मनाईन्छ । यसरी जात्रा मनाउँदै जाने क्रममा भविष्यमा ती जात्रा परम्परा तथा सँस्कृति बन्ने हुन्छ ।
जात्राको परम्परा, कुनै स्थानमा सूर्य मासको आधारमा भने कुनै स्थानमा चन्द्र मासको आधारमा मनाइने गरिन्छ । भक्तपुरको विस्केट जात्रा वर्षको अन्तमा र वर्षको सुरुमा सूर्यमासको आधारमा मनाईन्छ । त्यस्तै बनेपाको चण्डेश्वरी जात्रा हरेक वर्षको चण्डी पूर्णिमा या बुद्ध जयन्ती चन्द्रमासको आधारमा मनाइने गरिन्छ । साँखु, लुभु, पनौती आदि स्थानमा चन्द्रमासको आधारमा मनाइन्छ । बनेपाको आराध्यदेवी चण्डेश्वरी माईको जात्रा “कवि जगत केशरी” द्धारा रचित ‘परनाम’ स्त्रोत्रको आधारमा जात्रा मनाउने गरेको पाइन्छ । बनेपाको चण्डेश्वरी एक महत्वपूर्ण पुण्यभूमि यहाँका बासिन्दा धर्ममा विश्वास गर्ने धार्मिक हिमायतीका हुन् ।
(कुनै) परापूर्व कालमा एक दैत्यले आफ्नो असुर शक्तिले देवगण तथा सम्पूर्ण बासिन्दालाई वशमा पारी अत्याचार गर्दा समयको कालचक्रअनुसार त्यस दैत्यको बध गर्नको लागि यस चण्डेश्वरी पुण्यभूमिमा देवीले कुमारीको रुप लिई चण्डासुर दैत्यलाई बध गरेको किंवदन्ती छ ।
चण्डेश्वरी देवी अत्यन्तै सुन्दरी कुमारीको रुपमा देख्दा अत्याचारी दैत्य चण्डासुरलाई कुमारीप्रति लोभ, मोह जाग्छ र आफ्नो रानी बनाउन हरण गर्न खोज्छ र त्यस स्थानमा देवगण लुकेको बारे जानकारी दैत्यलाई सुनाईन्छ । देवगणहरु पंक्षीको रुप लिई रक्तचन्दन वन (हाल चण्डेश्वरी वन) मा लुकी बसेको कुरा सुनाउछ । रक्तचन्दन वनमा पुग्दा देवगण नदेख्दा रिसले चुर भएका चुण्डासुरलाई रुखमा केहि पसेको कुरा थाहा पाएपछि आफ्नो खड्गले रुख काट्दा रुखबाट रगत बगी देवी माई चण्डेश्वरी प्रकट भई त्यस दैत्यलाई बध गरी सम्पूर्ण देवगण तथा मनुष्य जातिको उद्धार गरेको खुशीयालीमा चण्डीपूर्णिमाको दिन जात्रा मनाइएको र हालसम्म पनि यथावत जात्रा संचालन भइरहेको छ ।
जात्राबाट उल्लेख गर्दा फागु पूर्णिमाको दिन देखि नै सम्बन्ध जोडिन जान्छ । त्यसदिन जात्राको लागि चण्डेश्वरी देवी तथा चण्डेश्वर महादेवको निमन्त्रणा पूजा गरिन्छ । पूजामा दैनिक नित्यपूजा जस्तै चाँदीको थालीमा पूजा सामग्रीका साथ घण्ट, डमरु, बाजा बजाई गोकुल धुपको सुगन्धले “द्यो क वानेगु” निम्तोगर्ने चलन छ । त्यस्तै त्यसको एक महिनापछि साँखु पूर्णिमाको दिन जात्रामा रथको दायाँ र बायाँ र अगाडि बस्ने मुख्य पुजारी सहायक पुजारी तथा सुसारेको निधो भई एक महिनासम्म प्रत्येक आइतबारको दिन विशेष विधि पूजा दुवै चण्डेश्वरी माईको मन्दिर र “द्यो हें” को मन्दिरमा ढोका बन्द गरी तान्त्रिक विधिद्धारा पूजा गरिन्छ ।
रथमा बस्ने पुजारीहरु एक महिना सम्म एकदम कठोर नियममा बसी विधि पूज ागर्नुपर्छ । एक महिना अर्थात साँखु पूर्णिमा देखि चण्डिपूर्णिमा र जात्रा नसकुञ्जेलसम्म यस अवधिभर जानेर वा भुलेर पनि अन्यत्र बास बस्न मिल्दैन । घरमा सुतक परेमा सुतक बार्न मिल्दैन, आफ्नै घरमा कोहि कालगतिले मृत्यु भएमा पनि जुठो बार्न पाइँदैन, सम्पूर्ण जात्रा सकेपछि मात्र बार्न मिल्छ ।
जात्राको लागि जति पहिलेदेखि न विधि पूजा भएपनि खास मुख्य जात्रा पूर्णिमाको दिन र भोलिपल्टलाई मान्ने गरिन्छ । जात्राको चार दिन अघि “द्यो क्वहाँ विज्याइजु” गरिन्छ । यसदिन ‘द्यो छें’ मा सानो रथ (पिला खः) बनाई बनेपा स्थित लायकुलीमा लगी जात्रामा देवीलाई पहिराउने गहना सफा गर्ने गरिन्छ । द्धारे मार्फत राजाको प्रतिक हनुमानढोकाबाट तराबर ल्याउने प्रचलन रहिआएको छ । पहिले राजा स्वयम् जात्रा हेर्न कान्तिपुरबाट बनेपा आउथे तर हाल तरबार ल्याउने गरिन्छ ।
पूर्णिमाको दिन जात्राको सुरुको मुख्य दिन भक्तालुहरु सबेरै (राती १२ वटा कालो ढोकाको बली ‘तक’ पूजा सकिएपश्चात) हातहातमा चिराग बाली बनेपाको तीनधाराबाट चण्डेश्वरी हुँदै जलेश्वर महादेवसम्म पुगेर चिराग विसर्जन गरिन्छ । त्यस बत्ती पुजालाई “मतः” पुजा भनिन्छ । मतः पुजामा हजारौं बनेपा बासी तथा अन्य भक्तालुको उल्लेख्य संलग्नता हुन्छ । धिमे बाजा तथा धुपको सुगन्ध र बत्तीको ताँतीले माहोल ज्यादै रमणीय र पुलकृत हुन्छ । मतः पुजाले नै जात्राको आरम्भ भएको संकेत गर्र्छ । मतः पुजा विसर्जन हुने जलेश्वर महादेवमा नुहाउनेको भीड लाग्दछ । जनश्रुतिका अनुसार गर्भ खेर गएको या तुहिएको समस्या भएका दम्पत्तिले यस दिन महादेवको दर्शन गर्दा उक्त कुण्डमा नुहाउनाले सम्पूर्ण समस्या दुःख भएमा मुक्त भई शरीर स्वस्थ हुने कथन छ र भएको पनि छ ।
दर्शन गर्ने तथा नुहाउने भक्तजनहरुको उल्लेख्य उपस्थिति सम्पूर्ण जिल्लाबाट भएको देखिन्छ । साथै त्यस दिन विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मजयन्ती पनि पर्ने हुनाले ठूलो मेला समारोह हुन्छ । जात्राको दिन कोहि निराहार शुद्ध भई ब्रत बस्नाले चिताएको कुरा देवीले पु¥याइदिने विश्वास छ ।
दिउँसो बनेपाको तिनधारा डबलीमा रथ बनाई जुगी चक्रको कार्यक्रम र द्धारेको सिन्दुर लगाउने मसला बाँड्ने कार्य पश्चात रथ यात्रा सुरु हुने गर्छ । पूर्ण उत्साहका साथ रथ बोक्नेको संख्या सयौंमा हुन्छ । प्रायः अरु जात्राको रथहरुमा पांग्रा हुने गर्दछ । तर चण्डेश्वरीको रथ जात्रामा रथ काँधमा राखी बोकिन्छ । भक्तपुरको भैरवको रथ, ललितपुरको करुणामाईको रातो मछिन्द्रनाथको रथमा पांग्रा छ र डोरीको सहायताले तानिन्छ । जात्राको सुरुदेखि बजारको दायाँ बायाँका घरका झ्यालबाट बत्ती बाल्ने, चटामरी चढाउने कार्य गरी पूजा गर्ने गरिन्छ । बनेपाको तीनधारा डबलीबाट सुरु भएको रित्तो रथ (खाली रथ, देवता नभएको रथ जसलाई प्वँङ खः भनिन्छ । प्वँ खः घोकेचौरको उकालो (भैरवकुण्ड) चड्न लाग्नासाथ तः गुठीका मानन्धरहरु रथ छोडी चण्डेश्वरीमा आई जात्रा गर्ने देवता सार्ने कार्य गरिन्छ । देउता द्यो छें बाट ठूलो मन्दिर लगिन्छ, त्यसबेला १ महिना अघि देखि रथको दायाँ बायाँ अगाडि पछाडि बस्ने निर्णय भई पूजा पाठमा लागेका मुख्य पुजारी सहायक पुजारी र सुसारे, नायो, दुईहरुले ब्रत बसी देवीसँग बस्नुपर्ने हुन्छ । देउता सार्दा धिमे बाजा, घण्ट, डमरु, नाथ बाजा, कँ पो बाजा बजाई लाने गर्दछ, त्यहि बेला ब्रतालुहरु लाईनमा बसी ताय होलेगु कार्य हुन्छ ।
प्वँ खः (रित्तो रथ) चण्डेश्वरी ल्याई सकेपछि चण्डेश्वरी माई रथमा विधि विधानद्धारा विराजमान गराईन्छ । यसबेला पूज ागर्ने बत्ती बाल्नेहरुको ठूलो घुइँचो लाग्छ । यस कार्यलाई “द्यो तयगु” भनिन्छ । यस रातभरी रथ चण्डेश्वरीमा नै राखिन्छ । पूर्णिमाको भोलिको विहान फेरि रथलाई बोकी बनेपा तर्फ लगिन्छ । बाजागाजा सहित उल्लासका साथ रथ पुनः बनेपा लाने क्रममा घोकेचौर ओरालोमा रथ हेर्नेको उल्लेख्य भीड हुन्छ । रथ भैरवकुण्डमा पुगेपछि त्यहाँको जलले देवीलाई स्नान गराउने चलन छ । त्यसकारण भैरवकुण्डको महत्व ऐतिहासिक रहेको छ । यस समय तः गुठीका मानन्धरहरु फेरि चण्डेश्वरीमा पुजा आउने चलन छ । यसरी रथ जात्रा हुँदै जब रथ बनेपा (माथक तेचार पुल) पुगेपछि धुलिखेलको आचाज देब्रेतर्फ बस्ने पुजारीलाई हटाई (छोड्न लगाई) आफू बसी पूरै जात्रा अवधिभर बस्ने प्रचलन थियो । यद्यपि हाल यो चलन बिर्सिएको या धुलिखेलका आचाजु उपस्थित नभएकोले प्रायःलाई यो प्रसङ्ग थाहा नहुन सक्छ ।
रथ जब बनेपा बजारमा भित्रिएपछि “न्हेकङ” चपामा द्धारेमार्फत लशकुश पूजा हुन्छ । त्यसबेला सम्म देवीको मुख (अनुहार) सेतो कपडा (पकिङ) ले छोपिएको हुन्छ र द्धारेको पूजा पश्चात भोछिभोयाको दुधे बालिकाबाट धकिङ हटाई बनेपा बजार भर लायकुसम्म जात्रा हर्षाेल्लासका साथ मनाईन्छ । रथ बोक्ने असंख्य जनलाई चण्डेश्वरीदेखि लायकुसम्म भिजाएको केराउ, विभिन्न फलफुल, चकलेट, विस्कुट, चिसो पेय पदार्थ, जुस खुवाउने गर्दछन् बनेपाबासीहरुले । पानी खुवाउने काम प्रायः समाजसेवी जनक प्रजापतिले गर्दै आइरहेको छ । रथ लायकु पुगेपछि हंसबली पूजा गरिन्छ र पुनः रथ फर्काई चण्डेश्वरी लगिने गरिन्छ । यदि कुनै कारणवश रथ बिग्रिएमा जात्राको अवधिमा भने त्यसको लागि अर्काे रथ “लिलाख” तयार अवस्थामा राखिएको हुन्छ । रथ फर्काउने क्रममा “न्हेकङ चपा” भने स्थानमा कलंदान गरिन्छ । तक पुजामा बली दिइएको १२ वटा बोकाको मासु त्यसबेला छरिन्छ । उक्त मासु प्राप्त गर्नको हेतुले हजारौं भक्तहरु कलदानमा उपस्थित हुन्छन् । त्यस मासु पाउन सके चिताएको पुग्ने, भाग्य खुल्ने जनविश्वास रहिआएको छ । कलंदान पश्चात देवीसहित रथ चण्डेश्व्री फर्काउने कार्य हुन्छ । यदि रथ बिग्रिएमा देवीलाई काँधमा राखी बोकी लाने चलन पनि छ ।
देवीलाई पुनः यथास्थानमा विराजमान गराईसकेपछि लगभग रथजात्रा समापन भएको हुन्छ । अर्काे दिन “द्यो सोग” पूजा हुन्छ । (द्यो सोगं) पुजा बनेपाबासीहरुले चण्डेश्वरी “द्यो छें” मा आर्य भोज गरी इष्टमित्र बोलाई रमाइलो गरी जात्रा मनाउने गर्छन् । यसदिन भरी जात्रा गर्ने देवता भएको मन्दिर खुल्ला हुन्छ र भोलिपल्ट “पमा पूजा” आएपछि मन्दिर वर्षदिनसम्म सर्वसाधारणका लागि बन्छ हुन्छ ।
जात्राको पुजा चण्डेश्वरी पुजारीहरुको “द्यो सगँ” दिने पुजा गरी आठौं दिनमा जात्रामा देवीलाई लगाएका गरगहना पुनः जाँच गर्नको लागि लायकु दरबारमा लगिन्छ । भद्र भलाद्मी प्रशासक, द्धारे, प्रहरी बसी गहना जाँ गरी सकेपछि जात्राको समाप्ति हुन्छ । यसरी चण्डेश्वरी जात्रा वार्षिक रुपमा हरेक वर्ष हुँदै आएकोमा २०७७ र २०७८ सालम कोभिड १९ को महामारीका कारण सम्पन्न हुन सकेन । यस २०७९ सालमा यस चण्डेश्वरी माईको जात्रा भव्य रुपमा सम्पन्न हुनेछ ।





