– केशव थापा
वि.सं. २०७९ बैशाख ३० गते हुने स्थानीय तहको दोस्रो निर्वाचनको निमित्त राजनीतिक दलका उम्मेदवार र जनसेवाका निमित्त इच्छुक स्वतन्त्र उम्मेदवारहरु चुनाव चिन्ह सहित चुनावी मैदानमा उत्रिसकेका छन् । ने.क.पा. एमाले बाहेक धेरैजसो दलका कतिपय नेता÷कार्यकर्ताहरु दलले आफूमाथि न्याय नगरेको भनी वागी उम्मेदवारको रुपमा निर्वाचन मैदानमा उत्रिएका छन् । देशको सबैभन्दा ठूलो पार्टी र लाखौं संगठित सदस्य भएको तथा लामो राजनीतिक जीवन गुजारेका अन्य दलका नेता तथा कार्यकर्ताहरुको धमाधम ने.क.पा. एमाले प्रवेशको लहर र ती नेताहरुको व्यवस्थापनको कारण केही होचोअर्घेलो भएता पनि यसले अन्य दलको जस्तो विकराल समस्याको सामना गर्नु परेको देखिएन । पारदर्शी एवं आमस्वीकार्य मापदण्ड बनाएर टिकट वितरण गर्न साहस नगर्ने दलहरु बागी उम्मेदवारहरुलाई भकाभक कार्वाही गरेर गठबन्धनलाई रिझाउन भने निकै हतारो गरिरहेका छन् । कुनै न कुनै दिन टुट्नै पर्ने गठबन्धनको लागि इमान्दार नेता, कार्यकर्तामाथि अनाहकमा अनुशासनको दण्डा चलाएको देख्दा नेपालमा अझै पनि मूल्य, मान्यता र सिद्धान्त केन्द्रित राजनीतिले प्रश्रय पाउँन नसकेको देखिन्छ । सिर्फ सत्तास्वार्थ र कोही कसैलाई देखाई दिने नाममा राजनीतिलाई झन्झन् प्रदूषित र घिन लाग्दो बनाउँदै लैजाँदा जनतामा एकपछि अर्काे गरेर छाउने निरासाले ल्याउने डरलाग्दो परिणामको सम्बन्धमा नेताहरुलाई चिन्ता नभएको देख्दा उदेक लाग्छ । सत्ताको राप ताप र आडमा अहिले सोझासिधा कार्यकर्ता र नेताको ढाडमा डण्डा बर्साए पनि भावी दिनमा ती नेताहरुको नकामलाई इतिहासले कसरी मूल्याङ्कन गर्ला हेर्न बाँकी छ ।
मुखले राजनीतिलाई जतिसुकै सेवामुखी र जनउत्तरदायी भने पनि अधिकांश नेताहरुले सो अनुसार व्यवहार गरेका छैनन् । जुन पात्र र प्रवृत्तिको विरुद्ध जनता जागेका थिए पात्र परिवर्तन भए पनि प्रवृत्तिमा सुधार आउन सकेन । परिणामस्वरुप शहीदहरुको वलिदानले स्थापित गरेकोे परिवर्तन निश्चित समयपछि सङ्कटमा पर्दै गएको तथ्य नमिठो लागे पनि वेहोरिएकै सत्य हो । नेपालको संविधान, २०७२ को धारा २६९ (१) ले समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिहरुले राजनीतिक दल गठन गरी सञ्चालन गर्न र दलको विचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधरणको समर्थन र सहयोग प्राप्त गर्न सक्नेछन् भन्ने स्पष्ट व्यवस्था गर्दागर्दै पनि राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा किञ्चित पनि सामाञ्जस्य नभएका दलहरुको पटक्कै स्वभाविक नलाग्ने गठबन्धनले गर्दा बैशाख ३० मा हुन गैरहेको स्थानीय तहको निर्वाचन दलहरुले स्थानीयस्तरमा आफ्नो लोकप्रियता मापन गर्ने आधार बन्न नसक्ने भएको छ । बोकेको सिद्धान्त एकातिर र दल वा नेताको उर्दीमा मत हाल्नुपर्ने अन्ततिर हुने भएपछि स्थानीय तहको निर्वाचनप्रति दलका कार्यकर्ताहरुमा जुन उत्साह र जाँगर हुनु पर्ने हो सो नहुनु स्वभाविकै हो । एकसय चार वर्षीय निरङकुश राणाशासन, तीसवर्षे निर्दलीय निरुङ्कुश पञ्चायती व्यवस्था तथा वहुमतको नाममा दल र अझ त्यसमाथि पनि प्रधानमन्त्रीले अलि बढी नै शक्तिको अभ्यास गर्न पाउने संवैधानिक राजतन्त्रसहितको वहुदलीय संसदीय व्यवस्थालाई समेत पल्टाएर सर्वसाधरण नेपाली जनताको छोरी वा छोरा राष्ट्रप्रमुख, उपप्रमुख बन्न सक्ने संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको स्थापना गर्ने अजय शक्ति महान् नेपाली जनता नै हुन । नेपालको संविधानको धारा २ ले नेपालको सार्वभौमिकता र राजकीयसत्ता नेपाली जनतामा हुने बताएर जनताभन्दा ठूलो शक्ति अर्काे नभएको स्पष्ट पारेको छ । यो सत्यलाई आत्मसात् गरेर निकट भविष्यमा सम्पन्न हुन गैरहेको स्थानीय तहको दोस्रो निर्वाचनमा अत्यन्त सुझबुझका साथ मतदान गरेर हिड्नु पर्ने मूल बाटो छाडेर दुर्घटनातर्फ उद्यत नेपालको राजनीतिलाई सहीमार्गमा ल्याउन सचेत नेपाली मतदाता स्वयम् नै कस्सिनु पर्ने भएको छ ।
एक असल र देशप्रति जिम्मेवार मतदाताले स्थानीय होस् वा प्रदेश तथा संघको लागि हुने निर्वाचन नै किन नहोेस् ती सबैमा राजनीतिक दलको पृष्ठभूमि, अवसर पाउँदा देश र जनताको पक्षमा काम गर्ने दल र त्यसका नेताहरुले गरेको काम र त्यसले पारेको प्रभाव, नेपालको गरिमा बढाउन राष्ट्रिय, अन्तराष्ट्रिय मञ्चहरुमा दिएको अभिव्यक्ति, देशको अभिशापको रुपमा रहेको गरिबी र विपन्नता तथा फष्टाउँदो भष्ट्राचार निवारण सम्बन्धमा अगाडि सारेको दृष्टिकोण, देशको आधाभन्दा बढी आकाश ढाक्ने महिलाहरुलाई अवसर दिने सम्बन्धमा हृदय फराकिलो पार्न सके, नसकेकोे र वहुसंख्यक नेपाली जनता विशेष गरेर युवा एवं सीमान्तकृत वर्गको समेत बढ्दो आकर्षण समेतलाई मतदाताहरुले ध्यानमा राख्नुपर्छ । असल मतदाताले राजनीतिलाई कमाउने पेसा र शक्तिको अभ्यास नभएर जनसेवा ठान्ने नेता र कार्यकर्ता भएको राष्ट्रिय राजनीतिमा सशक्त प्रभाव पार्न सक्ने दल पहिचान गर्नुपर्छ । अहिले नेपाली नेताहरुको अवसरको लागि असल, इमान्दारको कार्यकर्ता नभएर आफू र आफ्नालाई प्राथमिकतामा राख्न थालेका छन् । जनमतले यो प्रवृत्तिलाई परास्त्र गर्न सकिएन भने नेपाली राजनीति अन्ततोगत्वा परिवारवाद फस्न पुग्नेछ । कतिपय दलको लुते प्रवृत्तिले छिमेकीहरुबाट सीमा अतिक्रमण लगायत आन्तरिक विषयको व्यवस्थापनमा अझै बढी हात लम्काउने सक्ने देखिन्छ । बढ्दो महँगी, राज्यका सबै निकायको अव्यवस्था, दिनदहाडैको भष्ट्राचार, कारागार वा अन्यत्र कतै सजाँय भोगिरहेको हुनुपर्ने पात्रहरुको राजनीतिमा रुची, सक्रियता र सहभागितालाई पनि सचेत मतदाताहरुले मतदानको माध्यमबाट तह नलगाई नहुने भएको छ । मतदाताहरुको सहनशीलता नेपाली राजनीतिको विकृतिको आधार नबनोस् भन्ने तथ्यमा मतदाताहरु सचेत हुनैपर्छ ।
बैशाख ३० को स्थानीय तहको निर्वाचन संबन्धित तहको भाग्य र भविष्यको लागि अति महत्वको त छँदैछ । त्यसका अतिरिक्त यसले निकट भविष्यमा हुने प्रदेश र संघको चुनावी परिणामको समेत सङ्केत गर्दछ । तसर्थ, प्रदेश र संघमा जुन दलको सरकार बनोस् भन्ने आमको अपेक्षा हो सोही दलको निमित्त स्थानीय तहमा पनि मतदान गर्नु असल मतदाताको कर्तव्य हो । यी सबै तथ्य र अहिले देशभर नेपाल कम्युनिष्ट पार्टी एमालेको पक्षमा के युवा, के महिला, के किसान, के मजदूर सबैसबैले अति उत्साहले देखाएको व्यापक समर्थनलाई दृष्टिगत गर्दै सचेत मतदाताले ने.क.पा. एमालेको सूर्य चिन्हमा मतदान गर्दा मतखेर नगई सोको सदुपयोग हुने देखिन्छ । निस्वार्थरुपले गरिने सबै दान महान् नै भए पनि अधिकांशको प्रभावक्षेत्र सीमित हुन्छ । तर दानहरुमध्येको महादान मतदानको भने असर व्यापक र दूरगामी हुन्छ । सामान्यरुपमा हेर्दा मतदाताको निमित्त उसले दिने मत एक मात्र जस्तो देखिए पनि त्यसले मतदाता, निजको परिवार, समाज, राष्ट्र र अन्तराष्ट्रमा समेत ठूलो असर पार्ने भएकोले अत्यन्त सुझबुझका साथ राम्रोमध्येको पनि झन् राम्रो दल र त्यसको उम्मेदवारको पक्षमा मतदान गरेर संविधानले विश्वास गरे अनुसारको दायित्व निर्वाह गर्न सक्नुपर्छ । स्थानीय तहको त हो नि भनेर प्रभाव, दबाव, भ्रम वा प्रलोभनमा परेर मतदानमा खेलाँची गर्नु हुँदैन । समृद्ध नेपाल र सुखी नेपालको महान् सपना, लोककल्याणका अनेक कार्यक्रम र नेता शासक नभएर जनताका सेवक हुनुपर्छ भन्ने मान्यताकासाथ नेपाली जनताको विवेकपूर्ण निर्णय क्षमतामा पूर्ण विश्वास गरेर कुनै किसिमको गठन्बन्धन र अपवित्र साँठगाँठ बिना नै चुनावी समरमा एक्लै होमिएको ने.क.पा. एमालेको पक्षमा मतदान नै अहिलेको समयको माग हो भन्ने तथ्यमा समस्त देशबासीको ध्यान जानै पर्ने देखिन्छ । अझ देशमा एउटैमात्र सुदृढ, जनउत्तरदायी र विशाल समर्थक र शुभेच्छुक भएको कम्युनिष्ट पार्टीको अभिलाषा साँच्ने वामपन्थीहरुले त्यसको पूर्वशर्तकोरुपमा ने.क.पा.एमालेको सूर्य चिन्हमा मतदान गर्न हिच्किचाउनु हुन्न । र, ने.क.पा.एमाले र यसका नेताहरुले पनि शक्ति उन्मादले सनक्क नसन्केर सदाचार र सुशासनले सुसज्जित भएर अहिलेभन्दा पनि बढी नेपाली जनताको हित र भलाईको पक्षमा उभिएर मतदाताप्रति न्याय गर्न सक्नुपर्छ ।
(लेखक थापा ने.क.पा. एमाले जिल्ला सल्लाहकार परिषद् काभ्रे र नेपाल बुद्धिजीवी परिषद् काभ्रेको सदस्य हुनुहुन्छ ।)





