2021 June 13/ 01:56: 39am

– जयदेश श्रेष्ठ
बजेट भाषण भयो । कार्यान्वयन हुन बाँकी छ । धेरैले भने बजेट राम्रो छ । ढलमले सरकारले यतिको बजेट पेस गर्नु नराम्रो होइन । ठुलो चुनौती सँगै यो वर्षको बजेट पेस गर्न धेरै सजिलो पनि भएको छ । यसपालि सुटकेस खोस्ने, बाटो छेक्ने र बजेट भाषण हुँदा मस्तले सुत्ने सांसद्हरू देखिएन । बजेटको बारेमा धेरै टिप्पणी गरिएको पनि देखिएन । सायद नेपाली जनताहरूले चाहेर नचाहेर भए पनि यो पटक कोठा भित्र बन्द भएकाले धेरैले बजेट भाषण सुने हेर्ने अवसर पाए ।
बजेट भाषण किन गर्छन् ? अर्थ मन्त्रीले बजेट पेस गरे बापत् कति भत्ता र खर्च विवरण पेस गरेर कति पैसा आफ्नो भागमा असुल्छन् ? विगतहरूमा यसको धेरै चर्चा भएको थियो । यसपालि धेरै आवाज उठाएको देखिएन । सांसद्हरुको तेरो, मेरो क्षेत्र भनेर रकम विनियोजन धेरै थोरै तँछाड मछाड हुने अवसर पाएन । त्यसैले बजेट बुँदा चुहावट हुन पाएन । सांसद् कोषको खर्च यो आर्थिक बजेटले छोएन । यसले पक्कै पनि सभासद्हरुको मुख टालिएको छ । आ–आफ्नो खेमा बाँडिएका सांसद्हरु चुपचाप छन् । बजेटको बारेमा विश्लेषण अर्थ विज्ञहरूले गर्ने हुन् तर विडम्बना हाम्रा विज्ञहरू पार्टीका अन्धभक्त भएर मूल्याङ्कन गर्छन् आफ्नो ब्रम्हले देखेको कुरा बोल्दैनन् । कसैले राम्रै मात्र देख्छन् । आफ्नो बलबुता भरेर बखान गर्छन् । यस्तो बजेट कहिल्यै नआएको भनेर हावा भर्छन् । कोही घुँडा धसेर विरोध गर्छन् यो भएन त्यो भएन । टानटुनको बजेट प्वालै प्वालको टायरमा कसरी हावा भर्छन् र गाडी गुड्ने र देश चलाउने कुरा गर्छन् ।
जनताले बुझ्ने सिधा कुरा यसपालि बजेटले बृद्ध भत्ता बढेको छ । वृद्धाहरूको सम्मान भएको छ । यसले के.पि. ओली सरकार रहे पनि नरहे पनि बृद्धहरुको आशीर्वाद लाग्नेछ । भोलिका दिनमा सबै बृद्ध हुने नै छन् ।  त्यसैले पनि बृद्ध भत्ता महत्वपूर्ण मानेका छन् । बृद्धभत्ता राहतबाट साना बाल बच्चा नाति नातिनाले पनि यसबाट बिस्कुट चकलेट पापा पाउँछन् आखिर बृद्धहरूले माया गर्ने नै आफ्ना नानीहरूलाई हुन् । बेरोजगार युवाहरूले पनि आफ्नो हजुरबा हजुरआमालाई बृद्ध भत्ता लिन जाँदा सघाउनेहरूलाई पनि ज्याला स्वरूप बक्सिस् दिने छन् । छोरा बुहारीलाई पनि हाई सन्चो भत्ता बढेको छँदैछ । आहा ! बृद्ध भत्ता वृद्धि गर्दा सबैको भलो हुने रहेछ ।  बृद्ध भत्ता लाभान्वित बृद्धहरुको आशीर्वाद पनि सरकारले पाउने छ । आशामुखी कर्मचारी तलब वृद्धिमा सन्तुष्ट हुन नसके पनि सरकारी कर्मचारीलाई दश दिनको बिदा सहितको भ्रमण प्याकेजले कर्मचारीको मनोबल उच्च हुने छन् यसको श्रेय पनि आर्थिक बजेटले पाउनेछ । सरकारको आम्दानीको श्रोत राजश्व, कर अन्य सबै दायराहरू पनि खुम्चिए छ । कोरोना स्वास्थ्य उपचार र खोपमा बढी खर्च हुने देखिएको छ । विकास बजेट साँघुरिएको छ । सांसद् कोष कटौती । यसरी बजेट समष्टिगतमा खुम्चाएर भए पनि अर्थ मन्त्रीको दाउपेच जनतालाई आफूतिर तान्ने प्रयत्न बजेटमा देख्न सकिन्छ । बजेटले केही विवादित विषयहरू कसरी कार्यान्वयन गर्ने हुन् ? विद्यार्थीलाई ल्यापटप लोन, सिम कार्ड, शैक्षिक लोन कसरी दिने हुन् ? जनताहरूलाई धारा बत्ती बिजुलीको शुल्क प्रलोभन यसले सकारात्मक फाइदा हुने छैन । झन् अन्योलको सुविधाले आम नागरिकहरूमा दुबिधा हुने नै छ । सुविधा दिने कसले ? फाइदा लिने कहाँ र कसरी लागु हुने की नहुने मै एक बर्ष बित्नेछ ।
कोरोनाले देश खुम्चिएको बेला बजेट खुम्चिनु स्वभाबिक हो । विपक्षी शक्ति एकजुट भएर सरकार ढलाउन खोजेको अवस्थामा सबैतिरबाट चेपिएर साँघुरिएको सरकारले प्रस्तुत गरिएको बजेट कार्यान्वयनमा आउन सके ! सरकार चलाउन सके ! अथवा नयाँ आउने सरकारलाई बजेटको जिम्मेवारी दिन सकेमा बजेटको अवधारणा राम्रो देखिन्छ ।

सरकार बदलिए सँगै मन्त्री फेरिए सँगै देशको अर्थ नीतिलाई रद्दी टोकरीमा फाल्ने प्रथालाई जब सम्म रोक्न सक्दैन तब सम्म देशको अवस्था सुध्रिन सक्दैन । जतिसुकै राम्रो बजेट प्रस्तुत गरिए पनि आम नेपाली र देशको अवस्था झन् झन् दयनीय हुँदै गएको अवस्थाको वास्तविक तितो यथार्थ कोही कसैबाट थाहा नभएको होईन । बजेट भाषणको बेला आएको नेपाली जनता माथिको ऋण प्रतिव्यक्ति ५२००० पुगेको आँकडा पेस गरिए पनि सरकार चलाउनेहरूले यसलाई ध्यान दिँदैनन् । पहिले देखी वैदेशिक ऋणबाट देश जनतालाई बन्धकी राखी तर्जुमा गरिएको जनमुखी बजेटले देशलाई झन् झन् जटिलतामा दोहोराउने छन् ।
गरिब जनताहरू माथी हरेक किसिमले कर असुली प्रक्रियाबाट उठाउने गरेका छन् । राजश्वबाट नेताहरूले मनोमानी ढङ्गले खर्च गर्ने परिपाटी जबसम्म रोक्न सक्दैन तबसम्म यो देशमा आर्थिक बजेट, संविधान नीति नियम हात्तीको देखाउने दाँत जस्तै हुन् । जस्तै राम्रो बजेट भए पनि हामी मान्दैनौ भन्ने विपक्ष गुटका अगाडि प्रस्तुत गरिएको बजेट अनुमोदनमा अझै संघर्ष बाँकी छ । राजनीतिक समस्या र कोरोना संक्रमण जटिल अवस्थामा आर्थिक वर्ष २०७८÷७९ को बजेटले नेपाली जनताहरूले सुखमय अनुभूति गर्न सकुन् शुभकामना !