2021 July 30/ 07:23: 50am

सहदेव थापा
    बस म केवल÷एक क्रान्ति
एक प्रजातन्त्र/एक चुनाउ
र एक भोट हुँ/केबल एक भोट हुँ
                                           -भूपी शेरचन
    गरि खाने वर्गलाई खाली पेट राखी राजनीति हुन्छ ? किसान मजदुरको धुरी धुवाउँदैन भनेराजनीति हुन्छ ? ग्रामीण भेगका किसान र शहरका मजदुरहरुले सिटामोल पाउँदैनन् भने राजनीति हुन्छ ? राजनीति गर्नेहरुले आफ्नो होइन देश र जनताहरुको स्वार्थलाई हृदयमा राखेर काम गर्नूपर्छ । स्वार्थ मिल्दा विचारलाई तिलाञ्जली मिल्ने र स्वार्थ नमिल्दा फुट्ने प्रवृत्ति हाम्रो देशमा स्थापित भएको छ । सरकारी जागिर र अन्य पेशामा निश्चित उमेर पुगेपछि अवकाश पाइन्छ तर नेपाली राजनीतिको शब्दकोषमा ‘अबकाश’ शब्द नै छैन । पदको लागि गुट उपगुट खडा गरी आफू स्थापित हुने प्रवृत्ति छ । व्यक्तिगत स्वार्थका लागि खराब सम्झौता गर्ने पदीय स्वार्थका लागि राम्रालाई भन्दा हाम्रालाई संरक्षण गर्ने विशेषता हाम्रा नेतृत्वहरुमा पाइन्छ । के यस्तो राजनीतिक सँस्कारले भावी पुस्तालाई सहि बाटो देखाउला ? के भावी पुस्तालाई राजनीति गाली गलौच हो भनेर सिकाउने ? २०४७ साल चावहिलको भाषणमा कार्तिक महिनामा जननेता मदन भण्डारीले भन्नुभएको थियो–हामीले राजा फाल्यौ तर सामन्तवादलाई फाल्न सकेनौं भने परिवर्तनको कुनै अर्थ रहँदैन बरु राजा रहेर पनि सामन्तवादलाई फालियो भने त्यो महत्वपूर्ण हुन्छ । यसको मतलब व्यवस्था परिवर्तन भनेको शासक र संरचनाहरु मात्र परिवर्तन होइन । यसकारण राजनीतिक परिवर्तन राज्य सत्ताको सारमा परिवर्तन हो ।
    लोकतन्त्र भनेको चुनाव मात्र होइन सत्ताको लोकतान्त्रिक कारण हो । किनकी राज्यसत्ताको चरित्र राजनीति व्यवस्थाले मात्र निर्धारण गर्दैन आर्थिक, सामाजिक संरचनाले पनि निर्धारण गर्छ । प्रणाली जस्तै राम्रो भए पनि प्रणालीलाई हाँक्ने पात्र खराब भयो भने प्रणाली नै फेल हुन्छ । स्वरुप जतिसुकै राम्रो भए पनि गुण वा चरित्र राम्रो छैन भने त्यसले परिणाम दिन सक्दैन । गुण र चरित्र पदार्थको प्रधान पक्ष हो । कभर हेरेर पुस्तकको गुदी कुरो थाहा हुन्छ न त रङ हेर्दैमा चियाको स्वाद थाहा हुन्छ । आजको प्रश्न हामीले परम्परागत राज्यको चरित्रलाई किन ? फेर्न सकेनौं भन्ने हो । आन्तरिक लोकतन्त्रको अभ्यास नहुने पार्टीहरुमा तानाशाह प्रवृत्तिको जन्म हुन्छ । यस्तो पार्टीहरुमा कार्यकर्ता र जनता कम हुँदै जान्छन् अन्तमा जनआधार भुँइमा बिलाउँछ । यसर्थ पार्टीका सम्पूर्ण कमिटीका नेतृत्व र पार्टी सदस्यहरुबीच चुन्ने र चुनिन पाउने विचारमा छलफल गर्न पाउने, नेतृत्वले बाटो बिराउँदा विरोध गर्न पाउने लोकतान्त्रिक अधिकार आम कार्यकर्ताले पाउनुपर्छ तबमात्र पार्टीको आन्तरिक जीवन चुस्तदुरुस्त र तन्नेरी हुन्छ । विधि, पद्दति, विचार र सिद्धान्त जीवन्त पार्टीका आन्तरिक जिवन हुन् भन्नुपर्छ । इतिहासले शिक्षा मात्र दिँदैन शिक्षा नलिनेलाई दण्ड पनि दिन्छ । विचारयुक्त संघर्ष भनेको सगरमाथाबाट निस्केको नदी हो यसले बाटो बदल्न सक्छ तर थुन्न गाह्रो पर्छ अर्थात् थुन्न सकिन्न ।
    पार्टीहरु दलीय स्वार्थमा लिप्त छन् । भर्खर संसद पुनस्र्थापना भएपछि किन माधव र प्रचण्ड देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरे ? किन चितवनको सभालाई सम्बोधन नगरी काठमाडौं हानिए ? माक्र्सवाद यदि चेतनाको उच्चतम् अवस्था हो भने अहिंसासँग यसको रगतको आत्मीय नाता हुनुपर्छ । यसैले क्रान्ति कसैको इच्छाको कारणले मात्र सम्भव हुँदैन । पार्टीहरुको आन्तरिक प्रजातन्त्रमा जति झ्याल ढोकाहरुमा ताल्चा लगाइन्छ त्यति नै आन्तरिक फलहरुको मूलतन्त्र बन्छ । आन्तरिक प्रजातन्त्रको अभावमा आत्मपरिक्षण, आत्मा संशोधनको कमी हुन्छ उत्संगको लागि रोपिएको विरुवा मर्दै जान्छ । पार्टीहरुमा आफ्ना पक्षका व्यक्तिहरुसँग मात्र नजिकिने, आफ्ना कुरा आफ्नालाई मात्र सुनाउने, विपक्षका कुरा सुन्न पनि नसक्ने हाम्रो पार्टीको सिष्टम भक्तिको खेती गर्नतर्फ उन्मुख छ । न्याय परिषद्मा न्यायवेत्ता होइन पार्टीहरुले आ–आफ्नो मानिसहरु राख्ने प्रवृत्तिको हावी भयो । नेताहरु तत्काल लोक रिझ्याईको लागि बोल्नेहरुको हावी भयो । हाम्रो देश आर्थिक रुपमा गरिबी तर भुतपूर्व प्रधानमन्त्रीहरुको संख्यामा धनी देश भयो । यो प्रतिस्पर्धाबाट हाम्रो देशलाई बाहिर ल्याउनै पर्छ । भाषामा बोलीमा मदन भण्डारी व्यवहारमा स्टालिन बनेर देश विकास हुँदैन । मुलुक निर्माणको लागि नीतिगत स्थिरता हुनुपर्छ । कुनैपनि प्रणालीको सफलता नेतृत्वको विधि र प्रवृत्तिको सँस्कृतिमा भर पर्छ । हाम्रो देशको संसदीय व्यवस्थामा सरकार प्रधान कि पार्टी प्रधान कहिले विचार विमर्श गरेनौं । हाम्रो देशका लागि कुन ठिक ? पार्टी र सरकारबीच दुष्मनी हो त ? कस्तो सहकार्यले पार्टी र सरकारबीच मर्यादित बनाउँछ ? पार्टी अध्यक्ष र प्रधानमन्त्री एउटै हुन् व्यवहारिक कि अव्यवहारिक ? सरकार प्रमुखले पार्टीको उद्देश्य विपरीत कार्य गरेमा कस्तो कारवाही पार्टीले गर्ने ? नेपालको इतिहासमा २०४६ साल पछिको राजनीति अस्थिरतालाई हेर्ने हो भने पार्टी र सरकारबीचको सम्बन्ध अन्योलपूर्ण छ ।
    सरकार प्रमुख र पार्टी बीचको सम्बन्ध राम्रो हुँदासम्म सरकारले काममा लय समातेको पायन्छ । द्वन्द्व सुरु भएपछि संसद् विघटन सांसद निष्काशन प्रधानमन्त्रीलाई कारवाही सम्म भएको पाइन्छ । यस्तो रोगको निदान नेपाली राजनीतिमा आवश्यक छ । हाम्रो देशको सरकार प्रमुखले ३ वटा संस्थाको उत्तरदायित्व हुनुपर्छ । १) पार्टी २) संसद् ३) संसदीय दल । तर विगत देखि आजसम्म यी संस्थाको उत्तरदायित्व लिएका हाम्रा सरकार प्रमुखहरु बिरलै पाइन्छ । सरकार आम जनताको मतले त अनुमोदित भएर सरकार चलाउँछ तर आम जनताको मनले अनुमोदन भएन भने सरकरा विस्थापित हुन्छ । आजको समस्याको समाधान भनेको सरकार संचालनका लागि संसदीय दललाई पूर्ण अधिकार दिने र पार्टीले सरकार प्रमुखले पार्टीको घोषणा पत्र अनुसार कार्यान्वयन भयो कि भएन भनेर वाचडगको रुपमा हेर्नु नै हो । यसले हाम्रो देश नबन्नुमा नीतिको पनि मूल नीति राजनीति हो राजनीति ठिक नहुनाले नै हो ।