2021 July 30/ 06:22: 55am

अधिबक्ता सुदर्शन जोशी “तेजस्वी”
“भन्छन, धर्तिमै छन सबै चिज खोजे मिल्छ घरी घरी !
तर, जन्म,कर्मदिने आमा वुवा पाईदैन कसैगरि !!“
असिमित र अटुट माया दिएर, साथी जस्तै बनाएर मलाई हुर्काउनु हुने हे मेरो आदरणीय बुवा, छोराको धेरै चिन्ता नलिनु एक दिन तपाईको काँधले सार्थकता पाउनेछ । मेरो बुवा यो धर्तिमा नहुनु भएको २०५५ साल देखि, लगभग २३ बर्ष भैसकेछ । हिजो जस्तो लाग्छ । हजुर प्रति मेरो पल पलमा श्रद्वा छ । हजुरको आत्माले चिर शान्ति पाएको छ भन्ने विश्वास र प्रार्थना गर्दछु ।  जिवनमा म दुई व्यक्तिको सधै ध्यान गर्दछु ः
१) मेरो बुवाले मेरो जितको लागि सधै हार्नुहुन्थ्यो। 
२) म हरेक दुःखमा आमालाई पुकार्दछु । आमा धर्ति हुनुहुन्छ भने बुवा आकाश । आमा सत्य हुनुहुन्छ भने बुवा साँचो । बुवा हजुरले बारम्बार मलाई पुर्खाको ईतिहासलाई रक्षा, प्रयोग र विकास गर्ने कुरा सम्झाईरहनु हुन्थ्यो । म निरन्तर यात्रामा नै छु । सकेसम्म सक्रिय भैरहेको छु, समानताको लागि । अलिकता विचारमा, सोचमा मैले आफ्नो सृजनालाई थप गरेको छु । त्यसमा पनि चिन्तन गर्दै छु ।
जिन्दगीले दोश्रो मौका दिन्छ, तर दोश्रो पिता दिदैन । बुवा जस्तै माया गर्ने हुन सक्छन् तर पिता नै हुन सक्दैनन् ।
सम्झना छ, स्मृति छ त्यसैले बुवाको श्रद्धा गरिरहेको छु । सायद पलपलमा फेर्ने श्वासमा पिता नै हुनुहुन्छ । प्रत्यक पाईला चाल्दाको भावना पितासँग जोडिएको छ । म सानो छँदा बुवासँगै खेल्दा, बुवाको असल छोरा बन्न सकिनँ होला, सायद माफी माग्नु बाहेक अन्य विकल्प छैन । त्यो पनि स्मरण गर्दै । मैले पहिलो किरिया बुवाको नै गरे । श्रद्वाञ्जली दिई राखेको छु तर तरिका फरक हुनसक्छ ।
“जान्छन् कोहि कावा कासी !
जान्छन् चारै धाम !!
अलक निरन्जन घर भित्रै छन !
बाहिर के को काम !!“
विचार गर्नुहोस, बुवाले ख्याल राखिरहँदा स्वतन्त्रता नभएको जस्तो लाग्न सक्छ तर बुवाले सन्तानको सुरक्षा, रेखदेख गरिरहनु भएको हुन्छ । त्यसैले प्रत्यकले जीवित पिताको मान सम्मान गर्ने र परलोक हुनुभएको पिताको सम्झना, पितृकार्य गर्ने गर्नु पर्दछ । नेपाली संस्कार अनुसार कुसे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन मानिनुको महत्वपूर्ण अर्थ छ ।
बुवाको आफ्नै जुत्ता चप्पल फाटेको हुन्छ तर आफु फाटेकै लगाएर नयाँ जुत्ता चप्पल लेराउनुहुन्छ । दशैं, नयाँ बर्ष लगायत चाडवाडमा आफु पुरानै लुगा लगाउनुहुन्छ तर छोराछोरीलाई नयाँ लुगा किनेर लेराउने बुवा नै हो । छोरा छोरीले जति गल्ति गरेपनि विश्वास गर्ने र दुःख पर्दा आफ्नो खुसीलाई मारेर खुसी दिने बुवा नै हुनुहुन्छ । बेलाबेला रिसाउनुहुन्छ, कम बोल्नुहुन्छ, गालि गर्नु हुन्छ तर छोराछोरीको लागि घडीको सुई जस्तै काम गर्नुहुन्छ । आँशु भित्रै पचाउँदै गर्मी सहनुहुन्छ । सन्तानलाई उपदेश, सहयोग, भलो चिताउने विशाल आकाशजस्तै हृदय भएका बुवा नै हुनुहुन्छ ।
बुवा भन्नुहुन्छ, “म कमजोर छैन । म कसैको साहाराको आशामा बाचेको छैन । तर मलाई यति चाहिएको छ । म मरेको बेला काँध हाल्ने सन्तान, म मरेपछि सम्झने सन्तान ।”
बुवाले पूरै जीन्दगीको पुरै पल पुरै दर्द भुलेर सन्तानको लागि निकाल्नुहुन्छ । तर सन्तान एक पल बुवाको लागि निकाल्न सक्दैन । यस्तो किन? हुन त दशरथ, राम, श्रमणकुमार जस्ता अनुकरणीय पुत्र पनि हुनुहुन्छ ।
मैले बुवाबाट गायत्री मन्त्र संगसंगै राजनीतिक विचारको समेत अमृतपान गरे । त्यसैले पिता देह मात्र होईनन्, उनी प्रेरणा पनि हुन् । जसले सन्तानको सुख, शान्ति, कल्याणका लागि हर संभव आफु छत बनेर, घाम पानी दुःखकष्ट सहेर आश्रय दिई रहनु भएको हुन्छ । उल्लास, प्रेरक एवं पथप्रदर्शक आशिर्वाद समेत ।
हुनत हाम्रो समाज, सँस्कृति संयुक्त परिवारिक संरक्षकमा रहने एक मार्गदर्शकको रुपमा बुवालाई पुजि नै रहने थियो । हामीले यस्लाई भताभुङ्ग पारेका छौ । भेरि पुनर्जागरण गर्न जरुरी छ । अहिले कसैले पिताको सम्पत्तिमा अधिकार जमाउने अनि पितालाई विर्सने रोग लाग्यो भनेर सडक, आश्रममामा लगेर छोडिदिने चलन केही देखिएको छ । पिताको सम्पत्तिमा जसरी प्रत्येक सन्तानले आफ्नो हक खोज्नुभएको छ साथसाथै प्रत्यक सन्तानले आफ्नो मातापिता प्रति आस्था, विश्वास, प्रेम, करुणा, श्रद्धा र सहारा बन्नु पर्दछ । बुवा हजुरको आशिर्वादले म पनि छोरीको बुवा बनेको छु र धेरै सहयोगापेक्षी बावुनानीहरुको साहारा बन्ने प्रयास गरिरहेको छु । मेरो बुवाको स्मृति गर्दै सबै सन्तानलाई यहि सन्देश दिन चाहन्छु । ः–
“हत्केलाले सुर्यलाई छेक्यौ र तिमीले कतै !
पत्थर पुजी मानवता भेट्यौ र तिमीले कतै !!
आफु भोको रहेर, सन्तानलाई खुवाउने !
बुवाआमा भन्दा ठुलो ईश्वर देख्यौ र तिमीले कतै !!“
(लेखक, कानुन व्यवसायी, सचेत क्रान्ति का सोचकर्ता, योग साधक, शाकाहारी जीवनशैली एवं सडक वेवारिसे बुवाआमाका सेवक हुनुहुन्छ ।)