2021 January 21/ 10:11: 12am

देश अहिले कोरोना महामारीबाट आक्रान्त छ।दिन प्रतिदिन कोरोना सन्क्रमितहरू पनि बढ्दो क्रममा नै रहेकोछ अर्थात यसलाई ५ बाट ४ मा झार्न सकिए जस्तो छैन । सुरुवातका दिनहरूमा जति भयानक र डरलाग्दो मानसिकतामा रहेपनि पछिल्ला दिनहरूमा जति नै मात्रामा संक्रमणमा बृद्धि भएपनि या दिनकै दर्जन भन्दा बढी मानिसहरूको मृत्यु भएपनि मानिसहरूमा कोरोना संक्रमणको भएबाट मनोबललाई दह्रो बनाउँदै अघि बढ्न थालेको आभाष मिल्छ । हुनपनि कोरोना संक्रमणको भए बोकी कतिन्जेलसम्म आ–आफ्नै घरमा थुनिएर बसिरहने(??) यो पनि सम्भव होइन र रहेन अथवा यो रोग केही होइन, यसबाट डराउनु पर्ने अवस्था केही छैन भनेर जथाभावी हिंड्डुल गर्नाले, यसबाट सुरक्षित रहने कुनैपनि उपायहरू नअपनाउँदा कुनैपनि बेला जुनसुकै उमेर र स्वास्थ्य अवस्थाका मानिसलाई कोरोना संक्रमण हुन गई मृत्यु हुनसक्छ भन्ने कुराबाट पनि पछि हट्न सक्ने अवस्था छैन । अहिले पनि विश्व मानव समाज यहि दुई किसिमको विचार भावबाट अघि बढिरहेको पाइन्छ । संक्रमित नहुनेहरू अर्थात् संक्रमित भएर पनि यो रोगबाट सामान्य मात्र प्रभाव (असर) परेकाहरूको लागि यो रोग ख्यालख्याल नै  रहेको छ भने उता यस रोगबाट ज्यानै गुमाउन पुगेका परिवारहरूको लागि भने यो रोग अत्यन्त गम्भिर वा डरलाग्दो सावित हुन पुगेको छ । यतिसम्म कि कतिपयका लागि यो रोग एउटा हँसी मजाक हुन पुगेको छ भने कतिपयको लागि राजनीतिक च्याँखे बन्नपुगेको छ । ताकी यसै बिषयलाई ठूलो मूद्दा बनाएर यो सरकार स्वास्थ्यप्रति गैर जिम्मेवारी छ भन्ने आरोप लगाई आगामी निर्वाचनको लागि मत बढाउने मूल मसला बनाउन पुगेको छ ।
नकारात्मक सोचका मानिसहरूको वा सरकार इतर पार्टी, ब्यक्तिहरूको बिचार भावना अनि आरोप जे जस्तो रहेपनि सम्पूर्ण जनताको हित र कल्याण गर्नको लागि भनी जिम्मेवारी भै सरकारको बागडोर सम्हाल्न पुगेको नेकपाको यो सरकार जनताको हरेक पक्षमा जिम्मेवार त हुनु पर्छ नै । अहिले आएर यो वर्ग र त्यो वर्ग, यस्तो ब्यक्ती र त्यस्तो ब्यक्तिलाई मात्र सरकारी स्वास्थ्य सुबिधा प्राप्त हुन्छ भनी बिभाजन गर्नु जनताप्रति उत्तरदायी भनिने सरकारको लागि सुहाउने कुरा हैन । लक्षित वर्ग कुन हो र अलक्षित वर्ग कुन हो भनी स्पष्ट छुट्याएर प्रमाणपत्र दिएको अवस्था पनि छैन । नेपालको सन्दर्भमा भन्ने हो भने यसरी निम्न वर्ग र धनी वर्ग भनी छुट्याउन सकिने अवस्था पनि छैन । लिन पाउने ठाउँमा वा लिनको लागि हो भने जतिसुकै धनी भएपनि गरिबको नाम लेखाउन पनि लाज मान्दैन भने कसैलाई फुर्ती नै देखाउन भए दैनिक छाक टार्न धौ–धौ परेकाले पनि आफ्नो( धनको) धाक देखाउन पछि नपर्ने मान्छे पनि प्रसस्तै पाइन्छ यहाँ । तर धनी र गरीब भनी सालिन्दा अभिलेख राखेर परम्पराको नीति कायम गर्न्र नसक्नु अहिलेको सरकारको मात्र कमजोरी नभै शाही शासनको प्रारम्भ देखि नै गलत परम्परा बस्दै आएकोलाई कसैले पनि नकार्न सकिने अवस्था छैन । तैपनि पहिलेको शाही सरकारको पालामा भनौँ या २०४६÷४७ पछिको बहुदलीय शासन ब्यवस्थाको काल भनौ त्यो बेलाको भन्दा बिलकुलै भिन्न खालको शासन ब्य्वस्थाको स्थापना भैसकेको अवस्था अहिलेको रहेको छ । त्यसैले पनि त्यो बेलाको सरकारसँग अहिलेको  सरकारले एउटै समकक्षीमा राखेर तुलना गर्न मिल्दैन । यसकारणले पनि कि त्यो बेलाको सरकारको चिन्तन र राज्य शासन चलाउने प्रकृया नै बिल्कुलै भिन्न खालको रहेकोछ भन्दा कुनै फरक नपर्ला । त्यो बेलाको शाही शासनको मूल ध्येय नै ईश्वरीय अवतार प्राप्त राजा हो र हामी कुनै जनताप्रति जवाफदेहि हुनु छैन । हामी जनताबाट फेरि निर्वाचित हुनुको कुनै दरकार छैन । हामी जन अलोकप्रिय भै हट्नुपर्ने अवस्था पनि आउने छैन । त्यसैले यो राज्य नै हाम्रो पुख्र्याैली सम्पत्ति हो र जनता हाम्रा रैती हुन् । यिनीहरूलाई हामीले जे गरेपनि हुन्छ, जति दुःख, कष्ट भोगेपनि हुन्छ । अझ जनता दुःखकै लागि जन्मिएका हुन । उनिहरूले सुख भोग गर्ने भाग्यमै लिएर आएको छैन । ऐश, आराम, भोग(विलासको जीवन नै हाम्रो हो, दुःख हाम्रो कर्ममा छैन भन्ने सोचाइले नै धेरै वर्षसम्म यो देशमा राजशासनको राज्य गर्न सफल भए । मुठ्ठिभरका केही बाठाटाठाहरूलाई आफ्नो भारदारी सभामा नियुक्त गरेर उनिहरूकै सल्लाह र सुझावमा शासन चलाउने काम गरे । जसको गलत सल्लाह, सुझावकै कारण समय परिवेश अनुरुप शासन संचालनमा सुधार तथा परिवर्तन ल्याउन नखोज्दा सदियौँदेखिको राज परम्पराबाट हात धुनु प¥यो । यहि परम्परावादी सामन्ती चिन्तनकै कारण विश्वका धेरै राजा शासकहरू सत्ताबाट च्यूत हुनुप¥यो।
 यसैले पनि अहिलेको नेकपाको सरकारले सोच्नैपर्ने कुरो के रहेको छ भने यो सरकार माक्र्सवादी दर्शन अवलम्बन गरेको कम्युनिष्टको सरकार हो । हामी सम्पूर्ण रुपमा जनता प्रतिको जवाफदेही सरकार हो । पूँजिवादी चिन्तनको अनुदारवादी व्यवहार भन्दा बिलकुलै फरक छौँ । हामी अझै देशकै अति विपन्न, विपन्न वर्गको हितको खातिर कम्युनिष्टको मूल लक्ष्य हुँदा यिनै वर्गको उत्थान गर्नु हाम्रो पहिलो प्राथमिकतामा पर्छ वा हो भनी सरकार अगाडि बढ्नुपर्ने थियो । तर बिडम्बना छ अहिलेको सरकारमा यो कुनैपनि गुणको लक्षण देख्न सकिएन । दुइतिहाईको बहुमत प्राप्त सरकार बनाउन पाएको यो बेलामा विपन्न वर्गको उत्थान गर्ने आर्थिक नीति ल्याउन सकिन्थ्यो । समाजवादी उन्मुख शासन प्रणाली अगाडि बढाउनमा सरकार, पार्टी लाग्नुपर्ने थियो । निर्वाचन ताकाको तत्कालीन एमाले समेतको कम्युनिष्टलाई जनताले त्यसै भोट दिएको थिएन । राष्ट्रियताको सवाल, जनता र देशको अपार हित हुने कुरामा विश्वास गरेर नै भारी मत टक्¥याएका हुन् । त्यो मतको सम्मान गरेर सरकार अगाडि बढ्नु पथ्र्याे । तर पार्टी आफ्नै आन्तरिक लफडामा रुमलिन पुग्नुको साथै सरकार जन अपेक्षा अनुसार अगाडि बढ्न नसक्नु दुःखदायी बन्न पुगेको छ । बरु कट्टर पूँजिबादी शासन प्रणालीलाई अंगीकार गर्दै सरकार अघि बढिरहेको छ । अहिले पार्टी पद्दति, नीति, सिद्धान्त एउटा बहाना मात्र भएको छ । भित्री मूल गाँठो वा बिवाद भनेको पद र सत्ताको भागवण्डा बन्न गएको स्पष्ट भएको छ । जसले पार्टीप्रति अगाढ माया गर्ने निष्ठावान् कार्यकर्ताहरूको शीर झुकाउने काम गरेको छ, पार्टीको पक्षमा बोल्नको लागि मुख बन्द गरिदिएको छ । विकास निर्माणका क्षेत्रमा करोडको मापदण्ड बनाइ आफ्ना आहुरे बाहुरेहरूलाई ठेक्का( टेण्डर) पार्न लगाई करीब ४० प्रतिशतसम्म हिस्सा मिलाउने बैधानिक प्रावधान बनाई विकास योजनाहरू भ्रष्टहरूको दुहुनो गाई बनाउन पुगेको छ । पन्चायतकालदेखि बस्दै आएको टिएडिए र नानाथरीका भत्ताहरूमा व्यापक बृद्धि गरेको छ । राज्यको राजस्व छुट गरी र गराई झिकाइएका अथवा राज्यकोषको दुरुपयोग गरि खरिद गरिएका करोडौँ मूल्य बराबरका सुबिधाका गाडीहरू ३ महिना, ६ महिना पनि प्रयोग नगरी बेवारिसे रुपमा खेर फाल्ने काम गर्न पुगेका छन् । अलिक खर्च गरेर मर्मत गर्दा हुने गाडीहरूलाई बित्थामा कवाड बनाएको छ अथवा आफन्तहरूलाई उपहार दिने गरेको छ । भूमिगतकालमा चप्पल समेत लाउन नसकेका हाम्रा कमरेडहरूको हालको बिलासी जीवनशैलीले शाही शासनको बिलासी जीवनलाई बिर्साउन पुगेको छ । पञ्चायती खर्च नीति र काँग्रेसको बिलासी नीति भन्दा फरक देखाउन सकेन । क. मनमोहनको नौ महिने सरकारको लोकप्रियताको समकक्षी त के एकछेउसम्म पनि पुग्न सकिएन । कोरोनाको यो महामारीको बेला झनै जनताको अपार हितकार्य गर्ने सुवर्ण अवसर यो थियो । तर यसै कुरामा सबभन्दा आलोच्य बन्ने काम गरेर पचास राम्रा कामहरूलाई छायाँमा पार्ने काम गर्न पुगेको छ । बदनामीको सुरुवात त यहाँबाट भयो कि जब कोरोना महामारीको कारणले बिदेशमा रोजगार बन्द भई स्वदेश फर्कन चाहेका र बिदेशका एयरपोर्टहरूमा अलपत्र परेका नेपालीहरूलाई चाटर्ड विमानको नाममा तीनगुणाभन्दा बढी भाडा तिर्न बाध्य बनाएर गरीवको हित र सेवामा भन्दापनि विमान कम्पनीहरूलाई पोस्ने काम गर्न पुगेको छ । यसबाट नै सरकार कसको हितमा ??काम गर्दैछ भनी प्रष्ट हुँदैगयो । साथै राज्यकोषमा कोरोना संक्रमित बिरामीहरूको खर्चगर्न सकिन्थ्यो वा सकिन्नथ्यो भन्ने कुरा पनि अन्य उल्लेखित क्षेत्रहरूमा गर्न पुगिएको भ्रष्टाचारहरू र बिलासी क्षेत्रहरूमा गरिएको खर्चहरूबाट स्पष्ट भएको छ ।
साँसद, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति, लगायत उच्च पदस्थ कर्मचारीहरूको नाममा विलासी क्षेत्रहरूमा खर्च गर्न र विकासका नाममा अरवौँ अरब भ्रष्टाचार गरि बजेट तथा राज्यकोष सक्न पैसा छ । अहिले कोरोना संक्रमित बिरामीहरूको उपचार गर्न पैसा छैन, खर्च ब्यहोर्न सकिन्न भन्ने गैर जिम्मेवारी कुरा सुन्नु पर्दा कतै यहाँ कम्युनिष्ट नामको नकावधारी डाँकाहरू त सत्तामा पुगेनन भन्ने संका लाग्न थालेको छ । नत्रभने मानिसको जीवन रहे मात्र विकासको काम लाग्छ । उपभोग गर्ने जनतै नभएपछि केका लागि र कसका लागि विकास हो ?कुरा अचम्मको छ । एकातिर मानिसहरू कोरोना संक्रमणले खर्च पु¥याउन नसकेर मर्नु न बाँच्नुको अवस्थामा छन् त कति मरिसकेका छन् । अहिले झन्झन् संक्रमितहरू बढ्न गई उनिहरूको उपचारमा बढी संवेदनशील भएर उपचार सेवा पु¥याउनु पर्नेमा अबदेखी कोरोना बिरामीहरूको खर्च ब्यहोर्न सक्दिनँ भन्नू कहाँसम्म वा कतिसम्म सुहाउँछ? प्रश्न सोध्न नचाहेर पनि यो प्रश्न सोध्न बाध्य भएको छु । सबैको प्रश्न यहि रहेको छ । यसबाट इतर पक्ष मात्र हैन पार्टी समर्थक र शुभचिन्तकहरू समेतमा बितृष्णा जाग्ने काम गर्न पुगेको छ । सत्तामा बसेर जतिसुकै राम्रा कामहरू ग¥यौँ भनेर फलाके पनि जनताले पट्याउन छोडेको छ । राम्रो ठानेका छन् त भ्रष्टहरूले मात्र ठानेका छन् । राम्रो भएको छ त केही अवसरवादीहरूलाई मात्र राम्रो भएको छ । नत्रभने  मानिसको जीवनसंग गाँसिएको यो स्वास्थ्य संकटको अवस्थामा विकासको नाममा भ्रष्टाचार गरि सक्ने बजेटमा कतौती गरेर, उच्च ओहोदाका कर्मचारीहरू लगायत, सेमिनार, गोष्ठी, तालिम, मर्मत, आवास सुबिधा जस्ता क्षेत्रहरूमा कटौती गरेर भएपनि यो कोरोना संक्रमित बिरामीहरूको उपचारमा खर्च ब्यहोर्नु आफ्नो प्रमूख दायित्व ठान्नुपर्छ । यसबाट सरकार पन्छिन वा भाग्न पाउनेछैन, मिल्दैन पनि।
देसको अरबौँ पैसा फर्जी बिल, भर्पाइको भरमा सकिरहेको छ, दुईपैसाको काम नगरी हजारौँ, लाखौँ रुपैयाँ भत्ताको नाममा खर्च भैरहेको छ । करोडौँ रुपैयाँ बिलासी र फजुल क्षेत्रहरूमा खर्च गरिरहेका छन् भने यता पैसाकै अभावमा खर्च पु¥याउन नसकी मान्छेको मृत्यु भैरहेको छ । यसैले पनि साँच्चिकै जनताप्रतिको जिम्मेवारीको बोध छ भने माथि उल्लेखित यावत क्षेत्रहरूमा कटौती गरेर भएपनि जनताको स्वास्थ्य उपचारमा खर्च ब्यहोर्न पहिलो प्राथमिकतामा हाल्नुपर्छ । यद्यपि पछिल्लो समय जनताको व्यापक आलोचना र सर्वोच्च अदालतको आदेश पछि जुन किसिमले कोरोना संक्रमितको उपचार खर्च ब्यहोर्न बाध्य हुनुप¥यो । यो खालको बिमारीको उपचार खर्च विकास बजेट र विभिन्न भत्ताहरू कटौती गरेर भएपनि सरकारले कोरोना उपचार खर्च ब्यहोर्छ, भनिएको भए समस्त जनताको आँखामा सरकार कति प्रिय हुन सक्थ्यो । आखिर गर्नैपर्ने कुरामा पनि सरकार अग्रिम उदार हुन सकेन । अदालतको आदेश पछि भने खर्च ब्यहोर्न सकिने अवस्था कहाँबाट आयो?सबैको प्रश्न यहि बनेको छ । कि अलोकपृयता र आलोच्यको भार बोक्नकै लागि पर्खेर बसिएको हो?, जनता जिज्ञासाको प्रतिक्षामा छन् । 
सरकारको एकपछि अर्को गलत र जनविरोधी कृयाकलापहरुले गर्दा वर्तमान सरकार बाहिरका सम्पूर्ण पार्टीहरू खासगरी भन्ने हो भने प्रमूख प्रतिपक्षी नेपाली काँग्रेस यो सरकारको लोकपृयताको खस्कँदो अवस्थालाई तमासे बनी जुङ्गा मुसारीरहेको छ । पार्टी भित्रको आन्तरिक विवाद र सरकारको गलत कार्यहरुबाट आगामी निर्वाचनमा आफूहरु ठूलो दल भै सरकार बनाउन पाउनेमा आशावादी बन्न पुगेकाछन् । नेकपाको यहि अवस्था यथावत रहेमा सरकार नबनाउला भन्न पनि सकिन्न र नेपालको इतिहासमा कम्युनिष्ट नामको सरकार यहि नै अन्तिम नहोला भन्न पनि सकिन्नँ । पार्टीभित्र चुलिएको विवादले राम्रो संकेत दिएको छैन । पार्टीलाई बलियो, सशक्त र लोकप्रियताको स्वर्णिम अवसरलाई दुई अध्यक्षको घमण्ड र पार्टी बिरोधी कार्यले समाप्त पार्दैछ । इतिहासमा सबभन्दा गद्दार नेताहरुको रुपमा समाप्त हुँदैछ भन्ने कुरालाई पर्खिन धेरै समय लाग्ने देखिन्न । हामी कार्यकर्ता र शुभचिन्तक मात्र हौँ । नेताहरू र पार्टीलाई रामराम भन्नू बाहेक अरू गर्न सकिने अवस्था छैन ।  
हामी कम्युनिष्टहरू पद र सत्ताको लोभी हुनुहुन्न भनी बन्द कोठाहरूमा प्रशिक्षण, पाठ सिकाउनेहरू आज पद र सत्तास्वार्थका लागि सिनोमा गिद्द लोभिए झँ लोभिन पुगेको छ । यसैकारणले कुनैपनि बेला पार्टी फोर्न बेरमान्ने छैन । अहिलेको दुई अध्यक्षको जुधाइको लक्षण र संकेत यहि रहेको देखिन्छ । अहिलेको पार्टी भित्रको किचलो र अहिलेसम्मकै सरकारको इतिहासलाई हेर्दा नेपालमा स्थायी सरकारको भाग्ये नै छैन कि भन्ने महसुस हुन थालेको छ ।