2020 November 30/ 09:43: 06am

मोतीराम तिमल्सिना
    विश्वब्यापी रुपमा संकट निम्त्याएको कोरोना भाईरस कसैलाई पनि नलागोस् । रोग नलाग्नु भनेर फलाकेर मात्रै पनि हुँदो रहेनछ । ब्यक्तिले कायम गर्ने सामाजिक दुरी, स्वास्थ्य प्रति सचेतना अपनाउँदा अपनाउँदै पनि फ्रन्ट लाईनमा खटिएका तथा सर्वसाधारण नागरिकहरुलाई संक्रमण देखिएको छ । संक्रमण लाग्न नदिने तर्फ सचेत हुने, संक्रमणको शंका लागे पछि सहज र सरल रुपले परिक्षण गरेर ढुक्क हुने वातावरणको सिर्जना गर्ने तथा संक्रमण भए पछि गरिने उपचारका बारेमा ध्यान पु¥याउन सकिएन भने कोरोना भाईरसका कारण भन्दा भाईरसको त्रासले ब्यक्तिको निधन अल्पायुमै हुने निश्चित छ । 
सर्वसाधारणहरु अहिले दुई हजार तिरेर परिक्षण गर्न सक्ने हैसियतमा छैनन । सक्ने हैसियतका नागरिकहरुलाई पनि परिक्षण सहज छैन । अस्पतालमा ब्यक्तिहरुको लाईन, स्वाव लिने दिने झण्झट, रिपोर्ट आउने कहिले कहिले ? त्यस पछि हुने परिणामबाट ब्यक्तिहरुले भोगिरहेको सास्ति कसरी बयान गर्न सकिन्छ ? कोरोना भाईरसले ग्रामिण र शहरी क्षेत्रमा अलग अलग समस्या निम्त्याएको छ । शहरमा हुनेहरुलाई अस्पताल नै अनिवार्य छ किनकी भाडामा बस्ने ब्यक्तिहरुका लागि अछुतको ब्यवहारमा ब्यक्ति एक्लैले कसरी धान्न सक्छ ? शहर छाडौ रोजिरोटीको चिन्ता, अस्पताल जाउँ खर्चले धान्न सम्भव छैन । अझ अस्पतालबाट फर्किएर आए पछिको सामाजिक दुब्र्यवहारको कथा पोख्नै सकिदैन । विस्तारै भाईरस एक घर एक ब्यक्तिमा पुग्न थालेको छ । यसले सामान्य त बनाउँदै छ त्यतिबेलासम्म निर्दाेष ब्यक्तिले सरकार, समाज, घर परिवारका कारण अकालमा ज्यान गुमाई सक्नेछ । 
२०७७ कार्तिक १९ गते बुधबार (आँठौ दिन) हाल म होम आईसोलेसनमा छु । २०७६ चैत्र ११ गते देखि सरकारले गरेको लकडाउन होस वा निरन्तर कोभिड नियन्त्रण, रोकथाम र ब्यवस्थापनमा खटिएको ८ महिना पछि कोरोना भाईरसको आक्रमणमा परें । धेरै पटक नजिक भएका ब्यक्तिहरु संक्रमित हुँदा पनि आफुले आफैलाई उच्च मनोबलका साथ कार्य क्षेत्रमा खटिएको थिएँ । तर पनि मेरो कार्य क्षेत्रमा अवरोध सिर्जना गर्ने गरी २०७७ कार्तिक १९ गते भाईरसले प्रवेश पायो । केहि दिन अघि लक्षणहरु देखिएका थिए । कोभिडकै कारण जिल्लाका अग्रज आदरणिय पत्रकार दाजु विष्णु चौलागाईको निधन भएको कार्तिक १४ गते विहानै ओम अस्पताल चाहविल पुगेको थिएँ । त्यसको दुई दिन अघि सिनामंगल पुगेको थिएँ । भोलीपल्ट पनि काठमाडौ गएर फर्किने क्रममा मलाई चिसोका कारण टन्सिल बढेको हो कि ? भन्ने शंका थियो । शनिबार दिनभर कार्य क्षेत्रमै रहेकाले खासै मतलब पनि भएन । आईतबार रातिबाट घाँटीको अड्किएको एउटा छेस्को जस्तोको अवरोध कोभिडमा परिवर्तन भयो । टन्सिलको औषधी खाँदै गर्दा राति राति आउने ज्वरो, पखाला, रुखाखोकीले कोभिडको नजिक पु¥यायो । अन्ततः स्वास्थ्यकर्मीहरुको परामर्शमा परिक्षण गरी कोभिड विरुद्धको अभियानमा आईसोलेसनबाट संर्घष शुरु गरिरहेको छु । यो बीचमा स्व. विष्णु चौलागाईले कोरोनाकै कारण ज्यान गुमाउन पुग्नु भयो । हिजो बुधबार नै उहाँको १३ औ दिनको श्रद्धाञ्जली सभा नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आयोजना गरेको थियो । त्यसमा पनि कोभिडकै कारण उपस्थित हुन सकिन । स्व. विष्णु दाई प्रति सच्चा श्रद्धाञ्जली ब्यक्त गर्दछु । 
    जिम्मेवारीका हिसावले म जिल्लाका संचारकर्मीहरुको अध्यक्ष छु । जिल्लाबाट प्रकाशन हुने इतिहास बोकेको २७ वर्ष प्रवेश गर्दै गरेको चेष्टा साप्ताहिकको कार्यकारी सम्पादक, प्राईम एफ एम १०४.५ मेगाहर्ज, धुलिखेल नगरपालिकाको प्रेस सल्लाहकारको रुपमा कार्यरत छु । राष्ट्रिय दैनिक नेपाल समाचार पत्रको जिल्ला प्रतिनिधि छु । जिल्लामा १० जना संचारकर्मी संक्रमित भईसक्नु भएको छ । ममा संक्रमणको पुर्वाभाष थियो । घर परिवारका सदस्यहरु पनि सँगै खाना खाए पनि बसोबास अलग गरिसकेको थिएँ । संक्रमणको सूचना आए लगत्तै एकखालको सन्नाटा छायो । त्यो रात त निद्रा पनि परेन । शुभचिन्तक र आफन्तहरुका फोन र म्यासेजले नै रात गयो । भोलिपल्ट देखि ब्यहोर्नु परेको मानसिक पीडाले ब्यक्ति कोरोना भाईरसले होईन ब्यक्तिको ब्यवहारबाट मृत्युको मुखमा पुग्छ कि ? भन्ने भान भयो । समाजमा, टोलमा अनि समुदायमा योगदान पु¥याएका ब्यक्तिहरुलाई त समुदायका ब्यक्तिहरुले गर्ने ब्यवहार निच छ भने सर्वसाधारणले कोभिड १९ को संक्रमण पछि कस्तो अवस्था ब्यहोर्नु परेको होला ? घर अघिको बाटोमा समेत छेउ छेउ लाग्ने, फोन गर्दा समेत भाईरस सर्छ जस्तै गर्ने ? अझ नजिकका ब्यक्तिहरु नै कोरोना सर्छ भनेर अनुहार समेत नहेर्ने प्रवृत्तिले ब्यक्तिको मनोबल उचो होईन निराशा पैदा गरिरहेको छ । केहि सुधार पनि भएको छ । अहिले भाईरस भएका ब्यक्तिहरुसँग पनि सामाजिक दुरी राखेर भेटघाट गर्ने, एक्लो महसुस हुन नदिने, शरिरमा भाईरससँग लड्ने क्षमता बृद्धी गर्ने आवश्यक बस्तुहरुको ब्यवस्थापनमा सहयोग गर्ने र हौसला प्रदान गर्ने कार्यले ब्यक्तिले भाईरस चाँडै जित्न सक्छ । त्यो हुनु जरुरी छ । सर्वसाधारणको हकमा पनि त्यो आवश्यक छ । 
तितो सत्य र अनुभुति के हो भने संक्रमणको रिपोर्ट आउनु एक घण्टा अघि आफैले पानी खान दिएका ब्यक्तिहरु संक्रमणको खवर सुने लगत्तै मुख बटारेरे हिडे । जो आजसम्म बोलेका छैनन । संकटमा म चाहिने, हर समय म चाहिने तर भाईरसको खवर सुने लगत्तै बटारिने, तर्कने र आफुलाई कहिल्यै कोरोना लाग्दैन झै गर्ने आदरणिय ब्यक्तित्वहरुलाई कहिल्यै कोरोना मात्रै होईन कुनै खालका भाईरसले प्रवेश नपाओस शुभकामना । सरकारले परिक्षण र उपचारमा सहज गरोस । सक्ने र हुनेहरुले आफै परिक्षण र उपचार गरौं । नसक्ने र सम्भव नभएकाहरुका लागि सरकारले उपलब्ध गराएको सुविधा प्रयोग गरौं । समाजमा कोरोना भएका ब्यक्तिहरुलाई फरक ब्यवहार गर्नेहरुलाई कहिल्यै कोरोना नलागोस् । शुभकामना । (लेखक नेपाल समाचार पत्र दैनिकका काभ्रे जिल्ला प्रतिनिधि हुनुहुन्छ ।)