2020 October 21/ 11:19: 57am

रमेश अधिकारी
कुलमान घिसिङ् विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्नियुक्तिको विषयले अहिले सामाजिक सञ्जाल तताएको छ । वि.सं. २०७३ साल भाद्र २९ मा विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भए पछि सर्वसाधारणले कल्पना नै नगरेको अवस्थामा प्राथमिकताका क्षेत्र र स्थान विशेषलाई आधार मानेर काठमाडौं उपत्यका लगायतका आसपासका क्षेत्रहरु जसमा काभ्रेका केहि क्षेत्र समेतलाई लोडसेडिङ्गमुक्त क्षेत्र घोषणा गरियो र क्रमशः यो कार्यक्रमलाई देशैभर विस्तार गरेर एउटा चमत्कारकै ्रुपमा उनले आफ्नो योग्यता र क्षमता उजागर गरेको विषयमा कसैको नकारात्मक टिप्पणी छैन र हुनै सक्दैन यदि छ भने त्यस्ता मानिसहरुप्रति केहि न केहि शंका गर्ने ठाउँ रहन्छ नै । आफ्नो नियुक्ति देखि अवकाश सम्म नै निरन्तर चर्चाको शिखरमा रहि नै रहेका कुलमानले कार्यकाल समाप्ति सँगै अवकाश पाए पछि उनलाई सोहि जिम्मेवारीमा पुनः नियुक्तिको लागि                                                                    जनस्तरबाट सरकारलाई निरन्तर गहिरो दबाब परिरहेको अवस्था अहिलेको यथार्थ हो ।
सर्वसाधारणले भित्रि गुह्य कुराहरुको बारेमा त्यति जानकारी पाउन सक्दैनौ, बाहिर देखिने र उनीहरुको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने विषयलाई मात्र उनीहरुले देख्ने भोग्ने र बोल्ने हो, यसमा केहि मानिसहरुले राजनीतिक र अन्य कारणले प्रतिशोधको भूमिका पनि निभाउलान् अथवा त्यो कुरालाई राजनीतिक लाभका लागि उपयोग पनि गर्लान्, जे भए पनि कुलमानलाई सामान्यतया लोडसेडिङ हटाउने व्यक्तिको रुपमा हरेक नेपालीले चिनेको छ, १४ देखि १८ घण्टा सम्मको लोडसेडिङ त्यो समयको उल्लेख गरि नसक्नुको दर्दनाक पीडाको विषय थियो, सो समयमा आगामी वर्षमा समेत उत्पादन र मागको ठूलो असन्तुलन रहेकोले १८ घण्टासम्म लोडसेडिङ हुन सक्छ भन्ने पूर्वानुमान प्राधिकरणकै जिम्मेवारहरुले विभिन्न सञ्चार माध्यम मार्फत दिएको अवस्थामा उनको नियुक्ति पछि जब कार्यभार सम्हाले अप्रत्यासित रुपमा लोडसेडिङ घटाएर छोटो समयमै देशलाई चौबिसै घण्टा विजुली आउने वातावरण बनाउनुले उनको लोकप्रियता चुलिन पुग्यो र तत्कालीन अवस्थामा यो उचाई उनले लिनु स्वभाविक पनि थियो ।
नियुक्त भएकै वर्ष काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त बनाए भने क्रमशः २०७५ वैशाख महिना देखि देशका सबै क्षेत्रलाई लोडसेडिङ मुक्त वनाइयो, यो उनको सर्वसाधारणले देखे भोगेको प्रत्यक्ष उपलब्धि थियो र यसै कारणले अहिले उनको पक्षमा दर्बिलो रुपमा जनमत प्रकट भैरहेको छ ।  उनको यो सफलता सँग अरु कसैको असफलता र उनको लोकप्रियतासँग अरु कसैको अलोकप्रियता जोडिन आउनुले असन्तुष्टहरुको एउटा झुण्ड उनी माथि घुमाउरो बाटोबाट सदा आक्रामक रहे र अहिले पनि रहि नै रहेका छन् । १८ घण्टाको लोडसेडिङ यति छोटो समयमा शुन्यमा झर्नु र झार्नुले उनको कार्यदक्षताको प्रशंसा सँगै यसअघिका कर्मचारीहरुको विषयमा शंकाको घेरा बाक्लिन पुग्यो । नियुक्ति हुँदाका बखत ३५ अर्ब घाटामा रहेको प्राधिकरण यस अघिल्लो वर्षमा सरकारी संस्थानहरु मध्ये अधिकतम् नाफा आर्जन गर्ने संस्था बन्न पुग्यो । जहिले पनि चुहावटको समस्या देखाउने प्राधिकरणले यसै अवधिमा २६ प्रतिशतको चुहावटलाई १५ प्रतिशतमा झार्न सफल भएको तथ्यांकले देखाउँछ, यो पनि उनको कार्य कालको उपलब्धिको रुपमा रह्यो । 
केहि त्यतिबेलाका विद्युत प्राधिकरण सम्बद्ध पदाधिकारीहरु उनको यो लोकप्रियतालाई रुचाइ रहेका छैनन्, काम गर्ने भन्दा प्रचारमुखी भएको आरोप उनी माथि लागि रहेको छ । उनलाई भारतबाट आयातित बिजुलीले लोडसेडिङ घटाएको, त्यस्तो खास कुशलताको प्रयोग गरेको नभै यसअघि नै अरुहरुले निर्माण गरिदिएको पूर्वाधारलाई उपयोग गरेर एकलौटी जस लिएको आरोप समेत उनलाई लगाइएको छ । निर्माणाधिन ६० मेघावाटको त्रिशुली थ्री ए, चमेलिया र कुलेखानी ३ जस्ता आयोजना उनकै कार्यकालमा सम्पन्न भए जसले उनलाई जस लिने वातावरण निर्माणमा सहयोग पु¥यो । तर केहि आयोजनाहरु उनको कार्यकालमै सम्पन्न हुनुपर्नेमा अझै ढिलो भएको, सम्पन्न गराउन नसकेकोले झन् खर्चिलो बन्दै गएको आरोप पनि उनी माथि लागेको छ, त्यसै अन्तर्गत पर्दछ ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना पनि, हुन त भूकम्प र त्यसपछि विभिन्न घटनाक्रमहरुले उक्त आयोजनालाई समयमा सम्पन्न गर्ने कार्यमा बाधा पु¥यायो तैपनि यो आरोप कुलमान माथि दर्बिलो रुपमा लागि रहेको छ । केहि उल्लेख्य कामहरुको थालनी उनकै कार्यकालमा भएका छन्, जसलाई उनले पूरा गर्न पाएनन्, बिजुलीका तारहरुलाई भूमिगत गर्ने र जमिनलाई पोल रहित पार्ने, स्मार्ट मिटर जडान गर्ने, ग्रिडहरुलाई स्वचालित बनाउने, ढल्केवर मुजफ्फरपुर प्रसारण लाइन स्तरोन्नती गर्ने दोश्रो अन्तरदेशिय प्रशारण लइन निर्माण गर्ने जस्ता कार्यहरु सम्पन्न गर्न सकेनन् वा भ्याएनन, त्यसैगरी कार्यकालको अन्तिम समयमा आएर उनलाई डेडिकेटेड र ट्रंक लाइनको महशुल विवादमा पनि मुछियो । त्यसैगरी कर्मचारीहरुप्रति उनको व्यवहार आदेशात्मक र निर्मम रहेको तथा आफ्नो लोकप्रियताको घमण्डमा राजनीतिक नेर्तत्वलाई नटेर्ने गरेको आरोप पनि उनी माथि लाग्यो ।
यसरी हेर्दा कुलमान तुलनात्मक रुपमा कुशल योजनाकार र सफा चरित्रका नेतृत्कर्ताका रुपमा देखापर्दछन्, कुनैपनि संस्थालाई पुरातन परिपाटीबाट एउटा नयाँ पद्दतिमा हिडाउनु सजिलो काम हैन, जोखिम मोलेर उनले त्यो काम गरे, कुनैपनि काम प्रभावकारी रुपमा सम्पन्न गर्न त्यसको नेतृत्वले  त्यहाँका सहयोगी, जिम्मेवार कर्मचारी र जनताको समेत सहयोग आवश्यक पर्दछ साथै कार्य सम्पन्न गर्न समय पनि अनुकुल रहनु पर्दछ, मात्र एउटा व्यक्तिको रुपमा काम गरेको भए कुलमानले केहि गर्न सक्थे ज्यादा सम्भव थिएन । उनले जे गर्न सके त्यसको श्रेय उनी आफैंले सरकार, कर्मचारी र सम्बन्धित सरोकारवालाहरुलाई समेत दिएर बोलि रहेको अवस्थामा हामीले त्यसलाई सकारात्मक रुपमा लिन आवश्यक छ ।
कुलमानको शिष्टता र मिहेनत प्रशंसा योग्य छ, उनले यो सफलताको कारण आफ्नो टिम र राजनीतिक नेतृत्वको साथ समेत रहेका बताई रहँदा केहि मानिसहरुले त्यसलाई नजर अन्दाज गरी रहेको अवस्था देखिएको छ । एउटा महान् मानिसले कुनैपनि कामको सफलताको जस एकलौटी रुपमा लिन मान्दैन जुन कुरा कुलमानमा देखियो तर सडकमा हामी त्यसको उल्टो रुपमा प्रस्तुत हुन पुग्यौं । उनलाई उनका सहकर्मी र राजनीतिक नेर्तत्वको साथले नै यति चर्चामा ल्यायो, एउटा कालखण्डमा एउटा मानिसले यो स्तरको सम्मान र स्थान पाउन पनि त्यसै रुपमा घटनाक्रमहरु विकास हुनु जरुरी छ, लोडसेडिङको दर्दनाक पीडा, तत्काल हट्ने सम्भावना शुन्यप्राय र तत्कालीन जिम्मेवार व्यक्तिहरुले सामान्य भन्दा सामान्य कुरामा समेत गरेको लापरवाही र जिम्मेवारीप्रतिको उदासीनताले त्यो अवस्थामा कुलमानको नेतृत्वमा जुन कदमहरु चालियो त्यो जनताको लागि नसोचेको उपलब्धि भयो । एउटा संस्था सुध्रन नेतृत्व तह कुशल हुनुपर्छ भन्ने उनी एउटा उदाहरण बन्न पुगेका छन् ।
अहिले उनलाई पुनः सोहि पदमा निरन्तरता दिनुपर्छ भन्ने व्यापक आवाज उठिरहेको छ, उनको कार्यकाल दोहा¥याउनु राम्रो हुन्छ तर उनलाई अन्य कुनै क्षेत्रमा राज्यले उपयोग गर्ने र उनले स्थापित गरेको प्रणालीलाई अघि बढाउने जिम्मा अर्काे कुनै योग्यता प्राप्त व्यक्तिलाई दिँदा पनि खासै फरक पर्दैन, उनको चाहना गर्नु उनी प्रतिको सम्मान हो । अब लोडसेडिङको सम्भावना उनी वा अरु कोहि आए पनि सामान्य अवस्थामा रहदैन ।
वर्तमान नारा जुलुसले एउटा शन्देस भने दिएको छ, सहिकार्यको मूल्यांकन जनताले गर्छन् र साथ दिन्छन् गलत गर्नेलाई यो एउटा खबरदारी पनि हो, अब व्यक्तिगत लाभका लागि कोहि गलत काममा लाग्छ भने त्यसको बर्खिलाफमा जनता सडकमा आउँछ र त्यो मानिस सामाजिक वहिस्कारमा पर्छ । त्यसैले कुलमान कार्यकारी निर्देशक पदमा दोहोरिए ठीकै भयो हैन त्यसो भएन भने पनि उनको कुशलता दक्षता सीप र इमान्दारीताको उपयोग राज्यले कुनै न कुनै क्षेत्रको जिम्मेवारी दिएर उपयोग गर्नै पर्दछ । समाप्त