2020 May 31/ 07:14: 14pm

–शिवराम आचार्य
    विश्व रेडक्रस अभियानका संस्थापक  जाँ हेनरी ड्युनाको जन्म सन् १८२८ मे ८ मा स्वीट्जरल्याण्डको जेनेभा सहरमा भएको हो । व्यापारको सिलसिलामा अल्जेरियामा मिल स्थापना गर्न फ्रान्सका सम्राट नेपोलियन द्वितीयलाई भेट्न बाटोमा जाँदै गर्दा इटालीको लोम्बार्दित प्रदेशमा पर्ने सल्फेरिनो पुगेका थिए । सल्फेरिनोमा अष्ट्रिया, फ्रान्स र इटालीबीच भिषण युद्ध भइरहेको थियो । सोह्र घण्टासम्म चलेको युद्धबाट चालीस हजारभन्दा बढी सैनिकहरु हताहत भएका थिए भने हजारौँ घाइते सैनिकहरुको हृदय विदारक घटनाको दृष्य हेनरी ड्यूनाले देखे तर घटनास्थलमा कुनै प्रकारको प्राथमिक उपचारको व्यवस्था थिएन । यस अवस्थामा ड्यूनाले नजिकका गाउँलेहरु त्यसमा पनि धेरै महिलाहरुको सहयोगमा विश्वमा नै पहिलो पटक घाइतेहरुको निष्पक्ष र निस्वार्थ प्राथमिक उपचार गरे । आफ्नो व्यावसायिक सोचलाई बिर्सिएर ड्युना स्वदेश जेनेभा फर्किए पष्चात सन् १८६२ मा सल्फेरिनोको दुःखद घटनाको यथार्थ वर्णन गरेर ‘सल्फेरिनोको स्मृति’ नामक पुस्तक प्रकाशित गरे । उक्त स्मृति प्रकाशन पश्चात स्विटजरल्याण्डकै चार जना व्यक्तिहरु जनरल जिएच ड्यूपो, गस्ताफ मोनियर, डा.लुई आपिया र डा.थियोडर मोनियले ड्यूनाको सपना साकार पार्न सम्पर्क राखे । उनीहरुले ड्यूनाको अभियानलाई साथ दिने प्रण गरे ।
    सन् १८६३ को अक्टोबर २६–३० सम्म १६ राज्यका ३२ जना प्रतिनिधिको उपस्थितिमा घाइतेहरुको सहयोगका निम्ति अन्तर्राष्ट्रिय समिति नामक संस्थाको स्थापना गरे । त्यसै समयमा स्वीट्जरल्यान्ड देशको राष्ट्रिय झण्डाको विपरीत रंग, अर्थात् सेतो पृष्ठभूमिमा रातो क्रस भएको रेडक्रस चिन्हको प्रारम्भ गरियो । अहिले हेनरी ड्युनाले प्रार्दुभाव गरेको रेडक्रस विश्वमा १९२ राष्ट्रहरुमा सक्रिय रुपमा कार्यरत छ । सुरुमा हेनरी ड्युना रेडक्रसको संस्थापक महासचिव र अध्यक्ष जीएच ड्युफो थिए । सन् १९०१ मा उनलाई शान्तिका लागि पहिलोपटक नोबेल पुरस्कार प्रदान गरियो । ड्युनाले पुरस्कारको धनराशी वृद्धाश्रमको कोषमा सेवासुविधाका लागि हस्तान्तरण गरे । यसरी मानवीय सेवामा निरन्तर तथा निष्पक्ष रुपमा लागिपर्ने विश्वव्यापी संस्थाका संस्थापक महामानव हेनरी ड्युनाको सन् १९१० अक्टुबर ३० तारिखका दिन जेनेभामा मृत्यु भयो ।
    सोही समितिलाई सन् १८७५ मा रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) नामकरण गरियो । सन् १८६४ मा जेनेभामा भएको पहिलो कुटनीतिक सम्मेलनबाट पहिलो जेनेभा महासन्धि पारित गरियो भने सन् १९१९ मा ‘लीग अफ रेडक्रस सोसाइटीज’ को गठन भयो । सन् १९८३ देखि लीग अफ रेडक्रस एण्ड रेडक्रिसेन्ट सोसाइटीज भन्न थालिएकोमा सन् १९९१ मा हालको प्रचलित नाम इन्टरनेशनल फेडेरेशन अफ रेडक्रस एण्ड रेडक्रिसेण्ट सोसाइटीज (आईएफआरसी) नामाकरण गरिएको थियो । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) रेडक्रस तथा रेडक्रिसेन्ट राष्ट्रिय सोसाइटीहरु र इन्टरनेशनल फेडेरेशन अफ रेडक्रस एण्ड रेडक्रिसेण्ट सोसाइटीज (आईएफआरसी) रेडक्रस अभियानका अंगहरु हुन् ।
    रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले सशस्त्र द्वन्द्व पीडितहरुका लागि संरक्षण र सहयोग, अन्तर्राष्ट्रिय मानवीय कानुनको संरक्षण र प्रवद्र्धन, राष्ट्रिय सोसाइटीहरुलाई मान्यता प्रदान र सहयोग, राष्ट्रिय सोसाइटीहरुको क्षमता अभिवृद्धिमा सहकार्य र सहयोग गर्ने कार्य गर्दछ भने इन्टरनेशनल फेडेरेशन अफ रेडक्रस एण्ड रेडक्रिसेण्ट सोसाइटीज (आईएफआरसी) ले राष्ट्रिय सोसाइटीहरुको क्षमता अभिवृद्धि र विकासमा सहयोग, प्राकृतिक प्रकोप पीडितका लागि अभियानको अन्तर्राष्ट्रिय सहयोगको समन्वय, प्राकृतिक प्रकोप पीडितलाई सहयोग र राष्ट्रिय सोसाइटीका मानवीय कार्यमा सहयोग र सहकार्य गर्ने गरेको छ । त्यसैगरी रेडक्रस तथा रेडक्रिसेन्ट राष्ट्रिय सोसाइटीहरुले सशस्त्र द्वन्द्व र प्रकोप पीडितहरुलाई सहयोग, अति संकटाभिमुख समुदायको लागि स्वास्थ्य तथा मानवीय सेवाका कार्यहरु, रेडक्रसका आधारभूत सिद्धान्तको प्रचार प्रसार, अन्तर्राष्ट्रिय मानवीय कानुनको प्रचार प्रसार र मानवीय मूल्यको प्रवद्र्धन, संगठन विस्तार र विकास जस्ता कार्यहरु गर्दछन् । रेडक्रसको अन्तर्राष्ट्रिय सम्मेलन रेडक्रस अभियानको सर्वोच्च र निर्णायक अंग हो । हरेक ४–४ वर्षमा हुने यस सम्मेलनमा राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरु जेनेभा महासन्धिमा हस्ताक्षर गर्ने राष्ट्रहरुका सरकारी प्रतिनिधिहरु, आईसीआरसी र आइएफआरसीका प्रतिनिधिहरुले भाग लिन्छन् ।
    नेपालमा विश्वमा रेडक्रस अभियान प्रारम्भ भएको एकसय बर्षपछि स्वास्थ्य मन्त्रालयको आव्हानमा वि.सं. २०२० साल भदौ १९ गतेका दिन विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु तथा विशिष्ट व्यक्तिहरुको तत्कालीन स्वास्थ्यमन्त्री डा. नागेश्वरप्रसाद सिंहको सभापतित्वमा सिंहदरबारमा सभा बस्यो र सो सभाबाट प्रिन्सेप साहको अध्यक्षतामा २१ सदस्यीय एक तदर्थ समिति गठन गरियो । जसको उपाध्यक्षमा डा. नागेश्वरप्रसाद सिंह र सेक्रेटरीमा डा. जयनारायण गिरी छानिनु भयो । सो समितिको काँधमा नमूना विधान तयार गर्ने, सरकारलाई जेनेभा लोकसम्मतिमा हस्ताक्षर गर्न अनुरोध गर्ने र विधिवत् निर्वाचन गराउने तीन मुख्य जिम्मेवारी थियो । सम्बन्धित राष्ट्रिय सरकारले जेनेभा लोक सम्मतिमा हस्ताक्षर गरेपछि मात्र राष्ट्रिय रेडक्रस सोसाइटी गठन गर्न सकिने प्रावधान रहेकाले तदर्थ समिति समक्ष यो प्राथमिक आवश्यकताको रुपमा रहेको थियो ।
    वि.स. २०२० साल माघ २४ गते नेपाल सरकारले जेनेभा महासन्धिमा हस्ताक्षर गरी अन्र्तराष्ट्रिय रेडक्रसको जिम्मेवार अङ्ग बनेको थियो । तत्पश्चात वि.स. २०२१ असोज १६ मा नेपाल रेडक्रस सोसाइटी अन्तर्राष्ट्रिय रेडक्रस समिति, (आईसीआरसी) ले मान्यता प्रदान गर्यो, यसैको भोलीपल्ट तत्कालीन लीग हाल अन्र्तराष्ट्रिय महासंघ (आइएफआरसी) को सदस्यता प्राप्त गरी नेपाल रेडक्रस पनि अन्तर्राष्ट्रिय रेडक्रस अभियानको एक अभिन्न अङ्ग (राष्ट्रिय सोसाइटी) बन्न पुग्यो । मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, स्वयमसेवा, एकता र विश्व व्यापकता जस्ता आधारभूत सात सिद्धान्तमा आधारित नेपालको सबैभन्दा ठूलो मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटीले मानवीय सहायता, मानव जीवन एवम् स्वास्थ्यको रक्षा र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा आशाजनक कामहरु गर्दै आइरहेको छ । 
    हाल नेपाल रेडक्रस सेसाइटीमा यसस्कर सदस्य ७१२, बिशिष्ट सदस्य १,९१६, आजीवन सदस्य १,९८,५५९, साधारण सदस्य २३,१४०, जुनियर युवा सदस्य ८,५२,४६८ र संस्थागत सदस्य ४४ सहित राष्ट्रिय सञ्जालमा केन्द्रीय कार्यसमिती १, प्रदेश कार्यसमिती ७, जिल्ला शाखा ७७, उपशाखा १५३७, जुनियर सर्कल ४५०३ र युवा सर्कल १७५२ आबद्व छन्। समय परिस्थितिसँगै रेडक्रसले काम गर्ने तौरतरिका र कार्य क्षेत्रमा ज्यादै ठूलो विविधता र व्यापकता आएको छ । स्थापनाको ७७ वर्ष सम्म रेडक्रस ऐन विना सञ्चालन भइरहेको वृहद संस्थालाइ पारदर्शी, विष्वसनीय र प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल रेडक्रस ऐन यथासिघ्र वनाई कार्यान्वयन गर्नु अत्यावश्यक छ ।