यादव थापा
पृथ्वी, तारा, हावा, पानी, नदी र वनस्पतिलाई प्रकृति भनि परिभाषित गरिएको छ, त्यसैगरी ग्रह, तारा, नक्षेत्र, अन्तरिक्ष आदिको सम्पूर्णता बुझाउने शब्दलाई ‘ब्रम्हाण्ड’ अर्थात अनन्त लोक भनिएको छ । अनि पृथ्वी र अन्य ग्रहहरु, नक्षेत्र र ताराहरुको बीच रहेको खाली ठाउँलाई अन्तरिक्ष भनिन्छ । सूर्यको परिवेश भित्र रहेका गृह तथा उपग्रहको समूह सौर जगत हो । नवग्रह भनेर पूर्वीय ज्योतिषशास्त्रले सूर्य, चन्द्र, मंगल, बुध, बृहस्पति, शुक्र, शनि, राहु र केतुलाई मानेको छ भने पश्चिमी ज्योतिष शास्त्रले राहु र केतुलाई अरुण र बरुण नाम दिएको छ । ज्योतिष विज्ञानले २७ ताराहरुको समूहलाई २७ नक्षेत्र र १२ नक्षेत्रको समूहलाई १२ राशी (मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर र कुम्भ) नामांकरण गरिएको छ ।
हामी बसेको पृथ्वी ब्रम्हाण्डमा रहेका ग्रहहरुमध्येको एउटा ग्रह हो । ब्रम्हाण्डमा रहेका अन्य ग्रहहरुमा हावा पानी र वनस्पति नभएको कारण त्यहाँ मानववस्ती वा जीवहरुको विकास हुन सकेन । पृथ्वीमा मानव र अन्य प्राणीहरुको लागि उपयुक्त हावापानी र वातावरण भएकोले यहाँ मानिस, जीवजन्तु र वनस्पतिको विकास हुन सकेको हो । पृथ्वीको उत्पत्ति बारे विभिन्न धार्मिक ग्रन्थमा आ–आफ्नै किसिमले व्याख्या र वर्णन गरेको पाइन्छ, ती सबैको यहाँ वर्णन गरिसाध्य छैन । अर्काे हाम्रा प्राचीन धार्मिक ग्रन्थमा उल्लेख गरिएको स्वर्ग, मत्र्यमण्डल र पाताल पनि यहि पृथ्वी नै हो । पृथ्वीको उच्च भाग र हिमालयका श्रंखलाहरु जहाँ सफा, सुन्दर छ, प्रदूषण छैन, स्वस्थ र बलियो व्यक्ति मात्र त्यस्तो ठाउँमा पुग्न र बाँच्न सक्छ, त्यहि ठाउँ स्वर्ग हो । अहिले पनि हाम्रो मुक्तिनाथ स्वर्गद्धारी, ब्रदी, केदार आदि जस्ता धार्मिक स्थलहरु उच्च पहाडी र हिमाली क्षेत्रहरुमा रहेका छन् । पृथ्वीको बीच भाग जहाँ असंख्य देश र मानिसहरु रहेका छन् जहाँ सबैको लागि बाँच्न सहज वातावरण छ, पृथ्वीको एसिया, यूरोप, उत्तर दक्षिण, अमेरिका र अष्ट्रेलिया महादेश रहेका स्थानहरुलाई मत्र्येमण्डल भनियो । ती महादेशहरुमा अहिले बाक्लो मानववस्ती रहेको छ । धार्मिक शास्त्रमा उल्लेख भएको पाताल वा नर्कलोक चाहिँ अफ्रिकी महादेशभित्र पर्दछ । जुन महादेशलाई अहिलेका विज्ञान र भूगोलले पनि अन्धकार महादेशको नाम दिएको छ । अफ्रिकी महादेशको वर्तमान हावापानी, वातावरण मानिसको सहज जीवन यापनको लागि त्यति उपयुक्त छैन र मानिँदैन । प्रायः काला जातिहरुको बसोबास भएको देशहरु इथियोपिया, सोमालिया र रुवाण्डाको अवस्था दयनीय रहेको छ ।
फिरन्ते अवस्था र ढुंगेयुगबाट सुरु भएको मानव विकास अहिले विज्ञान र कम्प्युटरको युगसम्म आइपुग्दा पनि विकासको क्रम रोकिएको छैन । मानिसले प्रकृतिसँग संघर्ष गर्दै पृथ्वीमा आफ्नो बसाईलाई अनुकूल र सुविधायुक्त बनाउँदै आइरहेको छ । मानिसले खोला पार गर्न डुंगा बनायो, पुल बनायो, दूरी पार गर्न मोटर, हवाइजहाज र रकेट बनायो, पानीबाट विद्युत निकाल्दै सिंगो पृथ्वीमा रहेका र पाइने वस्तुहरुलाई आफू अनुूकूल उपयोग गर्दै आइरहेको छ । त्यति मात्र होइन विकासको साथसाथै विभिन्न खालका युद्ध हतियार र क्षेप्यास्त्रको निर्माण गरेर मानव सभ्यताको अन्त्य र विनाशको खाल्डो पनि खनिरहेको छ मानवले । हामी बसेको पृथ्वी र ब्रम्हाण्ड एउटा अपार, अनन्त र अथाह पाठशाला हो, जसको अध्ययन र खोज कहिले पूरा हुँदैन । करोडौं वर्षदेखि ब्रम्हाण्डमा रहेका सौर्यमण्डल, तारामण्डल अन्तरिक्षमा कसरी रहेका छन्, कसरी अडिएका छन् । पृथ्वीमा भन्दा नौ गुना ठूलो र पृथ्वीबाट नौ करोड ३० लाख माईल टाढा रहेको सूर्य लाखौं लाख वर्षदेखि बलिरहेको छ, सूर्यलाई ग्याँसको डल्लो भनिएको छ, त्यसरी अनन्तकालदेखि निरन्तर बलिरहने त्यो अपार र विशाल ग्याँसको भण्डार कहाँ रहेको होला ? यदि कुनैदिन त्यो ग्याँसको भण्डार रित्तिएर सूर्य चम्किन छोड्यो भने यो पृथ्वीको चन्चल सृष्टिको अवस्था के होला, यी सबै रहस्यमय र कौतुलका विषय हुन् । अनि त्यसैगरी यो विशाल पृथ्वीको दैनिक गतिले दिन र रात अनि वार्षिक गतिले ऋतु परिवर्तन हुने गर्दछ, यदि पृथ्वीको गति केहि समय रोकियो भने के होला ? सौर्यमण्डलका ग्रह र उपग्रहहरु आफ्नो कक्षाबाट बाहिर गएर घुम्न थालेर एक आपसमा ठोकिन पुगे भने के होला ? यी सबै रहस्यमय जिज्ञासा हुन् । यस अर्थमा प्रकृतिलाई सबैभन्दा शक्तिशाली र अनुशासित शक्ति मानिएको छ, किनकी ब्रम्हाण्डमा रहेका सबै ग्रहहरु र प्राकृतिक वस्तुहरु अनुशासित रुपमा संचालित भएको कारण नै यो मानव सभ्यता टिकेको छ । विश्वमा हाल विज्ञान र प्रविधिले गरेको विकास र विनाशका आविष्कारहरु प्राचीन र पौराणिककालमा पनि भएको देखिन्छ । धार्मिक ग्रन्थ स्वस्थानी महात्मात्यको अध्याय आठौं, नवौं र दशौंको देवासुर संग्राममा देवता र तारकासुरको युद्धमा दुवै पक्षबाट त्यसबेला विकास भएका भाला, बर्छा, भुसुण्डी, वाण, सर, धनुषलगायत विशाल क्षेप्यास्त्रहरु प्रयोग भएको पाइन्छ । तारकासुरले बनाएका सुनको शहर, चाँदीको शहर र फलामको शहरलाई महादेवले प्रहार गरेको आग्नेयास्त्रले पूरै आगो लगाएर जलाई दिएर त्यो अस्त्र फेरी महादेवले हातमा प्राप्त भएको उल्लेख छ । त्यसैगरी शत्रु पक्षलाई परास्त गर्न हुरी बतास चलाउने व्यायइवस्त्रा, पानी पार्ने वारुणास्त्र, रुप बदल्ने संचारास्त्र र महेन्द्रजाल, हुरी बतासलाई रोक्ने पर्वातास्त्रको प्रयोग हुने गरेको उल्लेख पाईन्छ ।
त्यसैगरी प्राचीन समयमा विश्वका विभिन्न भागमा विकास भइ विनाश भएको र हाल उत्खनन्बाट पत्ता लागेका विश्व प्रसिद्ध सभ्यताहरुले पनि मानव विकासको क्रमलाई निरन्तर प्रक्रियाको रुपमा देखाएका छन् । सिन्धु घाँटीको सभ्यता, नील नदीको सभ्यता, मेसोपोटामिया (हालको इराक)सभ्यता र ह्वाङहो नदीको सभ्यता यसका ज्वलन्त प्रमाण हुन् । विश्व जनसंख्या आयोगले केहि वर्ष अघि प्रक्षेपण गरेको जनसंख्या वृद्धि विवरण अनुसार विश्वमा प्रतिसेकेण्ड तीनवटा नयाँ अनुहार थपिँदै जाँदा हालको सात अर्बबाट उभो लागेको जनसंख्यालाई पालन पोषण गर्न विश्व समुदायले धेरै मेहनत गर्नूपर्ने देखाएको छ । बढ्दो जनसंख्या र उद्योग कलकारखाना, यातायातको साधनबाट उत्पन्न प्रदूषणको कारण विश्वको वातावरणीय अवस्थामा प्रभाव परी कहिले अनावृद्धि र कहिले अतिवृष्टि सुरु भएको छ ।
‘पृथ्वीमा जब जनसंख्या अत्याधिक रुपमा वृद्धि भई त्यसको भार र चाप थेग्न पृथ्वीलाई कठिनाई हुन्छ, अनि प्रकृतिले जनसंख्याको सन्तुलन आफैं मिलाउँदछ’ भन्ने यो कुरा प्रसिद्ध अर्थशास्त्री आदम स्मिथले भनेका छन् । जनसंख्या नियन्त्रण गर्न प्रकृतिले विभिन्न समयमा देखाएका गतिविधिले उनको भनाईलाई पुष्टि पनि गरेको छ । मानवले आफैंद्धारा सिर्जित विश्वयुद्ध, प्रादेशिक युद्ध र गृहयुद्धका कारण जनसंख्या घट्नु एउटा छुट्टै पक्ष हो । प्राकृतिक प्रकोप, भुकम्प, बाढी पहिरो, सुनामी, आँधिहुरी, आगलागी, चट्याङ आदिबाट जनसंख्या घट्नु भनेको चाहिँ प्रकृतिले जनसंख्याको सन्तुलन मिलाउने सिद्धान्तसँग मेल खान सक्छ । भूकम्पबारे विश्वमा अहिले सम्मको अनुभव र अभ्यासले के देखाएको छ भने पृथ्वीमा प्रायः साना स्केलका भूकम्पहरु त गइरहन्छन्, तर विनाशकारी भूकम्प चाहिँ प्रत्येक ८० देखि १०० वर्षको अन्तरमा गएको देखिन्छ । पृथ्वीमा हुने प्राकृतिक प्रकोपहरु मध्ये भुकम्प र समुद्री सुनामीहरुबाट बढी धनजनको क्षति भएको देखिन्छ । कमजोर भौतिक संरचनाको कारण भूकम्पमा परी धेरै मानिसले ज्यान गुमाउँछन् भने समुद्री सुनामी मानववस्तीमा प्रवेश गरेपछि त्यसले सिंगो वस्तीलाई नै सखाप बनाउँदछ । आजभन्दा ५–७ वर्ष पहिले इण्डोनेसियाको जाभा र सुमात्रा सागरको तटीय क्षेत्रबाट सुरु भई हिन्दमहासागर हुँदै भारतको सामुद्रिक क्षेत्रसम्म आइपुगेका सुनामीले एकलाख भन्दा बढी मानिसको ज्यान लिएको थियो ।
विश्वमा विभिन्न समयमा विभिन्न किसिमका मानव रोगहरु प्राकृतिक प्रकोपको रुपमा देखा पर्दछन् । ती रोगहरु कुनैबेला एउटा देशको निश्चित क्षेत्र त कहिले अलि बढी क्षेत्रमा र कहिले विश्वभरी नै महामारीको रुपमा प्रभाव पार्दछन् । विगत वर्षहरुमा पनि कहिले जापानी इन्सेफलाइटिस, कहिले इबोला भाइरस, कहिले मेनेन्जाइटिस त कहिले स्वाइन फ्लु विभिन्न किसिम र नामका संक्रमणहरु देखा परी तिनीहरुले पनि सामान्य धनजनको क्षति पु¥याएका थिए । तर ति रोगको प्रभाव र संक्रमण थोरै क्षेत्र र कम समयसम्म् मात्र रहने गर्दथ्यो ।
कोरोना भाइरस (कोभिड–१९) ले संक्रमित र आतंकित विश्व
चीनको वुहान राज्यमा ३१ डिसेम्बर २०१९ (१४ पुस २०७६) मा देखा परेको कोरोना भाइरसले ८ अप्रिल २०२० (२६ चैत्र २०७६) सम्म आइपुग्दा करिब एकसय दिनमा विश्वका २ सय देशमा फैलन पुगी ३८७१७ (मंगलबारसम्म) मानिसहरुको मृत्यु भइसकेको र ७९९५०७ मानिसहरु संक्रमित भइसकेका छन् । विश्वमा यति छिटो र यति विघ्न धेरै मानिसहरुको मृत्यु र संक्रमण फैलिएको यो कोभिड १९ नामको कोरोना भाइरस नै पहिलो पटक होला । यो भाइरसको आकार चन्द्रमाको जस्तो गोलो वा मुकुट जस्तो देखिने हुँदा यसलाई कोरोना नाम दिइएको हो । विश्वमा बुलेट ट्रेनको गतिमा फैलिएको कोरोना भाइरसले दोस्रो विश्वयुद्ध (१९३९–१९४५) यता विश्वलाई यति धेरै आतंकित र त्रसित बनाएको थिएन । कोरोनाको सामु अहिले विश्व झुकेको छ, विश्वलाई नै आप्mनो अधिनमा पार्न सकिन्छ कि भनी सैनिक शक्ति विनाशकारी हातहतियार मिसाइल र क्षेप्यास्त्रहरु बटुलेका शक्तिशाली राष्ट्रहरु कोरोनाको अगाडि निरीह बनेका छन् । कोरोनाले विश्वलाई हतियार र सैनिक विनाको तेश्रो विश्वयुद्धको झल्को र आभाष दिएको छ ।
कोरोनाले विश्वका धनी गरिब उच्च पद निम्न पद केहि बाँकी राखेन । जर्मनीका चान्सलर मर्केल, बेलायतका प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, राजकुमार सबैमा संक्रमण देखियो । स्पेनकी राजकुमारी मरिया टेरेसाको मृत्यु नै भयो । कोरोनाले विश्वको सामाजिक र आर्थिक अवस्थामा नराम्रो असर पारेको छ । कोरोनाको संक्रमण रोक्ने एकमात्र अचुक उपाय लक डाउन भएकोले प्रायः धेरै मुलुकहरुले १० दिनदेखि ३० दिनसम्मको लक डाउन र हवाई यातायात ठप्प पार्दा विश्वले अरबौंको आर्थिक घाटा व्यहोर्नु परेको छ । यसले गर्द ा विश्वमा लामो समय आर्थिक मन्दीको अवस्था देखिने छ । साथै यसले सामाजिक दूरी बढाई आपसी सद्भाव र सम्बन्धलाई खल्बल्याईदिएको छ ।
अन्त्यमा, कोरोनाले विश्व समुदायलाई के पाठ सिकायो भने पृथ्वीमा मानव जातिले विज्ञान र प्रविधिको जतिसुकै उच्च स्तरको विकासको फड्को मारेपनि त्यो अपूरो नै छ । एकमात्र सर्वशक्तिमान शक्ति प्रकृति नै हो, प्रकृति नै हो, प्रकृतिले चाह्यो भने मानवले हजारौं वर्ष लगाएर गरेको विकासको यति क्षणभरमै नष्ट हुनेरहेछ भन्ने तथ्य पृथ्वीमा विगत र वर्तमानमा घटेका धेरै प्राकृतिक घटनाहरुको पुष्टि गरिसकेका छन् । तसर्थ रिस राग, ईष्र्या, क्रोध, घमण्ड, लोभ लालच त्यागी सरल सादा सहयोगी र निस्कलंकित जीवन बाँचौं, यसमै सच्चा जीवनको आनन्द भेटिन्छ ।





