तुयुकाजी ताम्राकार
“भुसुनाले हात्ती रुवाउँछ” भन्ने उखान नसुन्ने मानिस प्रायः कोहि होला । मैले यो उखान सानै उमेरमा सुनेको थिएँ । उखानले के भन्न खोजेको हो अर्थ राम्ररी बुझ्न सक्दिनथे । लाग्थ्यो त्यत्रो अजङ्गको हात्तीलाई त्यति सानो तोरीको गेडाजत्रो जाबो भुसुनाले कसरी सताउन सक्छ होला ? होइन त्यो त केवल उखान भन्नलाई मात्र टुक्का बनाएको होला भन्ने सोच्थें । तर कहिलेकाहिँ म सानो भुसुना वायुमण्डल उडेर आइरहँदा च्वाट्ट आँखामा पर्न सक्दा रहेछन् । त्यतिबेला भने आँखा पिरो हुने, बिझाउने, अप्ठेरो भएर आँशु आउँथे । सायद हात्तीको आँखामा भुसुना पस्दा त्यस्तैगरी आँशु आउने होला भन्ने वा रुवाएको भनेको होला भन्ने लाग्थ्यो । धेरै ताकतवार र बलियो हात्ती पनि भुसुना जाबोसित त्यसैकारण डराउन पर्ने वा सतर्क हुनुपर्ने रहेछ ।
विश्वका महाशक्ति राष्ट्रहरु अमेरिका, चीन, बेलायत, फ्रान्स, इटली, भारत, कोरिया, जर्मन लगायत संसारका सबै राष्ट्रहरु आज त्यहि भुसुना वा अझै सानो कोरोना भन्ने भुसुना भाइरसले थकाइरहेछन्, रुवाइरहेछन्, मृत्युको मुखमै पु¥याइरहेछन् । यो लेखिरहँदाको मितिसम्ममा कोरोनाबाट विश्वमा मृत्यु हुनेहरुको संख्या ११७३७ जना पुगेको थियो । हुन पनि कोरोनाबाट संक्रमित एकजना मानिसको सम्पर्कबाटै सयौं, हजारौं जनालाई सर्न सक्ने भाइरस एउटा भयानक नष्ट गर्न सक्ने आणविक बम भन्दा शक्तिशाली रहेछ । आणविक बमहरुले सम्पूर्ण भौतिक सभ्यताहरु नष्ट ध्वस्त पार्न सक्छन् भने कोरोनाले मानव जीवन मात्र सिध्याउँदा रहेछन् । महाशक्ति राष्ट्रहरुको विपक्षीलाई नष्ट गरी आफूहरु बच्न सक्छन् भने कोरोनाको आक्रमणबाट कोहि पनि बच्न सक्दैनन् । कोरोना भाइरसरुपी सेनाबाट बच्ने औषधी संसारका कुनैपनि वैज्ञानिकहरुले बनाउन सकेका छैनन् । त्यसैकारण आज कोरोनाको भाइरसरुपी सेनाहरुबाट बच्न र सजग रहन आ–आफ्ना देशहरुको सिमाना नै बन्द गरिरहेछन् । मानिसहरुलाई घर घरमै रहन वा ननिस्कन भनिरहेको छ । सिङ्गो राज्यतन्त्र लागिपरेको छ ।
राजनीतिक, धार्मिक, साँस्कृतिक, भौगोलिक, आर्थिक, शिक्षा, सामाजिक इत्यादि कारणहरुको कारण नै मानिसको दुस्मन मानिस, राज्यको दुस्मन राज्य भनिरहेका छन् । एकले अरुलाई समाप्त पार्ने अत्यन्त खतरनाक र विध्वंश हातहतियार बनाई तँ भन्दा म के कम भन्ने दृष्टिकोणले शक्तिशाली देशहरु अगाडि बढिरहेका बेला जाबो भनिने कोरोना भाइरसले सम्पूर्ण मानव जगतलाई नै सिध्याइदिन विना कुनै हतियार आक्रमण गरिरहेका छन् । यसबाट मानव जगतले शिक्षा लिने कि यतिबेला पनि क्षेप्यास्त्र परिक्षण गर्दै मानव विहिन संसार कब्जा गर्ने ? तिमी पो म¥यौ म मरेको छैन क्यारे भन्ने अमानवीय विचार होइन र ? धनभन्दा पक्कै जीवनको महत्व ठूलो भन्ने दृष्टिकोणले नै कोरोना भाइरसबाट बच्न आज राज्यले वा विश्वले अरबौं खर्च गर्न लागिरहेको होइन र ? मृत्यु मज्जा लाग्ने शब्द होइन । सद्दे मान्छेले मृत्यु मन पराउँदैन । सबै मानिसहरु आफ्नो दीर्घ जीवनको कामना गर्दछन् । १०० वर्ष पुगिसकेकीले पनि मृत्यु चाहँदैनन् । तर लडाइँको मोर्चामा वा आन्दोलन र संघर्षको बेलामा चाहिँ विपक्षको मृत्यु वा मार्न चाहन्छु, युद्धमा मर्न वा मार्न चाहनु स्वभाविकै हो, बहादुरीपूर्वक मृत्युवरण गर्न पछि नपर्ने हुन्छ । तर जाबो भुसुनासित चै डराएर भाग्नु परिरहेछ, घरभित्रै लुक्नु परिरहेछ, यसैकारण नै त सरकारहरुले नाकाबन्द, यात्रा बन्द, आउजाउ बन्द अथवा जनता कफ्र्यू, सम्पूर्ण बन्द गर्नु, विदा नै गर्नुपर्ने बाध्यता कोरोना भाइरसको आक्रमणको भयले नै गर्नुपरेको हो । आज कोरोना भाइरसको विरुद्ध लड्न सेना होइन सम्पूर्ण जनताहरु सजग रहि आफू बच्न आफैं लड्नुपर्ने अवस्था छ । होइन भने तेश्रो विश्वयुद्धले भन्दा भौतिक होइन मानव जीवन समाप्त पार्न यो भाइरस उत्रिरहेछ । कोरोना सिध्याउने हतियार भनेको साबुन पानीले हात धुनु हो । त्यसरी पनि हाम्रो प्यारो जीवन बचाउन सकिन्छ । चीनको वुहान शहरमा सबैभन्दा पहिले कोरोनाले आक्रमण गरि मान्छेहरु मरिरहँदा संसारलाई थर्काउँदै हिँड्ने अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई हियाउँदै त्यहाँ जैविक हतियार बनाइरहेको चिनियाँ भाइरस समेत भन्ने बेतुकको हल्ला गरि हिँडे । कोरोना भाइरससितको युद्धमा चीन सरकार र चीनियाँ जनताको सहयोग र समर्थनले पराजित गरिछाडे । आज आक्रमणको तारो इटली र अन्य युरोप, अमेरिकाको शहरहरुमा भइरहेका छन् । लगभग विश्व स्तरमै कोरोनाको आक्रमण जारी छ । त्यहि भएर भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानसितको दुस्मनीलाई त्यागेर कोरानाविरुद्ध सार्कस्तरीय मोर्चा बनाई लड्न भर्खरै अघोषित सम्मेलन गर्नु कोरोनारुपी दानवलाई पराजित गर्न विश्व मानव एक हुनु जरुरी छ ।
मानवको इतिहास पल्टाएर हेर्दा त्यस्ता प्रकारको दानवरुपी भाइरसहरु अनेक नामले उत्पत्ति भइ मानव संहार नगरेको होइन । प्लेग, हैजा, स्वाइन फ्लु, वर्ड फ्लु, इन्फ्लुएन्जा इत्यादि अनेक नामका भाइरसले लाखौं करोडौं मानवलाई संहार गरेका थिए । मानिसले रुप फेरेको बुझ्न सकिन्छ तर भाइरसले रुप फेरेको बुझ्न नसक्दा र नसकेसम्म भाइरस नै विजयी हुन्छ । कोरोना विरुद्धको कुनै भ्याक्सिन पत्ता लगाउन नसक्तासम्म त्यसले सत्यानाश गरिरहन सक्छ । त्यसकारण आज बच्न सक्छ तर भोलि हमला हुन सक्छ । त्यसको लागि निरन्तर सजग सतर्क र साहसपूर्वक बाँच्नै पर्छ । कोरोना पराजित गर्ने एन्टिबडी हाम्रो शरीरमा बढाउनुपर्छ ।
कोरोनाले संसारलाई नै भयभित र त्रसित बनाइरहेको बेला मानवरुपी भाइरसले आवश्यक सामानहरु लुकाएर कालोबजारी गरी धन कमाउनेहरु सक्रिय छन् । जन भन्दा धन ठूलो विचारका व्यापारीहरुले जनतालाई आवश्यक परेका मास्क, तेल, ग्याँस, औषधि, चामल लगायतका सामानहरु लुकाउन पुगे । मानिसहरुलाई थप त्रसित बनाउने त्यस्ता मतिभ्रष्ट काला बजारियाहरुले लुकाएका सामानहरु बरामद गर्नुको साथै कडा सजायँको व्यवस्थ ागर्नु पनि सरकारको आजको कर्तव्य भएको छ । चाहे कोरोना होस् या कालाबजारी सरकारको कदममा समर्थनका हात बढाउन जनता सधै साथमा छन् ।





