यादव थापा
विशाल नेपालको भौगोलिक सिमाना र वीर नेपालीहरुको सैनिक सामथ्र्यलाई सम्बोधन गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेले रचना गर्नुभएको राष्ट्रिय गीतमा भनिएको छ–“पश्चिम किल्ला काँगडा पूर्वमा टिष्टा पुगेथ्यौं, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं ।” राष्ट्रकवि घिमिरेको उक्त रचनाबाट प्रष्ट हुन्छ कि तत्कालीन नेपालको सिमाना पश्चिममा महाकाली पारी सतलज देहरादून हुँदै काँगडा गढवालसम्म र पूर्वमा टिष्टा नदीसम्म पुगेको देखिन्छ, साथै नेपाली सेनाको सामथ्र्य ब्रिटिस साम्राज्यवादलाई समेत परास्त गर्न सक्ने क्षमताको थियो भन्ने प्रष्ट हुन्छ । नेपाली सेनाको बहादुरीलाई त अँग्रेज नेपाल युद्धको समयमा पश्चिम नेपालको नालापानीस्थ्ति कलंगाको किल्लामा छ सय नेपाली सेनाले विशाल सेना र हातहतियारले सज्जित अँग्रेज सेनासँग युद्ध लडेको र त्यसबाट प्रभावित भएर नेपालीको वीरता र देशभक्तिको प्रशंसा गर्दै अँग्रेजहरुले लेखेर छाडेको “हाम्रा वीर शत्रु गोर्खाली सेनाहरुमा सम्मानोपहार” भन्ने शिलालेखले पनि पुष्टि गर्दछ ।
त्यसैगरी नेपालको भौगोलिक बसाइ र समकालीन छिमेकीहरुको व्यवहारलाई संकेत गर्दै नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहले पनि आफ्नो दिव्य उपदेशमा भनेका थिए–“नेपाल दुई ठूला ढुंगा बीचको तरुल हो, दुवै छिमेकीसँग सतर्क रहनु, दक्षिणको छिमेक बहुत चतुर छ ।” कति दूरदृष्टि र रणनैतिक चातुर्य क्षमता थियो हाम्रा पूर्वज पूर्खाहरुमा, जुन नियति हामी अहिले वर्तमानमा भोगिरहेका छौं । ९५,६१,००० वर्गमिटर क्षेत्रफल भएको उत्तरी छिमेकी चीन नेपाल भन्दा ६५ गुना ठूलो रहेको छ भने ३२८७७८२ वर्गमिटर क्षेत्रफल भएको दक्षिणी छिमेकी भारत नेपालभन्दा २२ गुणा ठूलो रहेको र ति विशाल दुई छिमेकीहरुले बेलाबेलामा नेपालको सिमाना मिच्दै आइरहेको साथै दक्षिणतर्फको छिमेक बहुत चतुर छ, बढी होसियार रहनु भनि तत्कालीन भारतीय शासक अँग्रेजलाई संकेत गरेको र वर्तमान भारतीय शासकले पनि नेपालप्रति सोहि हेपाहा, मिचाहा र सीमा अतिक्रमणको आचरण देखाउँदै आएकोले नेपाल राष्ट्रका निर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहले आजभन्दा करिब २५० वर्ष अगाडि राखेको दूरदृष्टि, सोच र चिन्तन कति वैज्ञानिक र उच्चस्तरको रहेछ भन्ने प्रमाणित हुन्छ । क्षेत्रफल, सामरिक शक्ति एवं आर्थिक विकासले नेपालभन्दा भारत ठूलो र अगाडि भएता पनि सन् १७५७ देखि १९४९ सम्म झण्डै दुईसय वर्ष अँग्रेजको उपनिवेश र गुलाम भएकै हो । तर नेपाल सानो भए पनि इतिहासको कुनैपनि कालखण्ड र समयमा एकदिन पनि विदेशी साम्राज्यवादको उपनिवेश र अधिनमा बसेको छैन, नेपाल र नेपालीहरुको लागि यो ठूलो गर्वको विषय हो ।
अब चर्चा गरौं भारतले नेपाल लगायत दक्षिण एसियाली मुलुकहरुमाथि विगतदेखि वर्तमान सम्म गर्दै आएको दुश्मनी र दादागिरी व्यवहारको संक्षिप्त चित्रण । सन् १९४७ मा अँग्रेजको उपनिवेशबाट मुक्त भएपछि स्वतन्त्र भारत र पाकिस्तानको उदय भयो । पाकिस्तानलाई कमजोर बनाउन भारतको आन्तरिक उक्साहटमा पाकिस्तानको पूर्वीभागलाई अलग्याएर सन् १९७१ मा बंगलादेशको जन्म भयो । त्यसैगरी श्रीलंकाको आन्तरिक गृहयुद्धमा तमिलहरुलाई सहयोग पु¥याउन सन् १९८७ मा भारतीय सेना श्रीलंकामा प्रवेश गरी लामो समयसम्म तैनाथ गरिएको थियो । अन्य साना छिमेकीहरु भुटान र मालदिभ्सलाई त भारतले आफ्नै मुठीभित्रको माछा सरह मानेको देखिन्छ । भारतले छिमेकीप्रति गर्दै आएको दादागिरीको बीच पनि दक्षिण एशियाली मुलुकहरुबीच आपसी सहयोग कायम गर्ने उद्देश्यले बंगलादेशका तत्कालीन राष्ट्रपति स्व. जियाउर रहमानको प्रस्तावमा सन् १९८५ डिसेम्बर ८ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को गठन भई पहिलो सम्मेलन बंगलादेशको ढाकामा सन् १९८५ डिसेम्बर ७ र ८ मा सम्पन्न भएको थियो । वि.सं. २०७२ मंसिरमा काठमाडौंमा सार्कको १८ औं शिखर सम्मेलन भएपछि भारत र पाकिस्तानको बेमेलको कारण सार्कले गति लिन सकेको छैन । भारत र पाकिस्तान बीच जम्मु काश्मिरमा उत्पन्न विवाद कहिले विशेक नहुने घाउको रुपमा देखापरेको छ र स्वामित्वको लागि धेरैपटक सानाठूला झडप र युद्ध भइसकेका छन् ।
सार्क राष्ट्रको पछिल्लो सदस्य अफगानिस्तान गृहयुद्ध र विदेशी हस्तक्षेपले थला पारेको छ । तसर्थ सार्क राष्ट्रमा भारतलाई टक्कर दिन सक्ने एकमात्र राष्ट्र पाकिस्तान मात्र हो । नेपाललाई भारतले तीनतिरबाट घेरेको छ र नेपालको २७ वटा जिल्ला भारतीय सीमानामा जोडिएका छन् । अनि ती सबै सीमाना खुल्ला भएको कारण भारतबाट बेलाबेलामा चोरी डकैटीका घटना र सीमास्तम्भहरु हटाउने, सारिने काम सामान्य रुपमा भइरहने गर्दथ्यो । नेपाल र भारतको दशगजा क्षेत्रबाट ५५ वटा सीमास्तम्भहरु गायब भईसकेको तथ्यांकले देखाएको छ । भारतीय सीमानासँगै बसोबास गर्ने नारायणीपारी सुस्ता, चाँदनी, दोधाराका नेपालीहरुले अति दुःख, कष्टपूर्ण हेपाई र त्रासको जीन्दगी बिताइरहेका छन् । सुस्तामा करिब तीनहजार नेपालीको बसोबास छ, ती मध्ये धेरैसँग आफ्नो जग्गाको लालपूर्जा नै छैन, लालपूर्जा हुनेहरु पनि आफ्नो जग्गामा काम गर्न जान सक्दैनन् । भारतीय सुरक्षाकर्मीको आडमा भारतीय किसानले खेती गर्छन् । लालपुर्जा नेपालीको हातमा जमिन भारतीय भूमिमा, आफू बसेको ठाउँ आज नेपाल, भोलि विहान भारतको भइसक्छ, सीमा क्षेत्रका पीडित नेपालको समस्या र आवाज सुनिदिने निकाय त्यहाँ कुनै छैन । सीमा क्षेत्रका ती नेपालीको पीडा देख्दा के लाग्छ भने आमाबाबुले सन्तान त जन्माए तर तिनको उचित स्याहार, संरक्षण गर्न नसकी बेवारिसे अवस्थामा छोडिदिए । सीमाक्षेत्रमा राज्यको प्रशासनिक र सुरक्षा अवस्थाको कमजोर उपस्थितिको कारण नै नेपालीहरुले भारतीय पक्षको अपमान र हेपाई सहनुपरेको छ । सुगौली सन्धि अघि विशाल नेपालको क्षेत्रफल २,०४,९१७ वर्ग मिटर थियो भने अहिले १,४७,१८१ वर्गमिटरमा खुम्चिएको छ । पश्चिम नेपाल दार्चुला जिल्लाको व्यास गाविसमा पर्ने लिपुलेक समुद्री सतहबाट ५०२९ मि.(१७८८२ फिट) उचाइमा रहेको नेपाल चीन व्यापारको सबैभन्दा पुरानो नाका हो । लिपुलेक सँगै रहेको कालापानी क्षेत्रमा सन् १९६२ मा भएको भारत–चीन युद्धमा भारतले आफ्नो सैनिक व्यारेक कायम गरी अहिले सम्म पनि उक्त ठाउँमा भारतीय सैनिकहरुले परेड खेलिरहेका छन् । आफ्नो विस्तारवादी नीति र छिमेकीलाई हेप्ने हेपाहा प्रवृत्तिको पुनरावृत्ति गर्दै भारतले नेपालको लिपुलेक, कालापानी र आसपासका क्षेत्रलाई भारतीय नक्साभित्र समेटेर नयाँ नक्सा जारी गरी नेपालको ३७२ वर्ग कि.मी. क्षेत्र हडप्न खोजेको छ र भनिरहेको छ, “हामीले नेपालको भूमि मिचेका छैनौं ।”
छिमेकीहरु आफ्नो अनुकूल नहुने वित्तिकै उनीहरुमाथि हस्तक्षेप गर्ने प्रवृत्ति भारतको हैकमवादी र दक्षिण एसियामा आफूलाई महाशक्ति राष्ट्रको रुपमा उभ्याउन खोज्ने अहम्ता र घमण्ड हो । नेपालमाथि भारतको हेराई र व्यवहार जहिले पनि नकरात्मक भएको पाइन्छ । २०७२ साल असोज ३ गते संघीय नेपालको नयाँ संविधान घोषणा गर्दा पनि आफ्नो अनुकूल नभएको आफूले भनेको नमानेको भनि नेपालमाथि अघोषित नाकाबन्दी गरी करिब ६ महिना सम्म नेपाली जनताहरुलाई कष्टकर जीवन बिताउन बाध्य बनाएको थियो । भारतले नेपालको भूमि गाभि बनाएको नक्साप्रति नेपालमा व्यापक विरोध प्रदर्शन भएको छ । नेपालका विद्यार्थी संगठनहरुले भारतीय राजदूतावासमा विरोधपत्र र प्रदर्शन गरिसकेका छन् । नेपाल सरकारले भारतको उक्त कदम नमान्ने र त्यसलाई कुटनैतिक माध्यमबाट समाधान गरिने जनाएको छ । प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर त्यसमा पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र सीमा विज्ञहरुसँग समेत छलफल गरेका छन् । बैठकले नेपालको एक इन्च क्षेत्र पनि भारतमा गाभ्न नदिने र भारतले एकतर्फी सीमा मिचेर निकालेको नक्सा नेपाललाई मान्य नहुने, भारतले बल मिचाई गर्न खोजे अन्तर्राष्ट्रिय न्यायालयमा पुग्नुपर्ने ठहर गरेको छ । राष्ट्रमाथि वैदेशिक हस्तक्षेप हुँदा त्यस विरुद्ध एकजुट भई लड्ने नेपालीहरुको गौरवपूर्ण एकतालाई यसपटक पनि नेपालीहरुले प्रदर्शन गरेका छन् । राष्ट्रप्रेम, राष्ट्रियता र देशभक्ति भनेको यहि हो । नेपाल रहेमात्र हामी नेपाली रहन्छौं, सबैले भारतले हडपेको नेपाली भूमि फिर्ता गर्न चर्काे दबाव र आवाज दिउँ, ताकि भारतले हाम्रो साहस, शक्ति र एकता देखेर अबदेखि सीमा मिच्ने दुस्साहस नगरोस् ।





