2019 November 13/ 05:34: 14am

हिमालय वारपार बहु–आयामिक कनेक्टिभिटी सञ्जाल
चिनियाँ राष्ट्रपति सी जिनपिङ
    “नेपालमा सयौं फूलहरु फुलेका छन् । मैले भर्खरै चिनियाँ भाषामा लेखिएको नमस्ते भनेको छु, त्यति राम्रो छैन होला । 
    सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु । यो मेरो कान्तिपुर, काठमाडौंको पहिलो भ्रमण हो । यहाँ मैले पुराना तथा नयाँ साथीहरुसँग भेटें ।
    नेपालको राजनीतिक स्थायित्व, सामाजिक सदभाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको छु । भविश्यप्रति मेरा आशाहरु जागेका छन् । मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।
    बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्नेछौं । र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं । 
    चीन र नेपालवीच दौत्य सम्बन्ध भएको आधा शताब्दीभन्दा बढीको अवधिमा दुई देशले छिमेकी मुलुकहरुवीचको मैत्रीपूर्ण सम्बन्धको विषम नमूना पेश गरेका छन् । मैले राष्ट्रपतिज्यूलाई के भन्न खोजेको हुँ भने चीन र नेपालको वीचमा केही समस्या छैन, मित्रता मात्र छ ।
    सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारी र मैले द्वीपक्षीय चुनौती र कठिनाई सामना गर्दै साझा हित हुने सहकार्य गरेर विकास र समृद्धितर्फ उन्मुख हुने पुस्तौं पुस्ताको रणनीतिक साझेदार सम्बन्ध स्थापित गर्ने निर्णय गरेका छौं । मलाई आशा छ, दुई देशवीच अझ सुविधाजनक सम्बन्ध निर्माण हुनेछ ।
    हामीले चीन(नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछौं । अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौं । केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौं । बढीभन्दा बढी नाकाहरु खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभीटी सञ्जालको निर्माण गर्नेछौं । र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार तुल्याउन मद्दत गर्नेछौं ।
मलाई आशा छ, दुई देशका जनतावीचको समझदारी बढ्नेछ । भूकम्पपश्चातको पुनर्निर्माण परियोजनाहरुलाई हामीले सक्रियताका साथ अगाडि बढाउँदैछौं । सन् २०२० नेपाल भ्रमण वर्षको अवधिमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकहरुलाई नेपाल आउन उत्प्रेरित गर्नेछौं । हामी शिक्षा तथा सांस्कृतिक क्षेत्रका कार्यहरुमा लगानी बढाएर जनतावीचको समझदारी बढाउनेछौं । दुई देशका बढीभन्दा बढी शहरहरुलाई भगिनी शहरका रुपमा प्रस्ताव गर्न पनि उत्पे्ररित गर्नेछौं । जसबाट दुई देशवीचको मित्रताको बीज अंकुरण होओस् भन्ने चाहन्छौं ।
    भर्खरै राष्ट्रपतिज्यूले उल्लेख गर्नुभयो, लुम्बिनी बुद्धको जन्मस्थल हो । चीनमा बुद्ध धर्म मान्ने मान्छेहरुको संख्या संसारमा सबैभन्दा बढी छ । नेपालमा जस्तै बुद्ध धर्म अहिले चीनमा पनि स्थानीय धर्म बनेको छ । मेरो विचारमा आगामी दिनमा बढीभन्दा बढी बुद्ध धर्म मान्ने चिनियाँ मान्छेहरु नेपालमा पर्यटन गर्नेछन् र धर्मको आदान(प्रदानका लागि पनि आउनेछन् ।
मलाई आशा छ, दुई देशले अझ बहुपक्षीय सहकार्य गर्नेछन् ।
    वर्तमान अवस्थामा आत्मरक्षावाद, एकत्ववाद र प्रभुत्ववाद धेरै व्याप्त छ । हामीले बहुलवाद र आर्थिक उदारीकरणलाई समर्थन गर्नुपर्छ । जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ । जलवायु परिवर्तनसम्बन्धी प्रतिवद्धताहरुमा नेपाल पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौं । नेपाली पक्षका साथ हामी जलवायु परिवर्तनको सम्वोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाई हाम्रो हाम्रो साझा, विशेष गरी हिमाल, सगरमाथाको रक्षा गर्न सदा तत्पर रहनेछौं ।

मलाई धेरै खुशी लागेको छ, सबै नेपाली नेताहरुसँग हामीले मतेक्य हासिल गरेका छौं । यसपटकको भ्रमणका क्रममा मैले नेपाली नेताहरुसँग मिलेर चीन र नेपालवीचको सम्बन्धका नयाँ खाका र योजनाहरु बनाउन सकेकोमा म अत्यन्तै खुशी छु । भोलि म प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि दुईपक्षीय सम्बन्ध र हाम्रो साझा चासोका बारेमा विचारको आदान–प्रदान गर्नेछु ।
    म प्रायः भन्ने गर्दछु, हामीले बनाएका योजनाहरुलाई पूरा गरेरै छोडौं । हामीले चीनमा पनि यस्तै गरेका छौं । भर्खर हामीले जनवादी गणतन्त्र चीनको स्थापना भएको ७० वर्ष बनाएका छौं । हाम्रो उद्देश्य छ, दुई शतवाषिर्कीका दुई लक्ष । यसको पहिलो लक्ष हामी आगामी वर्षमा साकार तुल्याउने छौं । दोस्रो लक्ष चाहिँ ३० वर्षपछि । तर, हाम्रो काम गर्ने मार्ग स्पष्ट छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।
    हामी संयुक्त प्रयासद्वारा द्वीपक्षीय सम्बन्धको नयाँ भविश्य पनि निर्माण गरौं । अब म उपस्थित सबैका सामु प्रस्ताव गर्न चाहन्छु । नेपालको समद्धि सुखी जीवनका लागि, चीन र नेपालवीचको पुस्तौंपुस्ताको मित्रताका लागि, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत यहाँ उपस्थित सबैको सुस्वास्थ्यका लागि चियर्स । (चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा ब्यक्त मन्तब्य ।) 

 

चीन र नेपाल दुई छिमेकी देशबीच चिनियाँ राष्ट्रपति महामहिम सी जिन्पिङको राजकीय नेपाल भ्रमणको क्रममा २०७६ असोज २६ गते सम्पन्न संन्धि, संझौता र समझदारीका बुँदाहरूः

१. सीमा व्यवस्थापन प्रणालीबारेमा समझदारी ।
२. सुशासन सहयोगमा क्षमता अभिबृद्धि सम्बन्धी सहयोगको आदानप्रदानमा समझदारी ।
३. आपराधिक मामिलामा आपसी कानुनी सहयोग सम्बन्धी सन्धि ।
४. सगरमाथा(चोमोलोङ्गमा संरक्षण सहयोगमा समझादारी ।
५.लगानी सहयोग र सहयोग परियोजना प्रवद्र्धन सम्बन्धी क्षमता अभिबृद्धिका लागि योजना आयोग र चीनको राष्ट्रिय विकास र सुधार आयोगबीच सहयोग ।
६.चेङ्गदुमा नेपालको वाणिज्य दूतावास खोल्ने सम्बन्धी पत्रको आदानप्रदान ।
७. भौतिक पूर्वाधार मन्त्रालय र यातायात चीनको यातायात मन्त्रालयबीच नेपाल र चीनबीच सीमापार रेलवेको फिजिबिलिटी स्टडीको बारेमा समझदारी ।
८. नेपालको काठमाडौं महानगरपालिका र चीनको नानजिङ सहरबीच भगिनी–सहर सम्बन्ध स्थापना गर्ने सहमति ।
९. बुटवट उपमहानगरपालिका र सियान सहरबीच भगिनी–सहर सम्बन्ध स्थापना गर्ने सहमति ।
१०. नेपाल सरकारको स्वास्थ्य र जनसंख्या मन्त्रालय र चीनको परम्परागत चिनियाँ औषधी राष्ट्रिय प्रशासनबीच परम्परागत औषधीमा सहकार्य समझदारी ।
११. नेपालको गृहमन्त्रालय र चीनको विपद व्यवस्थापन मन्त्रालयबीच प्रकोप जोखिम न्यूनीकरण र आपतकालीन उद्धारका विषयमा सहकार्य गर्ने समझदारी ।
१२. नेपालस्थित महान्यायाधीवक्ताको कार्यालय र जनताको सर्वोच्च अदातलबीच सहकार्य गर्ने समझदारी ।
१३. नेपालस्थित त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस इन्स्टिच्यूट हेडक्वार्टरबीच त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्यूट स्थापना गर्ने सहमति ।
१४. नेपालको कृषि मन्त्रालय र चीनको सामान्य प्रशासनअन्तर्गतको कर कार्यालयबीच साईट फलहरु निर्यात गर्ने ।
१५. नेपालको उद्योग, वाणिज्य र आपुर्ती मन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच व्यापारका विषयमा संयुक्त कार्यदल स्थापना गर्ने समझदारी ।
१६. चीनको सहयोगमा भूकम्प निगरानी नेटवर्क प्रोजेक्ट स्वीकार गर्ने ।
१७.नेपालको अर्थमन्त्रालय र चीनको वाणिज्य मन्त्रालयबीच लगानी सहकार्य कार्यदल गठन गर्ने समझदारी ।
१८. नेपालको अर्थमन्त्रालय र चीनको अन्तर्रा्ष्ट्रिय विकास सहकार्य नियोगबीच सुरुङ निमार्णमा सहकार्य गर्ने समझदारी
१९. सीमा सुरक्षा उपकरण र कार्यालय उपकरणका विषयमा पत्र आदानप्रदान गर्ने र
२०. काठमाडौं उपत्यकामा चीनको सहयोगमा पानी आपुर्ती सुधार प्रोजेक्टको फिजीबिलिटी अध्ययनका लागि बैठकको माइन्युट ।


केरूङ–काठमाडौ–लुम्बिनी रेल नेपालीको अपेक्षा
राष्ट्रपति विद्यादेवी भण्डारी
महामहिमज्यू,
    निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति महामहिम सी चिनफिङ तथा चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरुलाई यस राजकीय भोजमा न्यानो स्वागत गर्न पाउँदा मलाई अत्यन्त खुशी लागेको छ ।
    यो एउटा सुखद संयोग नै हो, महामहिम राष्ट्रपतिज्यूको राजकीय भ्रमण जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वर्षगाँठको शुभअवसरमा भइरहेको छ । यस अवसरमा म महामहिम राष्ट्रपतिज्यू र चिनियाँ प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरु एवं सबै चिनियाँ मित्रहरुलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । साथै शताब्दीका दुई महान् लक्ष्य प्राप्त गर्न मित्रराष्ट्र चीनलाई पूर्ण सफलता मिलोस् भन्ने हाम्रो शुभकामना छ ।
महामहिमको सक्षम नेतृत्वमा चीनले युगान्तकारी पहलहरु अघि सारेको छ । प्रगतिशील सुधार योजना, भ्रष्टाचारविरोधी अभियान तथा सुशासनको प्रभावकारी कार्यान्वयन महामहिमको राष्ट्रिय पुनर्जागरणसहितको चिनियाँ सपनाका महत्वपूर्ण आयामहरु हुन् । विश्वका १५० भन्दा बढी राष्ट्रहरु तथा दर्जनौँ सङ्घसंस्थाहरु बेल्ट एण्ड रोड इनिसिएटिभको पक्ष बनेका छन् । नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादमा सी चिनफिङ विचारधारा जनता केन्द्रित विकासको एक महत्वपूर्ण दर्शन बनेको छ । चीनको विकासमा चिनियाँ नेताको सक्षम र दूरदर्शी नेतृत्व एवं परिश्रमी चिनियाँ जनताको साथ महत्वपूर्ण रहेको छ भन्ने मलाई लागेको छ ।
महामहिमज्यू,
    गत अप्रिलमा मैले गरेको चीनको राजकीय भ्रमणको सम्झना मलाई ताजै छ । महामहिमको सुन्दर गृहनगर तथा रेशममार्गको उद्गमस्थल सियान शहरबाट शुरु भएको मेरो भ्रमण अवधिभर मप्रति दर्शाइएको न्यानो स्वागत र आतिथ्यताका लागि म कृतज्ञ छु ।
    उक्त भ्रमणका अवसरमा महामहिमसँग भएका भेटवार्ताबाट नेपाल–चीन सम्बन्धलाई थप ऊर्जा प्रदान गर्न मद्दत पुगेको मैले विश्वास लिएको छु । भ्रमणका अवसरमा हस्ताक्षर भएका महत्वपूर्ण दस्तावेजमध्ये पारवहन तथा यतायात सम्झौताको प्रोटोकलले चीनका तीन वटा भूबन्दरगाह तथा चार वटा सामुद्रिक बन्दरगाहसम्म नेपालको पहुँच स्थापित गरेको छ ।
    अन्तर्रा्ष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एण्ड रोड फोरममा मेरो सहभागिता तथा सम्बोधनले नेपालको विकासको आकाङ्क्षालाई मुखरित गर्न मद्दत पुगेको मैले ठानेको छु । उक्त फोरमको लिडर्स राउण्ड टेबलको समापनमा जारी भएको संयुक्त विज्ञप्तिमा नेपाल–चीन, हिमालय वारपार बहुपक्षीय कनेक्टिभिटी सञ्जाल तथा नेपाल चीन सीमापार रेलमार्ग समावेश भएका छन् । यसबाट भूपरिवेष्ठित नेपालका लागि चीनसँगको कनेक्टिभिटी सञ्जाल विस्तारमा ठूलो मद्दत पुग्नेछ । यस सन्दर्भमा म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सन् २०१६ र २०१८ मा सम्पन्न चीनको भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ दिशा दिन पु¥याएको योगदानको स्मरण गर्दछु ।
महामहिमज्यू,

नेपाल र जनवादी गणतन्त्र चीन हिमाल तथा नदीहरुद्वारा जोडिएका छन् । हामीबीच शदियौँदेखि सामाजिक, सांस्कृतिक सम्पर्क रहिआएको छ । चिनियाँ भिक्षु फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सम्बन्ध एवं दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएका छन् । पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ । हाम्रो सम्बन्ध सागर जस्तै गहिरो र सगरमाथा जस्तै उँचो छ । पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावनाहरु छन् ।
महामहिमज्यू,
    नेपालको लुम्बिनी गौतमबुद्धको जन्मस्थल मात्र नभएर बौद्धदर्शनको उद्गमस्थल पनि हो । बुद्धका शाश्वत उपदेशहरुले मानव जातिलाई शान्ति, सहिष्णुता र सह–अस्तित्वको मार्गदर्शन गरेका छन् । तसर्थ लुम्बिनीलाई विश्वशान्तिको केन्द्र बनाउने हाम्रो प्रयासमा मित्रराष्ट्र चीनको महत्वपूर्ण सहयोगको अपेक्षा गरेका छौँ ।
    चीनले सदैव नेपालको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्नाका साथै नेपाली जनताले छनोट गरेको विकासको पथलाई समर्थन गर्दै आएको छ । नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ । नेपाली भूमि चीनको हितविरुद्ध हुने कुनै पनि प्रकारका गतिविधिहरुका लागि प्रयोग हुन नदिने हाम्रो प्रतिबद्धतालाई व्यवहारमा उतार्न हामीले सबै प्रकारका ठोस उपायहरु अवलम्बन गर्दै आएका छौँ ।
    सीमावारपार कनेक्टिभिटीका लागि पूर्वाधार सुधार गर्नुपर्ने कुरामा हामीले जोड दिँदै आएका छौँ । नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेका छन् । रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीहरुको यो चाहना छिट्टै पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ ।
महामहिमज्यू,
महामहिमसँग यसअघि भएको छलफलबाट अभिप्रेरित हुँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्नका लागि मित्रराष्ट्र चीनसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकताका साथ राखेका छाँै । हामीले जतिसक्दो चाँडो अतिकमविकसित मुलुकबाट स्तरोन्नत हुँदै सन् २०३० सम्मका लागि मध्यम आय भएका मुलुकका रुपमा परिणत हुने उद्देश्य राखेका छौँ । यस उद्देश्य प्राप्तिका लागि हाम्रो आन्तरिक स्रोत, साधन पर्याप्त नहुने हुँदा हामीलाई वैदेशिक लगानीको खाँचो छ । हामी चिनियाँ लगानीकर्तालाई उत्पादनशील क्षेत्र, पूर्वाधार तथा जलस्रोत विकासलगायत सामाजिक क्षेत्रमा लगानी गर्न आह्वान गर्दछौँ । सरकारले लगानीको पूर्ण सुरक्षा गर्नेछ ।
    भूकम्पपश्चात्को पुनःनिर्माणमा चीनले पु¥याएको उदार सहयोगको हामी उच्च प्रशंसा गर्दछौँ । यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न चीन सरकारको सहयोगको अपेक्षा गरेका छौँ ।
जलवायु परिवर्तनका कारण हाम्रो पर्वतीय पर्यावरण र अर्थतन्त्र संवेदनशील बनेको छ । तसर्थ पर्वतीय पर्यावरण संरक्षण गर्दै अर्थतन्त्रलाई बलियो बनाउन अन्तर्रा्ष्ट्रिय प्रयास केन्द्रीकृत गर्ने उद्देश्यले आगामी वर्ष अप्रिल महीनामा काठमाडौँमा सगरमाथा संवादको आयोजना गर्ने तयारी गरिरहेका छौँ । सो कार्यक्रममा चीन सरकारका उच्च तहबाट प्रतिनिधित्व हुने अपेक्षा गरिएको छ ।
महामहिमज्यू,
शान्ति, स्थायित्व र विकासका लागि बहुपक्षीय एवं अन्तरराष्ट्रिय मञ्चहरुमा नेपाल र चीनसँगै उभिँदै आएका छन् । साझा चासोका क्षेत्रीय सवालहरुमा हाम्रो सहकार्य जारी छ । विधिमा आधारित विश्व व्यवस्थाले चुनौती बेहोर्नुपरेको वर्तमान अवस्थामा विकासोन्मुख राष्ट्रहरुको ऐक्यबद्धता र सहकार्य अपरिहार्य छ । शान्तिपूर्ण, न्यायोचित तथा समावेशी विश्व व्यवस्था निर्माणका लागि चीनले निर्वाह गर्दै आएको सकारात्मक भूमिकाको हामी प्रशंसा गर्दछाँै ।
महामहिमज्यू,

भूगोलले नेपाल र चीनलाई निकट छिमेकी बनाएको छ । इतिहास, संस्कृति र जनस्तरको सम्बन्धले हामीलाई घनिष्ठ मित्र बनाएको छ । व्यापार, लगानी तथा आर्थिक अन्तरनिर्भरताले हामीलाई साझा भविष्यका लागि सहकार्य गर्ने बलियो साझेदार बनाएको छ । दुवै देश र जनताको हितमा हुने गरी मित्रराष्ट्र चीनसँगको समग्र सम्बन्धलाई नयाँ उचाइमा लैजान र थप गति दिन हामी प्रतिबद्ध छौँ ।
यिनै शब्दहरुका साथ म महामहिमको सुस्वास्थ्य र खुशीका लागि, नेपाल र चीनबीच बलियो मित्रताका लागि, नेपाल तथा जनवादी गणतन्त्र चीनका जनताको अनन्त शान्ति र समृद्धिका लागि टोष्ट प्रस्ताव गर्न चाहन्छु र उपस्थित सम्पूर्ण विशिष्ट अतिथिहरुलाई यसमा सरिक हुन आह्वान गर्दछु ।
नेपाल–चीन मित्रता अमर रहोस् ।
                धेरै धेरै धन्यवाद ।