2026 July 27/ 10:39: 13pm

विश्वमा आत्महत्याका दरहरु बढिरहेका छन् । नेपालमा पनि आत्महत्याका घटनामा बृद्धि भएका छन् । संख्यात्मक रुपमा आत्महत्याका घटनाहरु बढ्न थाले पछि सरकारले प्रहरी मार्फत समुदायमा आत्महत्याको न्यूनीकरणका लागि संगठित प्रयास हुन थालेको छ । यो प्रयास सार्थक पार्न र गराउन प्रहरी एक्लैको प्रयास सम्भव छैन र हुँदैन पनि । त्यसलाई समुदायका सबै क्षेत्रहरुले सार्थक बनाउन र न्यूनीकरणमा सहयोग पु¥याउन आवश्यक छ । 
    प्रहरीले शुरु गरेको अभियानलाई प्रभावकारी रुपमा संचालन गर्ने गरी गठन गरिएको कार्यदलले आत्महत्याको जोखिममा रहेका नागरिकहरुको पहिचान गरी जीवन रक्षा गर्न तथा आवश्यकता अनुसार परामर्श र उपचार सेवाका लागि सहजिकरण गरी आम नागरिकहरुलाई सुसूचित गराई सकारात्मक मनोभावनाको विकास गरी आत्महत्याको दरलाई न्यूनिकरण गर्ने कार्ययोजना रहेको छ । मानसिक स्वास्थ्य समस्या, ब्यक्तिगत लक्षण र विकारहरु, मनोसामाजिक समस्या लगायतका क्षेत्रमा जोखिममा परेका नागरिकहरुलाई मनोपरामर्श सम्वन्धी सचेतना कार्यक्रम संचालन हुनेछ । शिक्षा, गरिबी, हिंसा, लैङ्गिक विभेद, जिद्दी तथा एकोहोरोपना, अंहकार जस्ता ब्यक्तित्व भएका ब्यक्तिहरुको मनोबैज्ञानिक विश्लेषण गर्दा आत्महत्या हुने गरेको छ । आत्महत्याको जोखिममा परेका ब्यक्तिहरुले देखाउने मनोबैज्ञानिक संकेत तथा प्रतिक्रियाहरु पत्ता लगाई उनिहरुलाई मनोपरामर्श सहितको उपचार सेवा प्रदान गर्नेछ । 
    आत्महत्या न्यूनीकरणका लागि प्रहरीले लक्षित समुह पहिचान गरेको छ । सोहि समुहका सदस्यहरुलाई अभियान अन्र्तगतका समिति मार्फत विभिन्न सचेतनामूलक कार्यक्रम गर्नेछ । जिल्ला स्तरीय कार्यदलमा पालिका र वडा स्तरीय कार्यदल गठन हुनेछ । सूचना संकलन डेस्क, सूचना विश्लेषण तथा सम्प्रेषण डेस्क, सहायता टोली मार्फत अभियानलाई प्रभावकारी बनाउने गरी संयन्त्र परिचालन गर्ने प्रहरीको योजना छ । काभ्रेपलाञ्चोक जिल्लामा आर्थिक वर्ष २०८०/०८१ मा काभ्रेपलाञ्चोक जिल्लामा १ सय ३७ जनाले आत्महत्या गरेका छन् भने नेपालमा ६ हजार ९ सय ४८ जनाले आत्महत्या गरेका छन् । पछिल्ला ४ महिनामा आत्महत्या प्रयास गर्ने ४८ जना उपचार पछि घर फर्केका छन् । आत्महत्यामा झुण्डि आत्महत्या गर्नेको संख्या १ सय ७ छ भने विष सेवन गरेर मृत्यु हुनेको संख्या २८ रहेको छ । हाम फालेर २ जनाले आत्महत्या गरेका छन् । जसमा अधिकांश युवा अवस्थाका छन् । बालबालिका देखि जेष्ठ नागरिकसम्म आत्महत्या गर्नेहरु छन् । 
    आत्महत्याको संख्यामा उल्लेख्य बृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा १ सय १२ जनाले आत्महत्या गरेकोमा पछिल्लो वर्ष आर्थिक वर्ष २०७९/०८० मा ९० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०८०/०८१ मा संख्या बढेर १ सय ३७ पुगेको छ । आत्महत्या गर्नेहरुमा नोकरीमा हुने २५, कृषिमा हुनेहरु ७९, ब्यापारी ५, विद्यार्थी २२, अन्य ६ जनाले आत्महत्या गरेका छन् । १६ वर्ष मुनिका १९ जना, १६–२५ वर्षसम्मका २२ जना, २६–३५ वर्ष उमेर समुहका २३ जना, ३६–४५ उमेर समुहका १६ जना, ४६–६० उमेरका ३८ जना, ६० वर्ष भन्दा माथिका १९ जना छन् । बढिरहेको आत्महत्या न्यूनीकरणको प्रयासमा सबै पक्षको सहयोग, सक्रियता र प्रयास जरुरी छ । प्रहरीले शुरु गरेको अभियान प्रहरी एक्लैको नभई समुदाय र राष्ट्रको समेत भएकाले अभियान सफल बनाउँदै नागरिकको मृत्यु घटाउन आवश्यक छ ।