2024 May 19/ 03:11: 36am

    न्याय ढिलो दिनु अन्याय गर्नु सरह हो भन्ने मान्यता नेपालमा सस्तो लोकप्रियताका लागि खपत गरिने शब्दका रुपमा चित्रण हुन थालेको छ । नेपालको राजनीतिक, न्याय क्षेत्रमा देखिएका तमाम समस्याहरु, प्रहरी अनुसन्धान तथा अनुसन्धानमा देखिएका राजनीतिक चाहनाहरु, प्रकृया तथा हरेक विषय अदालतमा पु¥याईनु र अदालतले राजनीतिक फैसला दिनु अर्काे चुनौती हो । पछिल्ला दिन सर्वाेच्च, उच्च र जिल्ला अदालतमा मुद्दाहरुको चाप, ति मुद्दाहरुमा समयमै सम्बोधन गर्न नसक्नु र न्याय समयमै नपाउँदा नागरिक र स्वंय राज्यले समेत ब्यहोर्नु परेको संकट र क्षतीका बारेमा बयान गरी साध्य छैन । छिटो र छरितो न्याय दिन चुक्दा खेरी पीडित स्वयम् नै अभियुक्तका रुपमा प्रकट हुन थालेका घटनाहरु देखिएका छन् । न्याय सम्पादनमा हुनुपर्ने छिटो र छरितो कार्यलाई प्रभावकारी बनाउन सबै निकायको सक्रियता आवश्यक छ । 
    पछिल्लो समय जिल्लामा घटेको महत्वपूर्ण र चर्चित घटना बुद्धचित्तका रुखका दाना लागेको अवस्थामा सिसी क्यामेरा सहित भएको, पर्चा पम्प्लेट र सेनाको शैलीमा भूमिगत संगठन खडा गरेर रुख काट्ने, सकेटबम प्रहार गर्ने तथा अपराधिक कृयाकलाप गर्ने गिरोह सक्रिय भएको छ । प्रहरीको सानो लापर्वाही वा अनुसन्धानमा खेलाँची, वेवास्ता गरेकै कारण उक्त समुहले एक पछि अर्काे अपराध गरेको छ भने अदालतबाट पाउनु पर्ने न्याय सहि समयमा हुन नसक्दा पीडित ब्यक्ति नै अपराधमा संलग्न हुन थालेका छन् । यसको दोष र जिम्मेवार को हुने ? प्रहरीले अनुसन्धानका क्रममा प्राप्त गरेका ७६ वटा प्रमाणका आधारमा अदालतबाट समयमा मुद्दाको किनारा लाग्न सकेन । जसको परिणाम स्वरुप २०७७ असोज २६ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएको अभियोगपत्रमा २०८० सालमा मात्रै फैसला हुन सक्यो । अझै कैद सजाँय निर्धारण हुन सकेको छैन । २०७७ असार ११ गते राति ११ बजे ४०÷५० जनाको समुहले हातहतियार सहित माला कुर्न बसेका १५ युवाहरु, घरधनी सहितलाई नियन्त्रणमा लिएर रोशी ५ नागबेली भन्ने स्थानबाट ९० लाख रुपैयाँमा खरिद गरिएको बुद्धचित्तको दाना लुटेको थियो । त्यहि शैलीमा २०८० चैत्र २९ गते रुख नै काटियो । उक्त समुहलाई न हिजा कारवाही हुन सक्यो । न आज रुख काट्ने ब्यक्ति नै पक्राउ पर्न सकेका छन् । 
    धनमाल डाँका गरी लगेको, डाँका, ज्यान मार्ने उद्योग र हातहतियार खरखजना मुद्दा दर्ता भएको थियो । समयमा मुद्दाको फैसला नहुँदा र घटनामा संलग्न ब्यक्तिहरु पक्राउ नपर्दा जसका विरुद्ध जाहेरी दिए, उनै सँग मिलेर रुख काटिदिए । रोशी गाउँपालिका वडा नम्बर ५ नागबेलीमा रहेको बुद्धचित्तको दाना खरिद गर्न जग्गाधनी समेत रहेका दानाका मालिक विरबहादुर तामाङसँग ९० लाखमा बैना गरेका थिए । १७ जना युवाहरुलाई दैनिक १ हजारका दरले ज्याला सहित खान दिएका थिए । प्रहरीले पक्राउ गरेकाहरु मध्ये विजय हुमागाई, राजकुमार तामाङ र राधाकृष्ण मैनालीले आरोपित कसुरको सम्बन्धमा झुट बोलेको पोलिग्राफ प्रतिवेदन समेत प्रहरीले अदालतमा पेश गरेको थियो । साथै उनिहरुले फोनमा कुरा गरेको भ्वाईस रेकर्ड, एसएमएस सहित म्यासेन्जरमा गरिएको कुराकानीको प्रमाण सहित पेश गरेको थियो । तर पनि प्रहरीले बाँकी अभियुक्त पक्राउ गर्न चासो नदिएको, अभियुक्तहरु खुलेआम हिडिरहेको, यो वर्षको माला खरिद गर्न आफुले नपाएको, अदालतले समेत समयमा फैसला नगरिदिएका कारण विक्षिप्ति बनेका थिए । मानबहादुर उहि समुहसँग जोडिए । र अपराधमा संलग्न भए । न्यायमा भएको ढिलाईले निम्त्याउने थप संकटको भागिदार कुन निकाय हुने ? प्रश्न अनुत्तरित छन् ।