2024 April 28/ 07:02: 01pm

सबै प्रमाण पु-याएर, नेपाली नागरिक नै भएको अवस्थामा सहज रुपमा नागरिकता पाउन कठिन भएको जिल्ला प्रशासन कार्यालयहरुमा सहज रुपमा विदेशी र अन्य जिल्लाका नागरिकहरुले पैसामा नागरिकता र राहदानी खरिद विक्री गर्ने प्रकरण कसरी रोकिन्छ ? नागरिकहरुले सहज रुपमा सेवा पाउने र सेवालाई प्रभावकारी बनाउने तथा प्रकरणमा संलग्न भएकाहरुलाई कारवाही गर्ने तथा विगतमा भएका यस्ता नागरिकता खरिद विक्रीका अनुसुचीहरु खोजेर वास्तविकलाई कायम गर्ने तथा नभएकाहरुलाई खारेज गर्ने प्रकृयामा प्रशासन किन हतारिँदैन ? पटक–पटकको प्रयत्न पछि विदेशी नागरिक दावा भनिने निमा लामाको नागरिकता छानविन गर्न गृह मन्त्रालयले छानविन समिति बनायो । तर सोहि समयमा ३ सय ५० वटा नागरिकताका अनुसूची नभएको प्रतिवेदन बुझाउने तत्कालिन प्रमुख जिल्ला अधिकारीले तयार गरेका विवरण किन लुकाईन्छन् ? 
    दोश्रो पटक राहदानी लिन आएका चितवन स्थायी घर भएका काठमाडौंमा बसोबास गर्ने राजु गुरुङले प्रहरी समक्ष जिल्ला प्रशासन कार्यालय काभ्रेका कर्मचारीहरु मार्फत नागरिकता र राहदानी ३–४ लाख रुपैयाँमा किनेको बयान दिए । प्रहरीलाई बाबु हरिभक्त गुरुङ्गले काभ्रे जिल्लामा नागरिकता किन्न पाईन्छ भन्ने सूचनाका आधारमा आफु समेत उपस्थित नभई कुनै कागजात विना नै २०७४ मसिंर १३ गते राहदानी र नागरिकता खरिद गरी लगेको बयान दिए । यसले के संकेत गर्छ ? यसअघि ७ जना ब्यक्तिहरुको नागरिकता विक्री गरेको फेला परे पनि खारेज भने अझै भएको छैन । जुमप्रसाद गुरुङका नाती हरिभक्त गुरुङ र भक्तकुमारी गुरुङका छोरा हुन् राजु गुरुङ । अहिले उनी ४० वर्षका भए । चितवनबाट काठमाडांै स्थायी बसोबास बनाएका उनको परिवार काठमाडौं महानगरपालिका धुम्बाराही हो । उनी लामो समय हङकङ बसेर नेपाल आएका थिए । अहिले नेपालमा उनले केहि काम गरेका छैनन् । एक महिना अगाडि हङकङबाट नेपाल आएका उनी हङकङमा एयरपोर्टको रोडमा कन्स्ट्रक्सनको काम गर्थे । उनी विवाहित हुन् । २०८० माघ २६ गते मात्रै उनको सोना लिम्बुसँग विवाह भएको थियो । परिवारमा बुबा, आमा, श्रीमतीका साथै भाई सान्तबहादुर गुरुङ छन् । तर भाई अलग्गै बस्दै आएका छन् । बाबु हरिभक्त हङकङमा सेक्युरिटीको काम गर्छन् । उनले त्यहाँको स्थायी परिचयपत्र बनाएका छन् । दिदी रिता पनि हङकङमा रेस्टुरेन्टमा काम गर्छिन् । राजुसँग पनि उक्त कार्ड छ । जसका कारण हङकङ जान आउन र बस्न कुनै समस्या हुँदैन । 
    राजु जस्ता थुप्रै ब्यक्तिहरुले नागरिकता खरिद गरेका छन् । विक्री गर्ने मध्येका एकजना पक्राउ परेका छन् । तर अन्य गिरोह र नागरिकता लिनेहरुलाई छानविन गर्न प्रशासनले अझै चासो दिएको छैन । जबसम्म त्यो प्रकरणका सबै सलग्नहरु कारवाहीको दायरामा आउँदैनन तबसम्म काभ्रेपलाञ्चोक जिल्लाको यो विकृति रहिरहन्छ ।