2024 April 27/ 02:39: 03am

    काभ्रेको पनौती नगरपालिका वडा नम्वर ६ सुन्थान स्थित दलिन्चोकमा निर्माण गरिन लागेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) निर्माणमा अन्योलता बढिरहेको छ। वर्षाै वितिसक्दा समेत उक्त क्षेत्रमा निर्माण हुने भनिएको प्रतिष्ठानको कार्य अघि नबढ्दा राष्ट्रलाई नोक्सानी भईरहेको छ भने स्थानीयहरुबाट खरिद गरिएको जमिन समेत बाँझो हुँदा उत्पादन घटिरहेको छ। राज्यको अर्बाै रकम नोक्सानी हुन पुगेको छ। अन्योलताले प्रतिष्ठानको कार्यमा समेत प्रभावित बनाएको छ। हरेक पटक उक्त क्षेत्रका विषयमा कुराकानी भए पनि छिमेकी देश भारतको स्वार्थका कारण समयमै निर्माण हुन नसकेको हो। 
    काठमाडौंको महाराजगञ्जमा रहेको प्रहरी एकेडेमी पूर्ण रुपमा विस्थापित गरी पनौतीमा स्थापना गर्न खोजिए पनि भारत सरकारको आलटालका कारण एकेडेमी निर्माणको कार्यले गति लिन सकेको छैन। निर्माण कार्य सुरु भएको अवस्थामा पनि ५ देखि १० वर्षसम्म लाग्न सक्ने योजना हो यो। एकेडेमी निर्माण अघि नेपाल सरकारले उक्त स्थानमा अस्थायी संरचनाका टहरा निर्माणको कार्य शुरु गरेको छ। टहरा निर्माणका लागि प्रतिष्ठानले २०७६ मंसीर ८ गते ७ करोड ९० लाख १२ हजार ८ सय ९५ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। ६ महिनाभित्र काम सक्ने गरी प्रिफ्याब संरचना निर्माणको ठेक्का सम्झौता भएको थियो। कोरोना भाईरसका कारण उक्त संरचना निर्माणमा ढिलाई भएको छ। सम्झौता अनुसार तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन सक्दा एकेडेमीले उद्देश्य अनुसारको कार्य अगाडि बढाउन सकेको छैन। कोरोनालाई देखाउँदै उक्त क्षेत्रमा प्रतिष्ठानले गर्न कार्य अवरुद्ध पारिएको छ।
    प्रहरी एकेडेमीको प्रारम्भिक मुल्य करिब ९ अर्बको छ। २५ वर्ष अघि भारत सरकारले काभ्रेको पनौतीमा उक्त एकेडेमी बनाई दिने घोषणा गरेको भए पनि त्यो कार्य अघि बढ्न सकेको थिएन। कहिलेबाट सुरु हुन्छ र कहिले सकिन्छ भन्ने टुंगो लागेको छैन्। प्रतिष्ठानको गुरुयोजनामा भारत सहमत नभएपछि निर्माण प्रक्रिया अन्योलमा परेको हो। भारतले समझदारीपत्र (एमओयू) मै संशोधन गर्नुपर्ने अडान समेत राखेको छ। भारतले नेपालले तयार पारेको गुरुयोजना ‘रिभ्यु’ गरिरहेको जानकारी दिएको छ। एकेडेमीका लागि भारतले नेपाललाई आठ अर्ब ७९ करोड १३ लाख ८० हजार रुपैयाँ सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको छ। २५.४५ हेक्टर जग्गा अधिग्रहण गरिसकेको छ। २०५२/०५३ सालबाट करिब ८ सय ८० रोपनी जग्गा खरिद, अधिग्रहण लगायत कार्य सुरु गरिएको थियो। भारतले नेपाल प्रहरीका लागि अत्याधुनिक प्रहरी प्रशिक्षण प्रतिष्ठान बनाउने प्रस्ताव २०५२ सालमै गरेको थियो। भारतीय पक्षले तालिम केन्द्रको ‘फ्याकल्टी मास्टर’ भारतीय सुरक्षाकर्मी राख्नुपर्ने लगायतका विभिन्न सर्त राखेपछि सम्झौता हुनै लामो समय लागेको थियो। प्रतिष्ठानको गुरुयोजना अनुसार पहिलो चरणमा विद्युतीकरण, दोस्रो चरणमा खेलकुद परिसर, फायरिङ रेन्ज, सभाहल र व्यापारिक भवन निर्माण तथा तेस्रो चरणमा स्विमिङ पुल, पार्किङ क्षेत्र र पर्खाल बनाउनु पर्नेछ। सरकारको चासो र कृयाशिलतामा अन्योलता हटाउँदै तत्काल प्रहरी प्रतिष्ठानको निर्माण कार्य शुरु गर्नु जरुरी छ।