2024 April 26/ 10:11: 03am

दुर्घटना न्यूनीकरणको प्रयास
    बनेपा/बाग्मती टिपर ब्यवसायी संघ काभ्रेले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाको विभिन्न क्षेत्रमा संचालन हुने टिपरका चालक र सह चालकहरुलाई दुर्घटना न्यूनिकरण तथा सचेतना अभियान अनुशिक्षण गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय काभ्रे, ईलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सहयोग गरेको उक्त अनुशिक्षण कार्यक्रममा ९ सय टिपरका चालक तथा सहचालकहरुलाई अनुशिक्षण गर्ने लक्ष्य लिईएको थियो । जिल्लामा दैनिक १ हजार ९ सय टिपर अरनिको र विपी राजमार्ग हुँदै ओहोर दोहोर गर्ने गर्छन । उपत्यकामा साँझ मात्रै टिपर चल्ने कारण चालक र ब्यवसायीहरुलाई ब्यवहारिक समस्या थपिएको सहभागिहरुले बताएका थिए । अध्यक्ष प्रेम लामाले नविकरण तथा किनबेच गर्दा सवारी साधन नै लैजानु पर्ने ब्यवस्थाका कारण समस्या थपिएको बताए । हरेक दुर्घटनामा टिपर जोडिने गरेको बताउँदै अध्यक्ष लामाले चालक र सह चालकहरुलाई ट्राफिक नियम भित्र रहेर सवारी चलाउन अनुरोध गरे । ‘हामी साउन भरी चालक र सह चालकलाई अनुशिक्षण गर्छाै, भाद्र लागे पछि कारवाही शुरु गर्छाै’–अध्यक्ष लामाले भने । 
    टिपर चालकहरुले ओभरलोड बोक्ने, ओभर स्पिड चलाउने, टिपरको अगाडीको शो विगारेर सिसा पुरै ढाक्ने, बाहिरको आवाज नसुनिने गरी सिसा लगाएर हिड्ने, सडकमा पानी चुहाउँदै हिड्ने जस्ता विषयमा ध्यान दिन अध्यक्ष लामाले अनुरोध गरे । चालकहरु मापसे छाडेर लागु औैषध सेवन गर्न थालेकाले पनि दुर्घटना बढेको बताएका थिए । पछिल्लो समय टिपरकै कारण दुर्घटना कम भए पनि टिपर आफै दुर्घटनामा पर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक दामोदर सिलवालले बताए । अनुशिक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले अधिकारसँगै कर्तब्य पालना गर्न चालकहरुलाई अनुरोध गरे । एसपी जयराज सापकोटाले ट्राफिक नियम भित्र रहेर सवारी चलाउन चालकहरुलाई निर्देशन दिए । नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले ब्यवसायीहरुलाई सरकारका नीतिले असहज भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, टिपर ब्यवसायी संघका पुर्व अध्यक्ष शेरबहादुर कुँवर, अध्यक्ष प्रेम लामाले ब्यवसायी र चालक सह चालककै कारण दुर्घटना बढेकाले न्युनिकरणका लागि सबै पक्ष सक्रिय हुनु पर्ने बताए ।