2024 March 29/ 11:16: 29am

    नयाँगाउँ, मण्डन देउपुर/मुक्त नेपालद्वारा निर्माण भएको महाकाली माविको भवन शुक्रबार मण्डन देउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाईवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    भवन उद्घाटन सँगै हस्तान्तरण गरिएको छ । दुई तल्ले पक्की भवन निर्माणका लागि १ करोड ३१ लाख इस्टमेट राखिए पनि १ करोड २८ लाखमा निर्माण सम्पन्न भएको मुक्त नेपालका अध्यक्ष राजकुमार खत्रीले बताए । कार्यक्रममा बोल्दै नगर प्रमुख वाईवाले नगरको शिक्षाको गुणस्तर कायम राख्न र सुधार्न सामुदायिक विद्यालयको ब्यवस्थापन, शिक्षकहरुको क्षमता अभिबृद्धद्धी तथा भवनहरुको पुनर्निर्माण गरिरहेको बताए । कतै शिक्षक धेरै हुने विद्यार्थी नहुने र कतै विद्यार्थी धेरै हुने शिक्षक नहुने परम्परालाई तोड्दै नगर भित्रका विद्यालयका शिक्षकहरुको दरवन्दी मिलान तथा गुणस्तरीय र ब्यवहारिक शिक्षाका लागि स्थानीय पाठ्यक्रम, अंग्रेजी माध्यमबाट कक्षा संचालन लगायतका कार्यक्रमहरु गरिएको बताए । कार्यक्रममा उपप्रमुख निर्मला शाहि, प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपाने, इभी जर्मनकी अलिना रुडल, वडा अध्यक्षहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु, मुक्त नेपालका पदाधिकारी, अभिभावक तथा विद्यार्थीहरु र विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
    कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धावाधोर्दे लामाको अध्यक्षता रहेको थियो  । विद्यालयका प्रधानाध्यापक शिवकुमार पौड्यालले विद्यालयको शैक्षिक र भौतिक अवस्थाका बारेमा बताउँदै गुणस्तरीय शिक्षाका लागि निरन्तर लाग्ने प्रतिवद्धता ब्यक्त गरेका थिए । १२ कक्षासम्म ६ सय विद्यार्थी रहेको महाकाली मावी २०१७ सालमा स्थापना भएको विद्यालय हो । नवनिर्मित भवनमा कक्षा ११ र १२ को अध्यापन गराईने प्रधानाध्यापक पौड्यालले बताए ।