2019 June 27/ 03:49: 02pm

विकास तिमल्सिना/पनौती
    पनौतीमा युवा तथा विद्यार्थीका लागि मोटिभेस्नल कार्यक्रम गरिएको छ । रिटर्नी माइगं्रेट नेपालको आयोजनामा भएको कार्यक्रममा प्रदेश नम्वर ३ का प्रदेससभा सांसद् चन्द्र लामाको प्रमुख आतिथ्यता रहेको थियो । 
    कार्यक्रममा बोल्दै सांसद लामाले विद्यालय तथा कलेजको पाठ्यक्रम समय सापेक्ष नभएकाले सुधार्न आवश्यक रहेको बताए । अहिलेको शिक्षाले सैद्धान्तिक ज्ञान मात्र दिएकाले सिकेका कुरा व्यवहारमा समेत उतार्न सक्ने खालको शिक्षा आवश्यक रहेकोमा सांसद लामाले जोड दिए । आफैले गरेको काममा बढी खुसी मिल्ने भएकाले नयाँ कामको सुरुवात आफैंबाट गर्न युवा तथा विद्यार्थीलाई सांसद् लामाले आग्रह गरेका छन् । यस्तै कार्यक्रममा तेजगंगा क्याम्पसकी क्याम्पस प्रमुख डा.अम्बुभवानी कार्कीले सामाजिक सन्जालको गलत प्रयोगले युवाहरु नकारात्मक कुरामा फस्दै गएको बताइन् । यस्तै नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिनाले भड्किलो जीवनशैली तथा परिवारका सदस्यको ठुला महत्वकांक्षाले युवालाई वैदेशिक रोजगारीमा जान बाध्य पारिरहेको बताए । प्रशिक्षक गणेश ढुंगानाले संसारको सबैभन्दा ठुलो शक्ति युवाको मस्तिष्क भएकाले यसको सहि प्रयोगले मात्र सफलता हात पार्न सकिने बताएका थिए । कार्यक्रममा रिटर्नी माइग्रेंट नेपालका केन्द्रिय महासचीव लक्ष्मी प्रसाद आचार्यले विदेशमा सिकेका सिपलाई यहि देशमा प्रयोग गर्नका लागि संस्था स्थापना गरिएको जानकारी दिए । ज्ञान विकास पुस्तकालयका अध्यक्ष ओम श्रेष्ठले युवाहरुको सकारात्मक चिन्तन र सक्रियताले असम्भव कुरालाई सम्भव बनाउन सक्ने क्षमता राख्ने बताए । कार्यक्रममा प्रहरी चौकी पनौतीका इन्चार्ज शिवहरी कार्की, भागवत धर्म संरक्षण समितिका अध्यक्ष एवं युवा पण्डित अच्युत भट्टराई, समाजसेवी जंग बहादुर जंगम, रिटर्न माइग्रेट काभ्रेका सदस्य वुद्ध कुमार श्रेष्ठ, विश्राम समाजका अध्यक्ष सविन ताम्राकार, पनौती सोसाइटी गु्रपका सिजन सुधाकार, पनौती जेसिसका अनिश लामा, जुनियर जेसिकी आकृति दाहाल, गोरखनाथ युवा क्लवका अध्यक्ष सुदिप न्यौपाने, रोट्रयाक्ट क्लबकी मनिषा श्रेष्ठ लगायत शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा पनौती नगरपालिका, स्वतन्त्र विद्यार्थी युनियन तेगंगा क्याम्पस, पनौती जेसिस र ट्रान्सफरमेसन नेपालले सहयोग गरेका थिए । रिटर्नी माइगं्रेट नेपाल काभ्रेका अध्यक्ष दिनेश कुमार बजगाईको सभापतित्वमा भएको कार्यक्रमको संचालन विशाल तिमल्सिनाले गरेका थिए ।