2026 June 25/ 04:29: 12pm

धुलिखेल/बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालय अन्तर्गत पर्यटन कार्यालय काठमाडौंले धुलिखेलमा होटल व्यवसायमा आबद्ध कर्मचारीहरूका लागि हस्पिटालिटी अर्थात आतिथ्य सेवा अभिमुखीकरण तालिम आयोजना गरेको छ । 
    कार्यालय प्रमुख पवन पोखरेलको अध्यक्षतामा रहेको कार्यक्रममा धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यालय प्रमुख पोखरेलले प्रदेशका जिल्लाहरुमा रहेको पर्यटन क्षेत्रको सम्भावना, अवसर र चुनौती तथा कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने प्रमुख अतिथी जंगमले उपत्यकासँग जोडिएको पर्यटकिय नगरी धुलिखेलको सम्भावना र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । 
    कार्यक्रममा अधिकृत यज्ञ वली, होटल संघ काभ्रेका अध्यक्ष प्रल्हाद प्याकुरेलले होटल क्षेत्रको अवस्था तथा पर्यटन क्षेत्रको सम्भावनाका बारेमा जानकारी गराएका थिए । सकारात्मक सोच सम्वन्धी प्रशिक्षण सुधन ज्ञवालीले दिएका थिए । सोहि क्रममा धुलिखेल क्षेत्रको पर्यटनका सन्र्दभमा वडा नम्वर ७ को प्रायोजनमा तयार गरिएको ब्रोसर रोटरी क्लव अफ धुलिखेल मार्फत सार्वजनिक गरिएको थियो । पर्यटन क्षेत्रको सेवा गुणस्तर अभिवृद्धि गर्दै पर्यटकमैत्री वातावरण निर्माण गर्ने उद्देश्यका साथ आयोजित तालिममा होटल तथा पर्यटन व्यवसायमा आवश्यक व्यवहार, सेवा, शिष्टाचार र व्यावसायिक दक्षताबारे जानकारी प्रदान गरिएको थियो । सोहि क्रममा बागमती प्रदेशभित्र रहेका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय सम्पदाको संरक्षण र प्रवद्र्धनसँगै पर्यटन उद्योगको दिगो विकासका विषयमा समेत छलफल गरिएको थियो। कार्यालयले प्रदेशमा मनाइने इन्द्रजात्रा, रातो मच्छिन्द्रनाथ जात्रा, बिस्केट जात्रा, गाइजात्रा, दशैं, तिहार, तीज, ल्होसारलगायतका महत्वपूर्ण जात्रा–पर्वहरूले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेको छ ।
    बागमती प्रदेशमा विभिन्न मौलिक संस्कृति, भाषा, कला, नृत्य तथा परम्परागत जात्रा–पर्वहरूको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राखिएको छ । माझी समुदायको लदीपूजा, मगर समुदायको भुमेपर्व, जिब्रो छेड्ने जात्रा, श्रीनीलवाराही गणनाच तथा चनारु स्याइँनाचजस्ता सांस्कृतिक सम्पदाहरूलाई नेपाल सरकारले अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा समावेश गरिसकेको जानकारी दिइएको थियो । पर्यटन कार्यालय काठमाडौंले प्रदेशभित्र पर्यटकस्तरीय होटल, रिसोर्ट, लज, ट्राभल तथा ट्रेकिङ एजेन्सी, गाइड, ¥याफ्टिङ तथा अन्य साहसिक पर्यटन व्यवसायको दर्ता, अनुमति, नवीकरण र नियमन गर्दै आएको छ । साथै विदेशी मुद्रा सटही, पर्यटक सवारी तथा उद्योग दर्तासम्बन्धी सिफारिस सेवा समेत प्रदान गरिँदै आएको छ ।
    संस्कृति संरक्षणतर्फ भाषा, लिपि, धर्म, कला र परम्परागत जात्रा–पर्वहरूको संरक्षण र प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन हुँदै आएको अधिकृत यज्ञ वलीले बताए । चालु आर्थिक वर्ष २०८२÷८३ मा तमू ल्होसार महोत्सव, सोनाम ल्होसार, आकाशभैरव जात्रा, लाखे नाच प्रदर्शनी, कुमारी पूजा, सांस्कृतिक चलचित्र महोत्सवलगायत कार्यक्रम सम्पन्न गरिएको कार्यालयले जनाएको छ । पर्यटन प्रवद्र्धनका क्षेत्रमा आर्थिक वर्ष २०८२÷८३ मा नेपालमै पहिलो पटक २४ जना माउन्टेन बाइक गाइडलाई लाइसेन्स प्रदान गरिएको जानकारी कार्यक्रममा दिइयो । साथै काठमाडौं उपत्यका र काठमाडौं शहरका पर्यटकीय नक्सा छपाई गरी पर्यटकहरूलाई वितरण गर्ने कार्य समेत निरन्तर भइरहेको जनाइएको छ ।
    काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यहरूको समेत जानकारी गराइएको थियो । नमोबुद्ध, धुलिखेल, बेथानचोक, पनौती, पलाञ्चोक भगवती मन्दिर, इन्द्रेश्वर महादेव मन्दिर, उन्मत्त भैरव मन्दिर र चण्डेश्वरी मन्दिर जिल्लाका प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएका थिए । त्यस्तै नमोबुद्ध–पनौती, धुलिखेल–नमोबुद्ध, पनौती–बल्थली तथा बेथानचोक–तिमाल पदमार्गलाई पर्यटक आकर्षित गर्ने प्रमुख पदमार्गका रूपमा चिनाइएको थियो । बखुन्डोल बुद्ध पार्क, थुम्की प्राकृतिक पार्क, पनौती संग्रहालय, धुलिखेल अस्पताल तथा काठमाडौं विश्वविद्यालयलाई समेत जिल्लाका विशेष पर्यटकीय आकर्षणका रूपमा उल्लेख गरिएको थियो ।
    कार्यक्रममा होटल व्यवसायी तथा कर्मचारीहरूको भूमिकामाथि विशेष जोड दिइएको थियो । सफा, सुरक्षित र आरामदायी आवास, अन्तर्राष्ट्रिय स्तरको सेवा, दक्ष जनशक्ति, डिजिटल प्रवद्र्धन तथा अनलाइन बुकिङ प्रणालीको प्रभावकारी प्रयोगले पर्यटकको बसाइ अनुभवलाई गुणस्तरीय बनाउन सक्ने बताइएको छ । ‘अतिथि देवो भवः’को भावनाअनुसार मुस्कानसहितको अभिवादन, विनम्र व्यवहार, धैर्यपूर्वक सुन्ने क्षमता तथा सहयोगी भावना नै उत्कृष्ट आतिथ्य सेवाको आधार भएको प्रशिक्षकहरूले बताएका थिए। स्थानीय संस्कृति, खानाका परिकार तथा हस्तकलाको प्रदर्शनले समेत पर्यटकलाई नेपाली मौलिकतासँग जोड्न मद्दत पुग्ने धारणा व्यक्त गरिएको थियो ।
    पर्यटन कार्यालयले भविष्यमा सूचना प्रविधिमैत्री प्रचार–प्रसार, साहसिक पर्यटनको विस्तार, दक्ष जनशक्ति उत्पादन, सांस्कृतिक सम्पदाको अभिलेखीकरण तथा निजी क्षेत्रसँगको सहकार्यलाई थप प्राथमिकता दिने जनाएको छ । साथै प्रदेशभित्र बोलिने मातृभाषाहरूको संरक्षण तथा अभिलेखीकरणमा समेत विशेष ध्यान दिने योजना रहेको कार्यालय प्रमुख पवन पोखरेलले बताए । होटल व्यवसायमा आबद्ध कर्मचारीहरूलाई पर्यटकमैत्री व्यवहार, सञ्चार सीप, गुनासो व्यवस्थापन, सरसफाइ, सुरक्षा तथा व्यावसायिक दक्षताबारे व्यवहारिक ज्ञान प्रदान गरेको आयोजकले जानकारी दिए ।