बनेपा/निष्ट माध्यमिक विद्यालयले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई एक कार्यक्रमका बीच विदाई तथा सम्मान गरेको छ ।
निष्ट फाउण्डेशनका अध्यक्ष डा. माधब बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै आगामी शैक्षिक तथा व्यावसायिक यात्राका लागि शुभकामना प्रदान गरिएको थियो । कार्यक्रममा कक्षा १२ मा रोहित सत्यालले ३.९५, मनिषा ढुङ्गेलले ३.९४, विमोचना ढकालले ३.९० जिपिए तथा ए प्लस ९५ जना, ए २२७ जना, बि प्लस ८८ जना र बि २ जनाले जिपिए ल्याएको सहायक प्रिन्सिपल रजिव श्रेष्ठले बताए ।
विद्यालयका प्रिन्सिपल दिपक भट्टले १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै विद्यालयको गौरव बढाएको बताए । गत वर्ष नेपाल टप गरेको विद्यालयले प्रत्येक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको भट्टले बताए । भट्टले विद्यार्थीहरूलाई प्राप्त ज्ञान, सीप र अनुभवलाई जीवनका विभिन्न क्षेत्रमा उपयोग गरी समाज र राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरे । भट्टले उच्च शिक्षा तथा भविष्यको यात्रामा अनुशासन, मेहनत र सकारात्मक सोचलाई आत्मसात् गर्न सुझाव दिदै विद्यालय छोडे पनि निष्ट परिवारसँगको सम्बन्ध सधैं कायम रहने विश्वास व्यक्त गरे ।
निष्ट कलेजका निर्देशक राजेन्द्र घिसिङ्गले विद्यालयले सिकाएका ज्ञान, अनुशासन र जीवनोपयोगी शिक्षाले भविष्यमा सफलता हासिल गर्न प्रेरणा दिने बताएका थिए । कार्यक्रममा साँस्कृतिक प्रस्तुति, गीत, नृत्य तथा अनुभव आदानप्रदानका विभिन्न कार्यक्रम समेत गरिएको थियो । विद्यालयका अध्यक्ष बरालले विद्यार्थीहरूलाई जीवनको नयाँ यात्रामा सफलताको शुभकामना व्यक्त गर्दै शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई असल नागरिक बन्ने आधार भएको बताए । बरालले राष्ट्रप्रति उत्तरदायी नागरिकका रूपमा आफूलाई स्थापित गर्न विद्यार्थीहरूलाई आग्रह गरेका थिए । विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूको मनोबल उच्च बनाउन तथा विद्यालयसँगको सम्बन्धलाई दीर्घकालसम्म कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बरालले बताए । कार्यक्रममा स्वागत मन्तब्य प्रिन्सिपल दिपक भट्टले गरेका थिए भने सञ्चालन सहायक प्रिन्सिपल रजिब श्रेष्ठले गरेका थिए । कार्यक्रममा बनेपा नगरपालिका वडा नम्बर ९ का वडा सदस्य गणेश सापकोटा, विद्यालयका प्रशासन प्रमुख पुण्य कट्टेल, चेष्टा साप्ताहिकका सह–सम्पादक लक्ष्मण तिमल्सिना, उत्कृष्ट विद्यार्थी रोहित सत्याल लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।









