2026 June 25/ 11:31: 23am

    बनेपा/काभ्रेको बनेपा नगरपालिका वडा नं. ३ अन्तर्गत नालामा स्वच्छ दूध उत्पादन सम्बन्धी अभिमुखीकरण तथा एक दिने तालिम सम्पन्न भएको छ । नेपाल डेरी एसोसिएसन तथा बनेपा नगरपालिका वडा नं. ३ को संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।
    विश्व दुग्ध दिवस २०८३ को अवसरमा आयोजित कार्यक्रममा ‘दिगो क्षेत्रको दिगो विकास ः पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने मूल नारासहित दुग्ध क्षेत्रको दिगो विकास, पोषण सुरक्षा तथा आर्थिक समृद्धिका विषयमा विशेष छलफल गरिएको थियो । कार्यक्रममा दुग्ध व्यवसायी, किसान तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । 
    कार्यक्रममा सहभागीहरूलाई स्वच्छ तथा गुणस्तरीय दूध उत्पादन, पशुपालन व्यवस्थापन, दूध संकलन तथा बजार व्यवस्थापन सम्बन्धी जानकारी प्रदान गरिएको थियो । तालिमका क्रममा पशु स्वास्थ्य, गोठ व्यवस्थापन, सरसफाइ, दुग्धजन्य पदार्थको महत्व तथा व्यवसायिक पशुपालनका विषयमा सहजीकरण गरिएको आयोजकले जनाएको छ । 
    कार्यक्रमका सभापति तथा वडा नं. ३ का वडा अध्यक्ष रमेश प्रसाद दाहालले किसानका केही समस्याहरू सम्बोधन गरिए पनि अझै पर्याप्त नभएको बताए । उनले पशु बीमा तथा विभिन्न रोगविरुद्ध निःशुल्क खोप उपलब्ध गराएर वडाले आवश्यक सहजीकरण गर्दै आएको जानकारी दिए । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दुग्ध क्षेत्र नेपालको कृषि अर्थतन्त्रको महत्वपूर्ण आधार भएको बताए । उनले गुणस्तरीय दूध उत्पादनमा जोड दिँदै किसानलाई आधुनिक प्रविधिसँग जोडेर उत्पादन वृद्धि गर्न सके आर्थिक अवस्था सुधार हुनुका साथै उपभोक्ताले समेत स्वच्छ दूध उपभोग गर्न पाउने धारणा राखे ।
    कार्यक्रममा राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य राजन दाहाल, पशु प्राविधिक तथा स्थानीय किसानहरूले गुणस्तरीय दूध उत्पादनका लागि अपनाउनुपर्ने उपायहरूबारे मन्तव्य राखेका थिए । सहभागीहरूले समयमै दूधको भुक्तानी हुनुपर्ने, नगरपालिका स्तरबाट पशुसम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने लगायतका मागहरू राखेका थिए । आगामी दिनमा किसान लक्षित सचेतनामूलक तथा सीपमूलक कार्यक्रमलाई निरन्तरता दिइने वडा अध्यक्ष रमेश प्रसाद दाहालले जानकारी दिए ।