नाला/आईएसओ प्रमाणपत्र प्राप्त बनेपा नगरपालिका वडा नम्वर ४ नालामा रहेको सामुदायिक विद्यालय चण्डेश्वरी सृष्टिकान्त माध्यमिक विद्यालयले २०८३ सालको नयाँ शैक्षिक सत्रमा नर्सरी देखी कक्षा ९ सम्म नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत तथा २०८२ सालको एसईई परीक्षामा दुई जना विद्यार्थी चार जिपिए सहित शतप्रतिशत उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा बनेपा नगरपालिका नगर प्रमुख शान्तिरत्न शाक्यले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै सामुदायीक विद्यालयलाई विश्वास गरी अध्यापन गर्न आएकोमा धन्यवाद दिएका थिए । शाक्यले पूर्वाधार, शिक्षक तथा कर्मचारी ब्यवस्थापन, विद्यालय बस लगायत उपलब्ध गराउन स्थानीय सरकार समन्वय गरिरहने बताए । नगरपालिकाले नगर भित्र रहेका अन्य सामुदायीक विद्यालयले समेत चण्डेश्वरी सृष्टिकान्त विद्यालयबाट सिक्नुपर्ने बताए । गुणस्तरीय शिक्षा प्रदान गर्न नगरपालिकाबाट कस्तो सहयोग आवश्यक पर्छ गर्न तयार रहेको तर गुणस्तरीय शिक्षामा कुनै सम्झौता नहुने शाक्यले बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्यामप्रसाद पाण्डेयले विद्यालयले शुरु गरेको गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियान तथा प्रतिबद्धतालाई समग्र शिक्षक र विद्यार्थीहरुका अलावा स्थानीय समुदाय र सरकारको सहयोग रहेकाले प्रतिफल प्राप्त भएको बताए । केहि वर्ष देखि प्राप्त गरेको नतिजाले विद्यालयलाई हौसला मिलेको उनले बताए । पाण्डेले शैक्षिक सत्र २०८३ मा २ सय २५ जना नयाँ विद्यार्थी भर्ना भई जम्मा विद्यार्थी ११ सय भन्दा बढी अध्ययनरत रहेको बताए । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठले कक्षाकोठा र शिक्षक ब्यवस्थापन हुन नसकेका कारण धेरै विद्यार्थीहरु भर्ना गर्न नसकिएको बताए । विद्यालयको प्रगती स्थानिय, शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहयोगका कारण भएको श्रेष्ठले बताए ।
विद्यालयबाट सहभागी ७० जना विद्यार्थी मध्ये २ जना चार जिपिए, १३ जना ३ं.६० जिपिए भन्दा माथी ४ जिपिए भन्दा कम, २७ जना ३.२० जिपिए भन्दा माथी र ३.६० जिपिए भन्दा कम, २४ जना २.८० जिपिए भन्दा धेरै र ३.२० जिपिए भन्दा कम र ४ जना विद्यार्थीले २.४० जिपिए भन्दा धेरै नम्वर ल्याई उत्तिर्ण भएका थिए । विद्यालयको कुल औसत प्रतिशत ३.३१ रहेको प्रधानाध्यापक श्यामप्रसाद पाण्डेले बताए । कार्यक्रममा नरर्सरी देखी एसईई उत्तिर्ण सम्मका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य कक्षा ९ मा अध्यनरत विद्यार्थी अर्पणा बस्नेतले राखेकी थिईन् भने सञ्चालन सहायक प्रधानाध्यापक भिमसेन हुमागाईले गरेका थिए ।





