2026 June 25/ 04:52: 53pm

    बनेपा/बनेपामा रहेको लिन इन्टरनेशनल बोर्डिङ्ग स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुले आफुले पाठ्यक्रममा अध्ययन गरेका आधारमा स्थानीय सामाग्रीहरुको प्रयोग गरी शैक्षिक प्रदर्शनी आयोजना गरेका छन् । आफुले तयार गरेका सामाग्रीहरुको अवलोकनका लागि अभिभावकहरु विद्यालयमा उपस्थित भएका थिए । 
    विद्यालयको वार्षिक क्यालेन्डर अनुसार शैक्षिक प्रदर्शनीमा आयोजना गरिएको विद्यालय निर्देशक शिशिर भण्डारीले बताए । विद्यार्थीहरूको सीप, कला, क्षमता तथा अतिरिक्त क्रियाकलापलाई प्रस्तुत गरिएको थियो । विद्यालयमा विद्यार्थीहरूलाई अतिरिक्त सिकाई गराइँदै आएको र त्यसलाई प्रयोगात्मक रूपमा अभ्यासमा ल्याइएको विद्यालयका प्रिन्सिपल श्रीकृष्ण श्रेष्ठले बताए । 
    विद्यालयका सह–प्रधानाध्यापक दिपक तामाङका अनुसार शिक्षकहरूको निर्देशन र विद्यार्थीहरूको मेहनतबाट विभिन्न विषयसँग सम्बन्धित सामग्रीहरू प्रदर्शनीमा राखिएको हो । विद्यालयको शैक्षिकस्तर वृद्धि र रचनात्मक कार्यमा विद्यार्थीलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम प्रेरणादायी हुने उनले बताए । प्रदर्शनीमा शिक्षा, स्वास्थ्य, यातायात, विज्ञान, नेपाली, गणित र सामाजिक विषयसँग सम्बन्धित चित्र, कागजबाट बनाइएका संरचना लगायत सामग्रीहरू राखिएका थिए । साथै विद्यार्थीहरूले परम्परागत लोपोन्मुख नेपाली सामग्री, हस्तलेखन तथा चित्रकलासमेत प्रदर्शनीमा प्रस्तुत गरेका थिए । युकेजीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले तयार पारेका सामग्रीहरू अवलोकनका लागि राखिएको थियो । 
    विद्यार्थीको अन्तरनिहित क्षमताको प्रष्फूटन, प्रयोगात्मक शिक्षालाई जीवन ब्यवहारसँग जोड्ने विद्यार्थीको आत्माविश्वास बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको विद्यालय निर्देशक भण्डारीले बताए । बिहान १० बजे देखि ३ बजे सम्म आयोजना गरिएको उक्त प्रदर्शनीमा अभिभावक र विद्यार्थी गरि करिब ९ सय जनाको उत्साहजनक सहभागिता रहेको थियो । अभिभावकहरुले आफ्ना बच्चाहरूको प्रस्तुती, लगाव र विद्यालयले उपलब्ध गराएको वातावरणलाई पत्याउनै नसक्ने गरी ब्यवहारीक र प्रयोगात्मक अभ्यासमा लगाएको भन्दै विद्यालयलाई धन्यवाद ब्यक्त गरेका थिए ।