2026 June 25/ 04:52: 53pm

    धुलिखेल/धुलिखेल नगरपालिका ‘अपाङ्गता समावेशी समाजको प्रबद्र्धन ः सामाजिक उन्नतिको सम्बद्र्धन’ भन्ने मूल नारासहित अपाङ्गता भएका व्यक्तिहरूका अभिभावक तथा संरक्षकहरूलाई लक्षित गरी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस २०२५ का अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।
    कार्यक्रमनगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगर प्रमुख  समावेशी समाज निर्माण नगरपालिका विकास रणनीतिको केन्द्रमा रहेको बताउँदै अपाङ्गता भएका व्यक्तिहरूका परिवारलाई सहारा, तालिम र जानकारी उपलब्ध गराउनु स्थानीय सरकारको जिम्मेवारी भएको बताए। समुदायमा समावेशी सोच बढाउन अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउँदै नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । 
    कार्यक्रममा उपप्रमुख निराजन जंगमले अपाङ्गतासम्बन्धी सेवाहरूलाई अझ व्यवस्थित र पहुँचयोग्य बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले नीति निर्माणदेखि कार्यान्वयनसम्म अपाङ्गता भएका व्यक्तिको सहभागिता आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले अभिमुखीकरणले अभिभावकमा आवश्यक ज्ञान, सीप र व्यवहारिक बुझाइ विकास हुने विश्वास व्यक्त गरे । त्यसैगरी, सामाजिक विकास समिति संयोजक तथा अध्यक्ष गणेश आचार्यले सामाजिक समावेशीकरणका योजनाहरू सफल बनाउन समुदायको सक्रियता अनिवार्य रहने बताए ।
    कार्यक्रम शाखा अधिकृत पुजा काफ्लेले संचालन गरेकी थिइन् । कार्यक्रममा विभिन्न शाखा प्रमुखहरू, स्थानीय क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो । एक दिने अभिमुखीकरण कार्यक्रममा सुदर्शन सुवेदी, दोभासे एवं अधिकारकर्मी कृष्णप्यारी नकर्मीले अपाङ्गता सम्बन्धी अवधारणा, कानुनी व्यवस्था, परिवारको भूमिका, मनो–सामाजिक पक्ष, हेरचाहका सीप, तथा समुदायमा व्यवहारिक समावेशीकरणका विषयमा प्रशिक्षण तथा अन्तरक्रिया सञ्चालन गरेका थिए ।
    धुलिखेल नगरपालिकाको लैङ्गिक विकास तथा समाज कल्याण शाखाद्वारा आयोजना गरिएको कार्यक्रमले अभिभावकहरूलाई आवश्यक ज्ञान तथा प्रेरणा प्रदान गर्दै समावेशी समाज निर्माणमा सकारात्मक योगदान गर्ने अपेक्षा नगरपालिकाले गरेको छ ।