धुलिखेल/यो पटक काभ्रेपलाञ्चोक जिल्लामा दशै अवधीभर चोरी र दुर्घटनाका ठुला घटना भएनन् । आफ्नै कारण भएका सामान्य दुर्घटनामा पनि कसैले ज्यान गुमाउनु नपरेको प्रहरीले जानकारी दिएको छ ।
हरेक वर्षका दशैहरुमा दुर्घटना हुने र ब्यक्तिको ज्यान जाने गरेको थियो । यो वर्ष ग्रामिण भेगमा जाने सवारी साधनहरु पनि सडकको अवस्था अनुसार सुरक्षित रुपमा पुगेको र फर्कने क्रममा पनि सचेत देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । फाट्टफुट्ट रुपमा मोटरसाईकल तथा साना सवारी साधन एक आपसमा ठोक्किए पनि ज्यान जाने गरी सवारी दुर्घटना दशैको अवधीमा नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरिक्षक सुनिल धाँजुले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी कोमल शाहका अनुसार जिल्लाभर दशै अवधीमा चोरी तथा अन्य अपराधका घटना भएका छैनन । ‘दशै अर्थात चाडपर्व लक्षित सुरक्षा योजना कडाईका साथ कार्यान्वन गर्ने गरी कार्ययोजना निर्माण गरिएको थियो’–प्रहरी प्रमुख एसपी कोमल शाहले भने–‘चाडपर्वमा हुने सक्ने चोरी तथा अन्य अपराध नियन्त्रणका लागि ८ वटा मोवाईल टोली शहरी क्षेत्रमा परिचालन गरिएको थियो भने ग्रामिण भेग र अन्य क्षेत्रमा आवश्यकता अनुसार प्रहरी युनिटहरु सक्रिय थिए ।’ नागरिकहरु आफै पनि सचेत रहेका कारण यो वर्षको दशैमा चोरी लगायतका अपराधमा न्यूनीकरण भएको प्रहरीले बताएको छ ।
जेलबाट भागेका धेरै कैदीहरु अझै लुकेर बसिरहेका छन् । भदौ २३ र २४ पछिको घटनाले नागरिकहरु आफै त्रसित छन् । अधिकांश गाउँ जानै डराएका छन् भने केहि घरबाट बाहिर निस्कनै डराएका छन् । प्रहरी आफै पनि अझै तग्रिन सकेको छैन । बर्दि र अन्य सामाग्री विना प्रहरीले गस्ति गरिरहेको छ । नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति दिईरहेको छ । काभ्रेका विभिन्न स्थानमा प्रहरी चौकीहरुमा आगजनी र लुटपाटका घटना भएका छन् । तर पनि प्रहरीले नागरिकहरुलाई सुरक्षामा कमि हुन नदिने गरी चाडपर्वमा समेत नियमित गस्ति गरिरहेको प्रहरी प्रमुख एसपी शाहले बताए ।









