नमोबुद्ध, भकुण्डे/अबरुद्ध बिपी राजमार्ग अस्थायी रुपमा निर्माण कार्य सुरु गर्ने उद्देश्यले स्थानीय सरकारहरुले समन्वय गरेका छन् ।
विशेषगरी विकट पालिका महाभारत र रोशी गाउँपालिका उक्त सडक अवरोधका कारण नाकाबन्दीमा परेका छन् । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले वर्षातका कारण रोशी खोलाले बगाएको डाईभर्सन र विपी राजमार्गको अवरोधका कारण महाभारतबासीहरु संकटमा परेको बताए । रोशीको थान्सिङबेसी पुल निर्माणको लागी थप पहल गर्ने गरी तीनवटा स्थानीय सरकारले संयुक्त बैठक आयोजना गरी निर्णय गरेका छन् । महाभारत गाउँपालिका, नमोबुद्द नगरपालिका र रोशी गाउँपालिकाले पूर्वाधार कार्यालय, सडक विभाग, निर्माण व्यावसायी तथा सरोकारवालाहरुको संयुक्त समन्वयात्मक बैठक आयोजना गरी सोमबारबाट नै बिपी राजमार्ग निर्माण कार्य सुरु गरेको हो ।
‘अबरुद्ध विपी राजमार्ग संचालन गर्ने, थानसिङ्ग बेशीमा पक्की पुल निर्माण र चरङ्गेफेदीको दोभानमा बेलिव्रिज निर्माण गर्ने सम्बन्धमा आवश्यक निर्णय भएको छ’– महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने–‘नमोबुद्ध ६ मा पर्ने चरङ्गे दोभान दाप्चा खोलामा बेलिव्रिज निर्माण गर्न नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको छ ।’ त्यस्तै नमोबुद्ध ६ र रोशी ७ जोड्ने थानसिङ्गबेशीमा पक्की पुल गत वर्ष वगाए पछि भएको असहजतालाई सहज बनाउन तत्काल बेलिव्रिजको ब्यवस्थापन र दीर्घकालिन रुपमा पक्की पुल निर्माणका लागि आवश्यक समन्वय गर्न अनुरोध गर्ने निर्णय गरेको छ । उक्त खोलाको पुल बगाए पछि महाभारत र रोशी तथा नमोबुद्धका केहि भागमा जाने स्थानीयलाई असहज हुँदै आएको थियो । विपि राजमार्गमा भएको अवरोध हटाउन निर्माण ब्यवसायीलाई काम शुरु गर्न लगाउने निर्णय भएको छ । निर्णय लगत्तै खोलाको बहावका आधारमा आवश्यक निर्माण कार्य प्रारम्भ गरिएको छ ।
बैठकमा नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ्ग लामा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा सहितका जनप्रतिनिधिहरु र सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।









