धुलिखेल/विश्व पर्यटन दिवसका अवसरमा धुलिखेल नगरपालिकाले आयोजना गरेको अन्र्तक्रिया तथा श्रमको सम्मान कार्यक्रममा धुलिखेलमा रहेका विभिन्न होटलहरुमा कार्यरत श्रमिकहरुको सम्मान गरिएको छ ।
पर्यटन र दिगो रुपान्तरण भन्ने नाराका साथ आयोजित कार्यक्रममा लगातार होटल क्षेत्रमा ४६ वर्ष देखि कार्यरत ७८ बर्षिय होटल सेफ विष्णु खत्री सम्मानित भएका छन् । उनि होटल होराईजन लगायतका होटलहरुमा सेफका रुपमा कार्यरत थिए । अहिले पनि उनि सेफका रुपमा कार्यरत छन् । त्यस्तै धुलिखेल लज रिसोर्टमा २१ वर्ष देखि कार्यरत राजेन्द्र रिमाल सम्मानित भएका छन् । होटल होराईजनमा ३३ वर्ष देखि कार्यरत दमननाथ ढुंगाना सम्मानित भएका छन् । द्धारिकाज होटलमा १९ वर्ष देखि कार्यरत आशा शाहि, धुलिखेल माउन्टेन रिसोर्टमा १५ वर्ष देखि कार्यरत कुमारी पुरी, माउन्ट प्रिन्सेसमा १० वर्ष देखि कार्यरत गिताकुमारी स्याङतान र सारथी होटलमा ७ वर्ष देखि कार्यरतत इन्दिरा सिलवाल सम्मानित भएका छन् । सम्मानितहरु ब्यक्तिहरुलाई नगरपालिका प्रमुख अशोक ब्याञ्जु, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, धुलिखेल पर्यटन परिषदका कार्यकारी उपाध्यक्ष प्रेमकष्ठ माकजु र पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेले दोसल्ला, खादा, सम्मानपत्र सहितले सम्मान गरेका थिए ।









