2026 June 25/ 10:06: 11pm

        बनेपा/नेकपा एमाले बनेपा नगरले बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यलाई बनेपा नगर अस्पतालबाट नै नागरिकहरुलाई स्वास्थ्य बीमाको प्रथम विन्दु सञ्चालनका लागी आवश्यक पूर्वाधारहरु तयार गर्न ज्ञापन पत्र बुझाएका छन् । 
         नगर कमिटी नवराज मानन्धरले नगर प्रमुख शान्ति रत्न शाक्यलाई उक्त ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा भनिएको छ–नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य बीमा बोर्डबाट बीमा गरिएका नेपाली नागरिकहरूलाई सेवा दिइँदै आएको व्यहोरा अवगत नै होला । हाल आएर श्रावण १ गतेदेखि जिल्लाका बनेपा भन्दा बाहेकका केही प्राथमिक स्वास्थ्य केन्द्रहरूमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायम गरिएको र त्यसबाट बनेपा लगायतका सम्पूर्ण काभ्रे जिल्लाका १३ वटै पालिकाका सेवाग्राहीहरू मर्कामा परेका छन् । स्वास्थ्य सुविधा जस्तो गम्भिर विषयमा बनेपा नगरपालिकाले आफ्ना नागरिकहरूको आधारभूत बीमा मार्फत निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने हक अधिकारका लागि पर्याप्त पहल र काम नभएको व्यापक जनगुनासो रहेको नगरपालिकालाई अवगत गराउँदछौं। विरामी भएका व्यक्तिहरू को पहुँच सिधै सुविधा प्राप्त गर्नुपर्ने स्वास्थ्य संस्थामा हुनुपर्नेमा अनावश्यक रूपमा रेफरल सेन्टरहरू कायम गरी बीमा सुविधालाई झन्झटिलो बनाउने काम भएको छ । 
         बिरामी भएको व्यक्ति तुरुन्त उपचार लिन जानुपर्ने अवस्थामा रेफल सेन्टर जान्छ कि निजी भएपनि ठूला अस्पतालहरुमा जान्छ ? यसबाट स्वास्थ्य बीमा बोर्ड र नेपाल सरकारको नियत प्रष्ट नभएको स्पष्ट भएको छ । एकातिर पर्याप्त पूर्वाधार र सुविधा नभएका स्वास्थ्य संस्थाहरूलाई रेफल सेन्टर तोक्ने, ती रेफरल सेन्टरहरूले समेत आवश्यक सिफारिसमेत गर्न नसकेको र नगरेको अवस्था छ । यस्तो अवस्थामा स्वास्थ्य बीमाको अवधारणा नै खण्डित हुन पुगेको छ । यसबाट नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा पाउने मौलिक हकमा गम्भीर असर पुगेको छ । आर्थिक अवस्था कमजोर रहेका नेपाली जनताले दुःख सुख पाइरहेको प्राथमिक स्वास्थ्य बीमाको सुविधाहरू भिरमा फलेको फल जस्तो भएको छ । 
             उपचार गराइरहेको अस्पतालहरूमा पाइरहेको सुविधा खारेज गरी रेफरल सेन्टर मार्फत स्वास्थ्य केन्द्रहरूमा गई प्राथमिक स्वास्थ्य जाँच गरी त्यसबाट उपचारका लागि सम्बन्धित अस्पतालमा रिफर गरिने व्यवस्था गरिएको सरकारको गैर जिम्मेवार र हचुवा निर्णयप्रति नेकपा एमाले बनेपा नगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । बनेपा नगर कमिटी बनेपा नगरपालिका मार्फत नेपाल सरकार स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डसँग स्वास्थ्य केन्द्रहरूमा आवश्यक पूर्वाधार र सुविधाहरू नथपिएसम्म साविकको धुलिखेल अस्पताललाई प्रथम बिन्दु कायम गर्न माग गर्दछ । साथै बनेपा नगरपालिकाभित्र रहेको शिर मेमोरियल अस्पताललाई समेत प्रथम बिन्दु कायम गरी बीमा सुविधा प्राप्त गर्ने अस्पतालको रूपमा कायम गर्न माग गर्दछ । नेपाल सरकारले गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा दिन खोजेको हो भने नगर अस्पतालहरूमा कम्तीमा पनि गुणस्तरीय प्रयोगशाला, दक्ष जनशक्ति र उपकरणहरूको व्यवस्था तत्काल गर्न माग गर्दछौं । न्यूनतम रूपमा एक्सरे, भिडियो एक्सरे, दिशा पिसाब र रगत मार्फत हुने सम्पूर्ण चेक जाँचहरू गर्न सक्ने पूर्वाधार, सुविधा र जनशक्तिको तत्काल व्यवस्था गर्न माग गर्दछौं लगाएतका विषय रहेको छन् । ज्ञापन पत्र बुझाउन नगर सचिब पवन केसी, जिल्ला कमिटि सदस्य बर्ण शाक्य, युवा सघं नेपाल बनेपा नगर कमिटी अध्यक्ष लगायत पार्टीका विभिन्न तहका ब्यक्तिहरुको सहभाथिता रहेको थियो ।