2026 June 25/ 08:39: 13pm

    धुलिखेल, बखुण्डोल/धुलिखेल नगरपालिका वडा नम्वर ४ बखुण्डोलमा जेष्ठ नागरिक पार्क निर्माण गरिएको छ । निर्माण गरिएको पार्कको नगर प्रमुख अशोक ब्याञ्जुले शुभारम्भ गरेका छन् । 
    धुलिखेललाई बालमैत्री, जेष्ठ नागरिक मैत्री तथा पार्क नै पार्कको शहर निर्माण गर्ने लक्ष्य अनुरुप विभिन्न निकायको सहकार्य तथा नगरपालिका आफ्नै पहल र बजेट ब्यवस्थापनमा समेत धुलिखेलमा पार्कहरु निर्माण गरिएको नगर प्रमुख अशोक ब्याञ्जुले बताए । हरेक वडामा पार्क तथा बृक्षारोपण कार्यलाई धुलिखेल नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको नगर प्रमुख ब्याञ्जुले बताए । वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले वडाबासीलाई स्वस्थ राख्न, रोग लागे पछि भन्दा पनि रोग लाग्नै नदिन स्वास्थ्यका विभिन्न कार्यक्रमहरु अन्र्तगत जेष्ठ नागरिकहरुका लागि उपयुक्त तथा युवा र बालबालिकाहरुका लागि समेत उपयोग गर्न सकिने फिटनेसका सामाग्री सहितको पार्क निर्माण गरिएको बताए । ‘पार्कमा जेष्ठ नागरिकहरुको जमघट तथा विश्रामस्थल, साँझको समयमा खाना पछि आराम गर्ने स्थलको रुपमा विकसित भएको छ’–वडा अध्यक्ष तिमल्सिनाले भने–‘युवा र बालबालिका लक्षित फिटनेसका सामाग्रीहरु पनि समावेश गरिएको छ ।’ 
    साँझको समयमा पार्क भरिभराउन हुन थालेको छ । जेष्ठ नागरिकहरुले पार्क निर्माण अत्यावश्यक र महत्वपूर्ण कार्य भएको बताउँदै घाम र पानी पर्दा समेत सहज रुपमा विश्राम लिन सक्ने गरी संरचना निर्माणका लागि सुझाव दिएका छन् । शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख भुमिनन्द ढकाल, डिभिजन वन कार्यालय अधिकृत पवित्रा तिमल्सिना, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी तथा सरोकारवालाहरु पार्क शुभारम्भ कार्यक्रममा सहभागी थिए । उपभोक्ता समितिका अध्यक्ष पशुपति खत्रीका अनुसार पार्क निर्माणका लागि वडा कार्यालय, धुलिखेल नगरपालिका र डिभिजन वन कार्यालय काभ्रेको सहयोग रहेको छ ।