2026 June 25/ 10:06: 17pm

    बनेपा/विश्व रक्तदाता दिवसको अवसरमा उत्प्रेरणा तथा रक्तदाता सम्मान कार्यक्रम आयोजना गरिएको छ । रेडक्रस काभ्रे बनेपा र जनस्वास्थ्य कार्यालय काभ्रेको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले रक्तदान जीवनदान भएकाले यसको प्रचार प्रसार, ब्यवस्थापन तथा संरक्षण र सहजतामा जोड दिएका थिए । जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता रहेको थियो । उपप्रमुख विमला सापकोटा, प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापति देवेन्द्र भैल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले रक्तदान, रक्तदाता तथा रक्तसंचार केन्द्रका बारेमा धारणा राखेका थिए । 
    कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाका सभापति देवेन्द्र भैलले ५० हजार रुपैयाँ ब्यक्तिगत सहयोग गरी निःशुल्क रक्तसंचार कोषको शुरुवातीको घोषणा गरेका छन् । कोषमा २ करोड रुपैयाँ पु¥याउने गरी कार्य प्रारम्भ भएको उनले बताए । यो कोषको संचालनको मुख्य उद्देश्य जिल्लावासीहरु तथा जिल्लाका अस्पतालहरुमा उपचारार्थ विरामीहरुका लागि आवश्यक पर्ने रगत निशुल्क उपलब्ध गराउनु रहेको छ । कोषमा तत्काल पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले ५० हजार, इन्जिनियर निर्मल स्याङतानले ३० हजार, पत्रकार प्रदिप केसीले स्व.पिता लिलाबहादुर केसीका नाममा २५ हजार रुपैयाँ सहयोग गरेका छन् । कार्यक्रममा हालसम्म ५० भन्दा धेरै पटक रक्तदान गर्ने रक्तदाताहरु १६ जना, आवश्यक पर्दा तत्काल रक्तदान गरेर नागरिकको ज्यान बचाउनेहरु, रक्तदान कार्यक्रम आयोजना गर्ने संघ संस्था तथा सहकारीहरुलाई सम्मान गरिएको थियो । वर्षको ४ पटक रत्तदान गर्ने रक्तदाताहरुलाई पनि सम्मान गरिएको थियो । विश्व रक्तदाता दिवसको अवसर पारी बनेपा नगरपालिका परिसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।