धुलिखेल/युनेस्को नेपाल शिक्षा समितिले काभ्रेपलाञ्चोकको धुलिखेलमा शिक्षामा गुणस्तरीय शिक्षाका लागि समावेशिकरण लगायतका विषयमा आयोजना गरिएको दुई दिने गोष्ठी समापन भएको छ ।
गोष्ठीमा जिल्लाका विभिन्न विद्यालयका प्रधानाध्यापक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, पालिका स्तरका शिक्षा शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । गोष्ठीको समापन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई काभ्रेका प्रमुख देवका ढकाल, शिक्षा समितिका सदस्य डा.सिमा सिंह, सदस्य सचिव डा.दिब्या दवाडी, शाखा अधिकृत उषा पोखरेल, सहभागीहरुको तर्फबाट विभिन्न विद्यालयका प्रधानाध्यापकहरु तथा समुहगत प्रस्तुतीमा विभिन्न विषयमा जानकारी गराईएको थियो ।
समावेशी शिक्षाका लागि भौतिक पूर्वाधार, श्रोत साधन, पाठ्यक्रम तथा श्रोत सामाग्री, असमानता, तालिम, श्रोत शिक्षक, प्रविधि तथा संकेतहरु आवश्यक रहेको निश्र्कष निकालिएको छ । जिल्लामा समावेशी विद्यालय ५ वटा छन् । उक्त विद्यालयहरुमा विभिन्न खालका अपाङ्गता भएका बालबालिकाहरु अध्ययन गरिरहेको भए पनि उनिहरुको आवश्यकता अनुसारका शिक्षा प्रदान हुन नसकेको बताईएको छ । सहभागिहरुले सरकारले तीन तहका सरकार मार्फत विद्यालयमा उक्त सुविधाका लागि समन्वय गर्नु पर्ने सुझाव प्रस्तुत गरिएको छ । धुलिखेल नगरपालिकाले भने सबै विद्यालयमा सबै खालका विद्यार्थीहरुलाई भर्ना लिने गरी निती बनाएको छ । आवश्यकता अनुसार उनिहरुलाई अध्ययन गराउने ब्यवस्था मिलाईएको शाखा अधिकृत भोजकुमार ठकुरीले बताए ।
उद्घाटन सत्र युनेस्को नेपाल शिक्षा समितिका सदस्य रुपक राजवंशीको अध्यक्षतामा सम्पन्न भएको थियो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख देवका ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी इकाई प्रमुख ढकालले गुणस्तरीय शिक्षाका लागि समावेशीकरण अत्यावश्यक रहेको बताईन् । त्यसका लागि युनेस्को नेपालका तर्फबाट हुन सक्ने सहजीकरण र विद्यालयहरुको अहिलेको अवस्थाका बारेमा गहन रुपल छलफल सहित कार्ययोजना निर्माण गर्नु पर्ने बताईन् । समितिका सदस्यहरु डा.सिमा सिंह, सदस्य शंकरबहादुर अधिकारी, सदस्य सचिव डा.दिब्या दवाडी, विषय विज्ञ त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.नमराज न्यौपाने लगायतले गोष्ठीमा सहजीकरण गरेका थिए । युनेस्को नेपालमा कार्यरत शाखा अधिकृत उषा पोखरेलका अनुसार दुई दिन संचालन भएको गोष्ठीमा गुणस्तरीयता सम्बन्धी अन्तर्राष्ट्रिय नीति, सुचक, समावेशीताको अभ्यास, नीति, कानून, शिक्षा तथा समस्याका बारेमा छलफल हुनेछ । समुहगत छलफलबाट निस्किएका निचोडहरुलाई युनेस्कोले आगामी दिनमा शिक्षा नीतिमा समावेश गर्ने सदस्य सचिव डा.दिब्या दवाडीले बताईन् ।









