2026 June 25/ 11:21: 36pm

        पनौती/पनौती नगरपालिकामा ७४ जनाले एक सय दिनको रोजगारी पाएका छन् । श्रमको सम्मान राष्ट्रको अभियान सम्बन्धी एक दिने अन्तक्र्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । पनौती नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा भएको कार्यक्रममा उप–प्रमुख गिता बञ्जाराको प्रमुख आतिथ्यता रहेको थियो ।
        प्रमुख अतिथी बञ्जाराले कुनै पनि काम सानो ठूलो नहुने भन्दै श्रमको सम्मानमा जोड दिइन् । दक्षताको आधारमा श्रमको उचित मूल्य निर्धारण हुनुपर्ने उनको भनाई छ । तालिम र अनुभव मार्फत दक्षता हासिल गरेका व्यक्तिलाई रोजगार बनाउन र सीपयुक्त जनशक्ति तयार पार्न नगरपालिकाले काम गरिरहेको उप–प्रमुख बञ्जाराले बताइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, निर्देशक प्रणराज न्यौपाने लगायतले प्रधानमन्त्री रोजगार कार्यक्रमको उदेश्य, यसले पारेको प्रभाव, आगामी योजना लगायतका बारेमा जानकारी गराएका थिए । 
पनौती नगरपालिका रोजगार सेवा केन्द्रकी रोजगार संयोजक बसन्ती सुवेदीले प्रधानमन्त्री रोजगार कार्यक्रमले कामलाई सीपसँग जोडेको बताइन् । विपन्न व्यक्तिलाई न्युनतम १ सय दिनको रोजगारी दिने उदेश्यले सुरु गरिएको कार्यक्रममा हाल ७४ जनाले रोजगारी पाएको उनले जानकारी दिइन् । उनीहरुले श्रम गरेको दिनमा दिनको ६ सय ८४ रुपैयाँका दरले पारिश्रमिक प्राप्त गर्छन । श्रमिकलाई सडक सरसफाई, सिँचाई कुलो निर्माण तथा सरसफाई र गोरेटो बाटो सरसफाईका क्षेत्रमा खटाइएको छ ।
          युवा रोजगारीलाई ध्यान दिँदै प्रधानमन्त्री रोजगार कार्यक्रमले तालिममा जोड दिएको सुवेदीले बताइन् । अहिले नगरपालिकामा ३५ जना युवाले मेसन र प्लम्बिङको तालिम लिइरहेका छन् । दक्ष जनशक्ति तयार पार्नका लागि तालिममा जोड दिएको संयोजक सुवेदीले बताइन् । श्रमिकलाई कामको सम्मान गर्ने धारणा भयो भने रोजगारका लागि पलायन हुने संख्यामा कमी आउने उनको विश्वास छ ।

          अन्तरक्र्रिया कार्यक्रममा सामाजिक सुरक्षा कोषका निर्देशक दिनेश कुमार कोइरालाले सामाजिक सुरक्षा कोषमा श्रमिकको योगदान र लाभ, सहभागी हुनुपर्ने कारणहरु, आवद्ध हुने प्रकृयाका बारेमा जानकारी गराएका थिए । यस्तै वैदेशिक रोजगार बोर्ड सचिवालयका उप–निर्देशक कल्पना रेग्मीले वैदेशिक रोजगार सम्बन्धी कानुनी व्यवस्था र वैदेशिक रोजगारको वर्तमान अवस्था तथा सम्भावनाका बारेमा प्रस्तुतीकरण गरेकी थिइन् ।कार्यक्रममा नगर कार्यपालिका सदस्य, वडा अध्यक्षहरु, प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध श्रमिक, क्याम्पस प्रमुखहरु, विद्यालयका प्रधानाध्यापक, सहकारीका प्रमुख एवं प्रतिनिधि, युवा व्यवसायी लगायतको उपस्थिती रहेको थियो ।