2026 June 25/ 11:34: 28pm

    बनेपा/अविरल वर्षाका कारण बनेपा नगरपालिका भित्र आंशिक तथा पूर्ण क्षति भएका घर परिवारका लागि संघीय सरकारले अस्थायी बसोबासका लागि पहिलो किस्ता बापत २५ हजार रुपैया उपलब्ध गराएको छ । नगर स्तरीय विपद ब्यवस्थापन समितिको बैठकले सिफारिस गरेका विपद् पोर्टलमा भरेका ४१ घर धुरीका लागि रकम निकासा माग गर्ने निर्णय २०८२ बैशाख ३ गते गरेको हो । 
    बनेपा नगरपालिका वडा नम्वर १० का २ घर परिवार, वडा नम्वर ११ का ६ परिवार, वडा नम्वर १२ का २ परिवार, वडा नम्वर १४ का ११ परिवार, वडा नम्वर ३ र ४ का एक÷एक परिवार, वडा नम्वर ५ का १४ परिवार र वडा नम्वर ९ का ४ घर परिवारका लागि रकम प्राप्त भएको छ । पहिलो किस्ता बापतको रकम प्राप्त भए पछि त्यसको खर्चका आधारमा दोश्रो किस्ता बापतको रकम उपलब्ध हुनेछ । ५० हजार दिने निर्णयसँगै उनिहरुले स्थायी बसोबासका लागि आवास निर्माण गर्न थप रकम प्राप्त गर्नेछन् । बाढी पहिरोका कारण बनेपामा पनि नागरिकले ज्यान गुमाएका थिए । तर पनि संघीय सरकारले संकटग्रस्त पालिका घोषणा गरेको थिएन । जिल्लाका १३ मध्ये ११ पालिकाका नागरिकहरुका लागि अस्थायी बसोबासका लागि रकम प्राप्त भए पनि भुम्लु र तेमाल गाउँपालिकाको स्थानीय विपद ब्यवस्थापन समितिले निर्णय नगरेका कारण रकम माग भएको छैन । केहि पालिकाले प्राप्त रकम वितरण गर्न शुरु गरेका छन् । सरकारले स्थानीय तहबाट निर्णय भई पोर्टलमा समावेश भएका घर परिवारहरुका सन्र्दभमा उजुरी परेमा र त्यसको पुष्टी भएमा सम्बन्धित ब्यक्तिहरुलाई कारवाही गर्ने बताएको छ । स्थानीय सरकारले विपद्मा क्षति नभएका घर परिवारलाई आंशिक र पूर्ण क्षति भएको भन्दै सिफारिस गरेको भन्दै केहि पालिकाबाट मौखिक उजुरी पर्न थालेको छ ।