2026 June 26/ 12:33: 19am

पनौती/नेकपा एमाले पनौती नगरपालिका वडा नम्बर ४ कमिटीको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । दोस्रो अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । अध्यक्षमा नकुल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा गंगा श्रेष्ठ, सचिव धिरज काफ्ले, उपसचिवमा राजकुमार घुलु र सम्झना लामा निर्वाचित भएका छन् ।
    वडा कमिटी अधिवेशनको उद्घाटन केन्द्रिय सदस्य रेशम लामाले गरेका थिए । कार्यक्रममा वडा कमिटी अध्यक्ष दिपक दाहालको सभापतित्व रहेको थियो । अधिवेशनलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य लामाले एमाले बाहेक अरु पार्टीले समृद्ध नेपाल निर्माणको नेतृत्व गर्न नसक्ने बताएका छन् । मुलुकको परिवर्तन र जनताको समृद्धिमा एमालेले धेरै गरिसकेको र केहि अझै बाँकी रहेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीसँग कुनै गन्तव्य, नीति, र कार्यक्रम नरहेको समेत उनको जिकीर छ ।
    पछिल्लो समय राजतन्त्रको पक्षमा भइरहेका गतिविधितर्फ संकेत गर्दै लामाले पुरानो भुत उठेर आएर तर्साउलान् की भनेर डराउन जरुरी नरहेको बताए । राजतन्त्रले नेपालको विकास र समृद्धि हुने भएको भए लोकतन्त्र र गणतन्त्रका लागि रगत बगाउनुपर्ने अवस्थानै नआउने स्मरण गरे । ठुलो परिवर्तनपछि प्राप्त उपलब्धीलाई अझै उन्नत बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।
    वागमती प्रदेश कमिटी सदस्य रमेश पौडेलले विकासको नेतृत्व एमालेले गरिरहेको बताए । निराशाको खेती भइरहेको समयमा देश विकास सम्भव छ भनेर एमालेले सम्भावना देखाएको उनले बताए । वागमती प्रदेश कमिटी सदस्य एवं पनौती नगर पालिका उप–प्रमुख गिता बञ्जाराले कठिन अवस्थामा पनि जनताले पार्टीलाई दिएको समथ कहिल्यै भुल्न नहुने बताइन् ।
    अधिवेशन उद्घाटन कार्यक्रममा केन्द्रिय सदस्य नविना लामा, नेकपा एमाले पनौती नगर कमिटी अध्यक्ष सुरेश हुमागाँई लगायत पदाधिकारी र सदस्यहरु, जिल्ला कमिटी सदस्य मिरा पौडेल, गोविन्द उप्रेती, विभिन्न जनवर्गिय संगठनका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

अधिवेशनमा वडा अध्यक्ष समेत रहेका एमाले वडा कमिटी अध्यक्ष दिपक दाहालले जनतासँग जोडिनेगरी वडावासीकै सल्लाह सुझावमा योजना तयार गरिरहेको बताए । सोहि अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । विभिन्न पार्टी परित्याग गरि शुशिल श्रेष्ठ, राजु अधिकारी, पदम परियार एमाले प्रवेश गरेका छन् ।