2026 June 26/ 01:10: 34am

    धुलिखेल/पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय तहहरुसँगको समन्वयात्मक गोष्ठी आयोजना गरेको छ । पशु सेवा कार्यालय काभ्रेपलाञ्चोक र पशु सेवा केन्द्र सिन्धुपाल्चोकले चालु आर्थिक वर्षको ६ महिनामा गरेका गतिविधिहरु, आगामी योजना लगायतमा भएका कार्यप्रगति, समस्या लगायतका विषयमा छलफल गरिएको थियो । 
    पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा.सृजा वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्थिक वर्ष २०८१÷०८२ को अर्ध बार्षिक समीक्षा तथा सप्ताहब्यापी पिपिआर रोग विरुद्धको खोप अभियानको प्रगतिका बारेमा जानकारी गराईएको थियो । साथै पिपिआर रोग विरुद्ध अभियानका क्रममा भएको प्रगतिका बारेमा डा.वाग्लेले जानकारी गराएकी थिईन् । कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाबाट बनेपा नगरपालिकाका तर्फबाट रामसुन्दर सापकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए भने सिन्धुपाल्चोक जिल्लाबाट मेलम्ची नगरपालिकाका उपेन्द्र पण्डितले सिन्धुपाल्चोक जिल्लामा भएका गतिविधिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
    खोरेत रोग नियन्त्रणका लागि जोनिङ्ग तथा कम्पार्टमेन्टलाईजेशनका सम्भावना र अवसरहरुका बारेमा स्टार भेटेरिनरी सेवा तथा परामर्श केन्द्रका डा. धनराज रतला, डा.रेवतीमान श्रेष्ठ र बोधनाथ अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत कार्यपत्रमाथी सहभागिहरुले छलफल गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम डा.निशान्त शर्मा गेलालले संचालन गरेका थिए । पिपिआर खोप अभियान हरेक वर्ष लगाईदै आएको छ । यो चौथो वर्षको कार्यक्रम हो । खोरेत रोग नियन्त्रणका लागि सरकारले अभियान शुरु गरेको छ । छिमेकी देश चीनमा मासु निर्यातका लागि खोरेत उन्मुलन हुनु पर्ने प्रावधान अघि सारिएको छ । सरकारले सन् २०३० भित्र नेपालबाट पिपिआर, खोरेत लगायतका विभिन्न रोगहरु उन्मुलन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ । कार्यालयले ६ महिनाको अवधीमा गरेका आर्थिक, भौतिक तथा अन्य प्रशासनिक कार्यका बारेमा जानकारी गराएको थियो । 
५ लाख ३० हजार पशुमा पिपिआर खोप 
    बागमती प्रदेश सरकारले पिपिआर विरुद्धको सप्ताहब्यापी खोप अभियान सम्पन्न गरेको छ । २०८१ माघ २४ देखि ३० गतेसम्म संचालन भएको अभियान भेडा र बाख्रामा पिपिआर रोग नियन्त्रण तथा रोकथामका लागि महत्वपूर्ण हुने बताईएको छ । काभ्रेपलाञ्चोकमा ३ लाख १५ हजार ५१ र सिन्धुपाल्चोकमा २ लाख ३५ हजार ९ सय ८७ पशु रहेका छन् । दुबै जिल्लामा गरी ९१ प्रतिशत खोप उपलब्ध भएको थियो । काभ्रेमा २ लाख ५९ हजार ९ सय ३७ र सिन्धुपाल्चोकमा २ लाख ४५ हजार ३ सय १४ डोज खोप उपलब्ध गराईएको वाग्लेले बताईन् । अभियानका क्रममा काभ्रेमा १ लाख ९५ हजार ६ सय ३९ वटा पशुलाई खोप लगाईएको छ भने १ लाख २५ हजार ९ सय ५६ वटा पशुमा खोप लगाईएको छ । काभ्रे र सिन्धुपाल्चोकमा गरी ५ लाख २९ हजार ८ सय ६० डोज खोप उपलब्ध गराईएको छ । 
    पशु सेवा कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका सबै स्थानीय तहमा अभियान सफलतापूर्वक सम्पन्न भएको पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा.सिर्जा वाग्लेले जानकारी दिईन् । पिपिआर रोग नियन्त्रण तथा रोकथाम अभियान तथा आवश्यकताका बारेमा जानकारी दिदै डा. सिर्जा वाग्लेले नँया ठाँउमा रोग फैलँदा करिब ८० प्रतिशत सम्म मृत्युदर हुने गरेको बताईन् । खास उपचार नभएको र पिपिआर रोगका कारण धेरै संख्यामा भेडा बाख्राको मृत्यु भई कृषकहरुले वर्षैनी निकै ठूलो आर्थिक क्षति व्यहोर्नु परेको अवस्थाका कारण पिपिआर रोग नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न आवश्यक भएको उनले बताईन् । उक्त रोगको नियन्त्रणको लागि प्रभावकारी पद्धति व्यापक रुपमा सामूहिक खोप लगाउने नै भएकोले पिपिआर खोप अभियान कार्यक्रम संचालन महत्वपूर्ण कदम भएको उनले बताईन् ।