धुलिखेल/धुलिखेल नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा सम्वन्धी तालिम उपलब्ध गराएको छ । कक्षा ७ र ८ मा अध्ययन गर्ने १८ वटा सामुदायिक विद्यालयका ३६ जना छात्राहरुलाई आत्मरक्षा सम्वन्धी तालिम प्रदान गरिएको शिक्षा शाखा अधिकृत भोजकुमार ठकुरीले बताए ।
सामाजिक विकास समितिका संयोजक तथा वडा अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले छात्राहरुलाई सुरक्षित रहन तथा आत्मवल विकास गर्ने तालिम महत्वपूर्ण हुने बताए । अघिल्लो वर्ष नगरपालिकाले प्रदेश सरकारसँगको समन्वयमा २१ दिने तालिम चारवटा विद्यालयका छात्राहरुलाई उपलब्ध गराईएको थियो । शारिरिक, मानसिक तथा सैद्दान्तिक रुपमा समेत सवल र सक्षम बनाउन छात्राहरुका लागि उक्त तालिम महत्वपूर्ण भएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत पूजा काफ्लेले बताईन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहन मरासैनी, शिक्षा शाखाका प्रमुख उप सचिव डिकबहादुर राई, मुख्य प्रशिक्षक सन्जु महर्जन लगायतको सहभागिता रहेको थियो ।
संगिता भण्डारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा प्राविधिक सहयोग एकेडेमी अफ इन्टरनेशनल सेल्फ डिफेन्सले सहयोग गरेको थियो । तालिम विहिबार सम्पन्न हुनेछ ।