2019 April 22/ 12:04: 01am

    धुलिखेल/पतंजलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, एडिएफ भारत, विश्व आयुर्वेद परिषद्, नेपालको आयोजना तथा नेपाल आयुर्वेद विद्यार्थी समाजको सह आयोजनामा पतंजलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर धुलिखेलमा शुक्रबार र शनिबार पहिलो अन्तराष्ट्रिय सम्मेलन एवं कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 
    दुई दिनसम्म सञ्चालित हुने यस कार्यक्रममा विभिन्न विद्वान् र विशेषज्ञहरूका मर्म विज्ञान र अन्य समसामयिक विषयमा कार्यपत्र प्रस्तुत भई छलफल भएको थियो । कार्यक्रम माननीय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवको प्रमुख आतिथ्य र पतंजलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टर, धुलिखेलका प्राचार्य प्रा.डा. रामचन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । आयुर्वेदको उद्गम स्थल मानिएको हिमालय क्षेत्र जो अमृतमय वनौषधिका लागि विश्वप्रसिद्ध छ, यस पावन भूमिबाट मर्म–विज्ञान जस्तो महत्वपूर्ण विषयमा देश तथा विदेशका आयुर्वेद, मर्म–विज्ञ, शुभेच्छुक र असल जीवन शैली अपनाएर राष्ट्रजीवन र विश्वजीवनलाई उदाहरणीय योगदान दिनुहुने विशिष्ट व्यक्तित्वहरूको कार्यक्रममा सहभागिता रहेको थियो । 
    शरीरमा भएका विभिन्न संवेदनशील अंगहरू जसमा हुने आघातले प्राणसम्म लिन सक्छ  त्यस्ता अंगहरूलाई आयुर्वेदले हज्जारौं वर्ष अघिदेखि ‘मर्म’ भन्दै आएको छ । मर्ममा प्रहार हुन पुगेमा तत्कालै मृत्यु हुन्छ भन्ने व्यवहारिक कथन पनि त्यहाँबाट नै शुरु भएको हो । आधुनिक विज्ञानले गणना गरेका शरीरका मुख्य अंगमा पनि यिनै मर्महरू परेका छन् । चिनियाँ परम्परागत चिकित्सा प्रणालीले विकसित गरेको अकुपञ्चर र मोक्सिवुसन पद्धति पनि यिनै मर्म–स्थलहरूसित मिल्दोजुल्दो भएकोे पाइन्छ ।
आयुर्वेद संसारकै सबैभन्दा प्राचीन चिकित्साविधा हो । संसारकै शल्यचिकित्साको जनकको रूपमा आयुर्वेदका प्रवत्र्तक धन्वन्तरीलाई मानिएको छ । मानवसृष्टि र सृष्टिपछिको सभ्यताभन्दा पहिले नै आयुर्वेदको प्रारम्भ भएको थियो । त्यस आदिम समयदेखि नै आयुर्वेदको क्रमिक विकास हालसम्म चलिरहेको छ  । यसैले आयुर्वेदका विज्ञ लगायत अन्य दार्शनिकहरूले पनि यसलाई ‘अनादि’ भने । आयुर्वेदमा १०७ वटा मर्महरूको वयान लोक–कल्याणका लागि गरिएको पाइन्छ ।
    कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले यस्ता कार्यक्रमले समग्र विश्वमा नेपालको पहिचान बढाउन,े आयुर्वेद प्रतिको जनताको आस्था र विश्वास बढ्ने व्यक्त गरे । आयुर्वेदको विकासका लागि स्वास्थ्य मन्त्रालयले प्रत्येक प्रदेशमा केन्द्रिय आयुर्वेद अस्पताल र सबै नगरमा आयुर्वेद केन्द्रको स्थापना गर्ने योजना रहेको छ । कार्यक्रममा देश तथा विदेशका मर्म–विज्ञ, अनुसन्धानकर्ता एवं आयुर्वेद चिकित्सक तथा विद्यार्थीहरु सहभागी भएका थिए । दुइ दिनको कार्यक्रममा विभिन्न विद्वान् र विशेषज्ञहरूका  कार्यपत्र प्रस्तुति रहेको थियो । सँगसँगै मर्मविज्ञान सम्बन्धि तालिम कार्यशाला पनि संचालनमा रहेको थियो । कार्यक्रममा मुख्य वक्ता भारतका प्रा. डा. सुनील कुमार जोशी साथमा उहाँका टोलीले नेपाली आयुर्वेद चिकित्सक एवं विद्यार्थीहरुलाई तालिम दिएका थिए । मर्म चिकित्सा शरीरमा  विभिन्न दुखाइ, स्ट्रोक पुर्नस्थापना, शिरोरोग एवं फ्रोजन सोल्डर लगायत विभिन्न रोगमा उपयोगी रहेको अध्ययन तथा अनुसन्धानले देखाएको छ । विश्वव्यापि रुपमा यसको महत्व बढ्दो रहेको तालिम टोलाीका सदस्य डा. नविन जोशीले बताए ।